खेलकुद

सुमन र विसन सम्मानित

काठमाडौं । युरो किड्स, भैसेपाटीले कराते खेलाडी सुमन तिमल्सिना र प्रशिक्षक विसनसिंह खड्कालाई शनिबार सम्मान गरेको छ । युरो किड्सको वार्षिक दिवसको उपलक्ष्यमा आयोजित कार्यक्रममा सुमनलाई मलेसियाको क्वालालम्पुरमा गत साउन २७ देखि ३० गतेसम्म भएको प्रथम एसियाली प्यासिफिक गोजुरियो कराते च्याम्पियनसिपमा कांस्य जित्दै राष्ट्रको प्रतिष्ठा अभिबृद्धि गरेकोमा सम्मान गरिएको हो ।

त्यस्तै, जापान गोजुरियो कराते डो केन्वाकाइ नेपाल संघ तथा दक्षिण एसियाली जापान गोजुरियो कराते डो केन्वाकाइ महासंघका प्रमुख प्रशिक्षक खड्कालाई कराते खेलको विकास र विस्तारमा महत्वपूर्ण योगदान पुयाएवापत सम्मान गरिएको थियो ।

ललितपुरका स्थानिय विकास अधिकारी हेमराज भुषाल, युरो किड्सका प्रिन्सिपल राजन कार्की र युरो किड्सका अध्यक्ष प्रमोद पाण्डेले उनीहरुलाई सम्मान पत्र प्रदान गरी सम्मान गरे ।

सम्मानितद्वयले आफ्नो क्षेत्रको विकास र विस्तारमा अझ कृयाशिल भएर अगाडि बढ्न प्रेरणा मिलेको धारणा व्यक्त गरे ।