राजनीति

यी हुन् काठमाण्डौबासीले महानगरपालिका प्रमुखमा पत्याउने ९ व्यक्ति, जसलाई आधुनिक काठमाण्डौको निर्माता बनाउन चाहान्छन् !

काठमाण्डौ । आगामी वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनको माहोल ह्वात्तै बढेको छ । देशभर कुन पार्टीको कति कति प्रभाव रहेको छ भन्ने विषयमा विभिन्न आंकलनहरु भैरहेका छन् । गाउँपालिकादेखि नगरपालिका र महानगरपालिकाहरुमा आ–आफ्नै खालका दाबीहरु देखिन थालेका छन् । सोही बीचमा मुलुकलाई नै प्रभाव पार्ने काठमाण्डौ महानगरपालिकाका विषयमा कुन पार्टीबाट क–कसले उम्मेद्धारी देलान् भन्ने बहस चलिरहेको छ । तर हामीले यो पटक अलि फरक किसिमको रिपोर्टलाई यहाँ प्रस्तुत गरेका छौ । काठमाण्डौ महानगरपालिकामा को र कस्तो व्यक्तित्वले जितिदिए यहाँको विकासमा कायापलट हुनसक्थ्यो र नेपालीहरुले सोचेजस्तो काम हुनसक्थ्यो भन्ने आंकलनसहित हामीले रिपोर्ट प्रस्तुत गरेका छौ । जसमा काठमाण्डौलाई हाक्न सक्ने र केही दिन सक्ने केही व्यक्तिहरुको नाम हामीले समावेश गरेका छौ ।

जुन व्यक्तित्व काठमाण्डौ महानगरपालिकाको मेयरमा उठिदिए हुन्थ्यो भन्ने माग काठमाण्डौ महानगरवासीको समेत रहेको छ । यी हुन् राजधानीबासीको नजरमा परेका करिब आधा दर्जन व्यक्ति, जो काठमाण्डौ महानगरपालिकाको प्रमुख भए केही गर्न सक्छन् भन्नेमा महानगरवासी ढुक्क छन् तर उनीहरुको परिकल्पनाभन्दा बाहिर दलीय राजनीति हावी हुँदा को महानगर प्रमुख भएर आउँछ निश्चित भने छैन । तर महानगरवासीले रुचाएका व्यक्तिहरु राजनीतिक र गैरराजनीतिक दुवै खालका देखिएका छन् । उनीहरुले विशेषगरी राजनीतिक दृष्टिकोणबाट भन्दा पनि विकासप्रेमी र क्षमताको आधारमा उनीहरुलाई पत्याएको देखिन्छ ।
यी हुन् काठमाण्डौवासीले रुचाएका केही व्यक्ति क्रमशः

–कुलमान घिसिङ–
कुलमान घिसिङ पछिल्लो समयमा काठमाण्डौमा मात्र होइन, देशैभर उज्यालो अभियानका नेतृत्वकर्ता भनेर चिनिएका छन् । उनले कसैले तत्काल परिकल्पना नगरेको लोडसेडिङ हटाएर सबैलाई चकित पारिदिएका छन् । जसका कारण उनी काठमाण्डौ महानगरवासीको मन र मुटुमा समेत बस्न सफल भएका छन् । काठमाण्डौ उपत्यका लगायतका मुलुकका केही भागलाई दिर्घकालीन रुपमा लोडसेडिङ मुक्त पारेपछि उनीजस्तै क्षमता भएका र विकास गर्न सक्ने व्यक्तित्व महानगर प्रमुख भएर आइदिए हुन्थ्यो भन्ने परिकल्पनामा काठमाण्डौवासी रहेका छन् ।

