राजनीति

काँग्रेस बैठकले शुक्रबार बिहानभर लगाएर गरेका चार निर्णयहरु यस्ता छन्

काठमाण्डौ । शुक्रबार नेपाली कांग्रेस संसदीय दल र नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति तथा बुद्धिजीवीहरु सहितको संयुक्त बैठक व्यवस्थापिका–संसद भवनमा बिहान आठ बजेदेखि बसेको बैठकले ४ महत्वपूर्ण निर्णयहरु गरेको छ ।

बैठकमा पार्टी सभापति शेरबहादुर देउवा, बरिष्ठ नेता रामचन्द्र पौडेल, कोशाध्यक्ष सीतादेवी यादव, नेता कृष्ण प्रसाद सिटौला, केन्द्रीय सदस्य महेश आचार्य लगायत २३ जना माननीय सदस्यज्यूहरुले स्थानीय तह निर्वाचन घोषणा पत्र तथा संविधान संशोधन सम्बन्धि विषयमा आ–आफ्नो धारणा व्यापक छलफल गरी ४ वटा महत्वपूर्ण निर्णय भएको कााग्रेसले बताएको छ ।

निर्णयहरु के के छन् त ?
१ .माननीय सांसदज्यू, केन्द्रीय सदस्यज्यू तथा बुद्धिजीवीहरुबाट प्राप्त भएका राय, सल्लाह एवं सुझावहरुलाई लिपीबद्ध गरी प्रस्तुत भएका विषयहरुलाई नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिद्वारा गठन गरिएको स्थानीय तहको निर्वाचन घोषणा पत्र तयारी समिति समक्ष पठाउने निर्णय गरियो ।

२. तराई–मधेशका जनताको हित एवं मागलाई सम्बोधन गर्ने गरी अधिकतम सहमतिका आधारमा संविधान संशोधन विधेयक अघि बढाउने निर्णय गरियो ।

३. नेपालको लोकतान्त्रिक आन्दोलनका एक योद्धा तथा बि.सं.२०५६ सालको आम–निर्वाचनमा नेपाली काँग्रेसको तर्फबाट रामेछाप क्षेत्र नं.२ बाट निर्वाचित सांसद एवं पूर्व कृषि सहायक मन्त्री रामहरि ढुंगेलको निधन प्रति नेपाली कांग्रेस संसदीय दल गहिरो दुःख व्यक्त गर्दछ । यो बैठक स्व. ढुंगेलप्रति हार्दिक श्रद्धाञ्जली अपर्ण गर्दछ । साथै दिवंगत आत्माको चिर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवार तथा आफन्तजनप्रति हार्दिक समवेदना प्रकट गर्दछ ।

४. नेपाली कांग्रेस संसदीय दल कार्यसमिति सदस्य एवं माननीय राज्यमन्त्री कञ्चनचन्द्र वादे ज्यूको पुजनीय माता श्रीमती चिनिमाया वाँदे ज्यूको ९१ वर्षको अमेरमा यही चैत्र १६ गते भएको स्वर्गारोहणको खबरबाट नेपाली कांग्रेस संसदीय दल स्तब्ध हुन पुगेको छ । यो बैठक स्व। श्रीमती वादेको निधनप्रति गहिरो दुःख ब्यक्त गर्दछ । शोकको यस घडीमा मृत आत्माको चीरशान्तिको कामना गर्दै माननीय सदस्यज्यू लगायत सम्पूर्ण शोकाकूल वादे परिवारप्रति नेपाली कांग्रेस संसदीय दल हार्दिक समवेदना प्रकट गर्दछ ।