काठमाण्डौ । नयाँ शक्ति पार्टीका संयोजक डा.बाबुराम भट्टराईले पूराना पुरानो संरचनाको नेतृत्व गर्ने कांग्रेस, एमाले र माओवादी जस्ता शक्तिबाट आर्थिक समृद्धि र विकास सम्भव नहुने बताएका छन् ।
सोमबार राजधानीको अल्फाबिटा कम्प्लेक्समा केही पत्रकारहरुसँगको आन्तारिक छलफलमा उनले सो कुरा बताएका हुन् । छलफलका क्रममा आफ्नो दललाई चुनाव चिन्ह नदिएको भन्दै संयोजक भट्टराईले गुनासो समेत पोखेका थिए ।
संयोजक भट्टराईले घुमाउरो ढंगले आफ्नो दललाई चुनाव चिन्ह नदिनमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र उनको पार्टीले भित्री रोल खेलेको रहस्यको खुलासा गरेका थिए ।
संयोजक भट्टराईसँगै बसेका अर्का नेता डम्बर खतिवडाले यो कुराको पुष्टि गरेका थिए । खतिवडाले नयाँ शक्तिलाई चुनाव चिन्ह नदिनुमा माओवादीले चुनावमा आफ्नो स्वार्थ पूर्ति गर्नका लागि भएको उनको भनाई थियो ।
उनले भने, ‘चुनाव चिन्ह नभएपछि नयाँ शक्ति समर्थित मतदाताले माओवादीलाई भोट हाल्ने सोचेर नियोजित रुपमै चुनाव चिन्हबाट बञ्चित गर्न खोजिएको हो ।’
छलफल कार्यक्रममा संयोजक भट्टराईले भारतसँग जोडेर राष्ट्रवादको प्रसंग समेत झिकेका थिए । उनले भारतको विरोध गरेर कोही क्षणिक राष्ट्रवादी हुन खोजेपनि नेपालको विकासका लागि भारतलाई विश्वासमा लिनैपर्ने बताए ।