राजनीति

यस्तो छ एमाले काठमाण्डौको विवाद सम्बन्धी भित्री कारण

काठमाडौं । एमाले काठमाडौंमा नेता माधवकुमार नेपाल पक्षले आइतबार समानान्तर भेला गरेको छ । जिल्ला संयोजक कृष्ण राईले प्रदेश संगठन कमिटीको निर्णय र निर्देशन लत्याएर गुटबन्दी चर्काएको आरोप लगाउँदै नेपाल पक्षले जिल्ला कार्यकर्ता भेला गरेको हो ।

नेपा बैँक्वेट नयाँ बजारमा वरिष्ठ नेता नेपाल, झलनाथ खनाल, सचिव योगेश भट्टराईको उपस्थितिमा आयोजित भेलामा नेताहरूले पार्टीको स्थापित विधि र पद्धतिलाई गम्भीर चुनौती दिएकाले चुनावमा पार्टीलाई एकताका साथ बढाउन भेला आयोजना गर्न बाध्य भएको बताए । ‘प्रदेश संगठन कमिटीको निर्णयलाई लत्याएर निर्वाचनमा एकपक्षीय ढंगले उम्मेदवार सिफारिस गर्ने नियतका साथ अघि बढेकाले विधि र पद्धति स्थापित हुने कार्यकर्तालाई आश्वस्त तुल्याउन बाध्य भएर भेला गरिएको हो,’ वैकल्पिक केन्द्रीय सदस्य सुरेन्द्र मानन्धरले भने ।

एमाले काठमाडौंमा यस्तो छ विवाद
२७ पुस ०६७ यता एमाले काठमाडौंको अधिवेशन भएको छैन । विधानतः तीन वर्षभित्र अधिवेशन गर्नुपर्ने भए पनि ०७० मा पुनर्गठित संगठन कमिटीले विधानतः ६ महिनाभित्र अधिवेशन गर्न नसके पनि कृष्ण राई नेतृत्वको कमिटी अझै क्रियाशील छ । सोमबारको नयाँ पत्रिकामा लेखिएको छ, राई नेतृत्वको कमिटीले अधिवेशन नगराउँदा संस्थापन र नेपाल पक्षबीच सो कमिटीले गर्दै आएको कामका विषयमा निरन्तर विवाद चलिरहेकै बीचमा स्थानीय तहको निर्वाचन घोषणा भएपछि केन्द्रीय कमिटी र स्थायी समितिले नै विवाद समाधानको पहल लिँदै आएको थियो ।

राईले निर्देशन उल्लंघन गरेपछि फेरि विवाद
विवाद समाधान गर्दै आन्तरिक एकता कायम गर्न महासचिव ईश्वर पोखरेलको निर्देशनअनुसार ३ नम्बर प्रदेश संगठन कमिटीले गत कात्तिकमा काशीनाथ अधिकारी, अरुण नेपाल र केदार न्यौपाने नेतृत्वको कार्यदल बनाएर समस्या समाधानको प्रयास थालेको थियो । गत १५ गते कार्यदलले बुझाएको प्रतिवेदनका आधारमा एकपक्षीय जिल्ला कमिटीमा नेपाल पक्षका वसन्त मानन्धर सहसंयोजक र पूर्वजिल्ला सदस्य र क्षेत्रीय अध्यक्षहरू रहिसकेका ३८ जना जिल्ला कमिटी थप्ने प्रदेश संगठनले निर्णय गरी राईलाई निर्देशन दिएको थियो । तर, सो निर्देशन कार्यान्वयन नै नगरी राई पक्षले अघिल्लो साता एकपक्षीय भेला गरी चुनावी अभियान सुरु गरेपछि विवाद चर्किएको थियो । सो भेला बहिष्कार गरेको नेपाल पक्षले आइतबार छुट्टै भेला गरेको हो ।

रोकियो समानान्तर कमिटी गठन
माथिल्लो कमिटीको निर्देशन कार्यान्वयनमा नआएपछि समानान्तर जिल्ला कमिटी बनाउने नेपाल पक्षको तयारी अन्तिम घडीमा रोकिएको छ । वरिष्ठ नेता खनाल, नेपाल र भट्टराईले भेलामा सोमबारको स्थायी समिति बैठकमार्फत प्रदेश कमिटीको निर्देशन कार्यान्वयन गराइने आश्वासन दिएपछि कमिटी गठन रोकिएको हो । उनीहरूले निर्वाचनमा भावनात्मक एकताका साथ पार्टीलाई अघि बढाउन स्थायी समितिमार्फत राईलाई छुट्टै निर्देशन दिइने भन्दै कमिटी गठन रोक्न निर्देशन दिएका थिए । नेपालनिकट नेताहरूले पार्टी नेतृत्वले नै गम्भीरतापूर्वक नलिइए देशभर एकपक्षीय उम्मेदवार सिफारिस हुने कडा चेतावनीसमेत दिएका थिए ।

केशव स्थापित चुनावी प्रचारमा
काठमाडौं महानगरपालिकाको मेयरमा एमालेबाट पूर्वमेयर केशव स्थापित, केन्द्रीय सदस्य जीवनराम श्रेष्ठ, काठमाडौं सहसंयोजक वसन्त मानन्धर र सचिव विद्यासुन्दर शाक्य दाबेदार देखिएका छन् । चर्चामा रहेकामध्ये स्थापित र शाक्य संस्थापन तथा श्रेष्ठ र मानन्धर खनाल तथा नेपालनिकट हुन् । त्यस्तै, उपमेयरमा सुजिता शाक्य, विद्या न्यौपाने, प्रभा बज्राचार्य र उषाकिरण भण्डारीको नाम चर्चामा आएको छ ।

स्रोतका अनुसार उपाध्यक्ष गौतमको साथ पाएका स्थापितले आफू मेयर र मदन भण्डारीकी पुत्री भण्डारी उपमेयर उठ्दा उपयुक्त हुने भन्दै चुनावी प्रचार नै सुरु गरेका छन् । बागबजारस्थित निवासमा महानगरको चुनावी प्रचार कार्यालय नै खोलेर स्थापितले भोट माग्न घरदैलो अभियान सुरु गरेका हुन् । चुनावी प्रचारका लागि फेसबुकमा फ्यान पेजसमेत खोलेर एजेन्डासहित उत्रिएका स्थापितले पार्टीमा छलफलै नभई प्रचार थालेपछि एमाले काठमाडौंमा राईको नेतृत्वमाथि संस्थापन र नेपाल पक्ष दुवैले प्रश्न उठाउन थालेको स्रोतको दाबी छ ।