समाचार

हात्तीपाइलेको औषधि खाने असी प्रतिशत

झापा । झापा जिल्लामा यस वर्ष ८० प्रतिशत मानिसले हात्तीपाइलेविरुद्धको औषधि सेवन गरेका छन्। सात लाख ३३ हजार नागरिकलाई हात्तीपाइलेविरुद्ध औषधि खुवाइने लक्ष्य राखिए पनि करिब पाँच लाख ८४ हजार चारसयजनाले औषधि सेवन गरेको जिल्ला जनस्वास्थ्य कार्यालय झापाले जनाएको छ।

गत वर्ष अभियानका क्रममा ७३ प्रतिशत मानिसले औषधि सेवन गरेकामा यस वर्ष सात प्रतिशत वृद्धि भएको कार्यालयका कार्यक्रम अधिकृत जीवन चौलागाईंले जानकारी दिए। “तुलनात्मकरुपमा भन्ने हो भने यस वर्ष अभियान सफल भएको मान्नुपर्छ”, उनले भने।

झापामा गत चैत १७, १८ र १९ गते सञ्चालन भएको अभियानमा चारहजार बुथबाट हात्तीपाइलेविरुद्ध औषधि वितरण गरिएको थियो जसका लागि तीनहजार सातसय ८६ जना स्वयम्सेवक र चारसय स्वास्थ्यकर्मी परिचालन गरिएको थियो। रासस