राजनीति

कुलमान घिसिङले सुरु गरे अर्को नयाँ अभियान, अब तपाईको घरको महत्वपूर्ण साधनमा परे उनका आँखा !

काठमाडौं । तपाईले कस्तो प्रकारको पंखा प्रयोग गर्नुभएको छ । धेरै विद्युत् खपत गर्ने पंखा प्रयोग गर्नु भएको छ भने अब विचार गर्नुस, नेपाल विद्युत् प्राधिकरणले धेरै विजुली खपत गर्ने पंखा हटाउनका लागि अभियान नै सञ्चालन गर्ने भएको छ । प्राधिकरणले बढी बिजुली खपत गर्ने पंखा प्रतिस्थापन गर्ने रणनीतिका साथ अभियान सुरु गर्न लागिएको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिएका छन् ।

प्राधिरकणले देशभर रहेका बढी बिजुली खपत गर्ने ५५ लाख पंखा विस्थापन गरी कम ऊर्जा खपत गर्ने पंखा जडानको तयारी गरेको छ । शहरी तथा तराईका विभिन्न स्थानमा करिब १८ लाख २८ हजार १६ ग्राहकसँग औसत ३ वटा पंखा रहेको प्राधिकरणको अनुमान छ । हाल सञ्चालनमा रहेका अधिकांश पंखा ८० वाट क्षमताका छन् । विस्थापनपछि ४० वाटको पंखा जडान गर्ने तयारी प्राधिकरणले गरिरहेको छ । त्यसबाट आधा भन्दा बढी विद्युत् खपत कम हुनेछ ।

गर्मीको समयमा पंखा बढी सञ्चालनमा आउने गरेका छन् । गर्मीका बेला तराईमा बढी पंखा चल्ने गरेको र त्यसले दिउँसोको समयमा समेत बढी विद्युत् खपत गर्ने गरेको छ । पंखा विस्थापन गरेपछि साँझमा बिजुलीको मागमा २०६ मेगावाट कमी आउने प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले जानकारी दिएका छन् ।

पंखाबाट मात्र ६ महिनामा साढे ६७ करोड युनिट बिजुली बचत हुने उनले जानकारी दिए । उनका अनुसार ऊर्जा दक्षता भएको पंखा जडान भएपछि रु ६ अर्ब ५४ करोड ७५ लाख वार्षिक बचत हुने छ । पंखा प्रतिस्थापन गर्न रु ३८ अर्ब ३८ करोड ८३ लाख ३६ हजार लाग्ने अनुमान गरिएको छ । यसबाट २०६ मेगावाटको पिकिङ जलविद्युत् आयोजना बनाउन सक्ने अनुमान गरिएको छ । दक्ष र स्मार्ट पंखा र एयर कण्डिसन तथा ऊर्जा दक्षता भएको मोटर चलाउन व्यापक प्रचारप्रसार गर्ने तयारी प्राधिकरणको छ ।

यसका लागि प्राधिकरणले वितरण प्रणालीमा इलेक्ट्रिक मिटरिङ सिस्टम र स्मार्ट मिटरिङ प्रयोग कार्यक्रम लागु गर्ने भएको छ । यस्तै, एचभी क्यापसिटर बैंक तथा ४ सय भोल्ट लाइनमा एलभी क्यापिसिटर जडान भएपछि भोल्टेज र पावर फ्क्याक्टरमा सुधार आई प्राविधिक चुहावट कम हुनेछ ।