–गगन थापा
गगन थापा नेपाली कांग्रेसका जुझारु युवा नेता हुन् । जसले सानै उमेरमा आफुलाई नेपाली राजनीतिको केन्द्रविन्दुमा आफुलाई स्थापित गर्न सफल भए । हाल स्वास्थ्यमन्त्री समेत रहेका उनले स्वास्थ्य क्षेत्रमा निकै राम्रा कामहरु गरेका छन् । राजनीतिक र सामाजिक जीवनमा समेत स्थापित मन्त्री थापा काठमाण्डौका स्थायी बासिन्दा समेत हुन् । उनले गरेका काम र उनको दुरदर्शिता र बौद्धिकतादेखि काठमाण्डौ महानगरवासीहरु नतमस्तक हुने गरेका छन् । त्यसकारण पनि महानगरवासीले गगन थापाजस्तै व्यक्तित्व महानगरप्रमुख भएर आइदिए यहाँको विकास तिव्र गतिमा हुन सक्ने आशा गरेका छन् ।

–योगेश भट्टराई
नेकपा एमालेका युवा नेता योगेश भट्टराई बौद्धिक र इमान्दार नेताका रुपमा स्थापित छन् । जुझारु र इमान्दार युवा नेता भएकोले पनि उनको राजनीतिक छबिमा कुनै दाग लागेको छैन । पूर्वमा जन्मिए पनि काठमाण्डौलाई राजनीतिक कर्म थलो बनाएका उनलाई काठमाण्डौभित्र राम्रो नेताका रुपमा मानिन्छ । त्यसैले आगामी स्थानीय चुनावमा महानगर प्रमुखमा महानगरवासीले उनको नाम लिन थालेका छन् ।

–डा.बाबुराम भट्टराई
माआवादी पृष्ठभूमिबाट आफुलाई केन्द्रीय राजनीतिक व्यक्तित्वमा स्थापित गर्न सफल डा.बाबुराम भट्टराई यसबेला नयाँ शक्ति पार्टी निर्माण गरेर त्यसको संयोजक रहँदै आएका छन् । बाबुरामको राजनीतिक यात्रामा उत्तारचढाव आएर केही तलमाथि भएजस्तो देखिएपनि उनी काठमाण्डौवासी मात्र होइन, राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमै बौद्धिक व्यक्तित्वको रुपमा चिनिएका व्यक्तित्व हुन् । उनको नेतृत्वमा केही वर्षअघि निर्माण भएको सरकारले काठमाण्डौमा एउटा निकै र महत्वपूर्ण काम गरेको थियो । राजधानीका सडकलाई फराकिलो बनाउने काममा तत्कालीन प्रधानमन्त्रीको रुपमा रहेका डा.भट्टराईले कुशलतापूर्वक सम्पन्न गरेका थिए ।

त्यसैले पनि काठमाण्डौ विकासमा यस्तै व्यक्ति चाहिन्छ भन्ने बहस उठान हुने गरेको छ । यद्यपि, भट्टराईको सो कदमले काठमाण्डौका केही स्थानीय जनता रिसाउन पनि पुगे । विनायोजना घर भत्काएको भन्दै उनको कदमको सर्वत्र विरोध पनि भयो । तर पछि बाबुरामको कामले प्रशंसा पायो । यद्यपि, काठमाण्डौमा अहिले पनि भित्री सडकको अवस्था भने उस्तै देखिन्छ । तर बाबुरामको एउटा पहललाई सबैले प्रशंसा गरेका थिए । बाबुराम एकपटक प्रधानमन्त्रीको तहमा पुगिसकेका व्यक्ति महानगर प्रमुख होलान्, नहोलान् उनको कुरा हो, तर महानगरवासीले भने बाबुरामजस्तो व्यक्ति भए, यहाँको विकासका लागि नयाँ भिजन दिन सक्ने भन्दै उनको समेत माग र प्रशंसा गरेको देखिन्छ ।

त्यस्तै, यसबेला नेपाली कांग्रेसका नविन्द्रराज जोशी, एमालेका कृष्णगोपाल श्रेष्ठ, केशव स्थापित, सानु श्रेष्ठ, माओवादीका सर्वोत्तम डंगोल लगायतलाई पनि महानगरवासीले महानगर प्रमुखको विषयमा एउटा पृथक कोणबाट बहस गरिरहेको अवस्था छ ।