पु.समाचार

देउवाले दिए आक्रमक बन्न निर्देशन

काठमाडौ । कांग्रेसले स्थानीय तहको निर्वाचनमा पहिलो पार्टी हुन आक्रामक प्रचार रणनीति तय गर्ने भएको छ । पार्टी सभापति शेरबहादुर देउवाले केन्द्रीय सदस्य, पूर्वमन्त्री, पूर्वजिल्ला सभापति, पूर्वसांसद र पार्टीका शुभेच्छुक संस्थाका केन्द्रीय पदाधिकारीलाई ‘चुनाव जसरी पनि’ जित्ने गरी रणनीति बनाउन निर्देशन दिएका छन् ।
बुधवार पार्टी कार्यालयमा आयोजित कार्यक्रममा उनले संविधान कार्यान्वयन गरेर मुलुकलाई समृद्ध बनाउन पनि कांग्रेसले जित्नैपर्ने बताएका थिए । ‘राष्ट्र बचाउन र लोकतन्त्रको सुदृढीकरणका लागि पनि स्थानीय चुनावमा कांग्रेसले जित्नैपर्छ’, देउवाले भने, ‘अरू दलको लोकतन्त्रप्रति नै भर छैन ।’

बिहीबारको अन्नपूर्णमा लेखिएको छ, कांग्रेसले यसअघि हुने गरेको अन्तर्घात र वागी उम्मेदवारीलाई यसपटक शून्यमा झार्ने रणनीति बनाएको छ । सभापति देउवाले स्थानीय तहबाटै उम्मेदवार चयन हुने अधिकार दिएर त्यो रणनीति अख्तियार गरेका हुन् । ‘यसपटक विगतमा जस्तो कांग्रेसमा वागी उम्मेदवार पर्दैनन्’, केन्द्रीय निर्वाचन परिचालन समितिका सदस्य गोविन्द भट्टराईले भने, ‘यसपटक त्यो वातावरण नै बन्न नदिन स्थानीय पार्टी समितिलाई उम्मेदवार छान्ने अधिकार दिइएको छ । यति हुँदाहुँदै पनि घात–अन्तर्घात भए तत्काल कारबाही गर्ने रणनीति पार्टीले बनाएको छ ।’

चुनाव नजिकिएसँगै कांग्रेस केन्द्रीय कार्यालयमा कार्यकर्ताको लर्को लाग्न थालेको छ । नेता रामचन्द्र पौडेल संयोजकत्वको केन्द्रीय निर्वाचन परिचालन समिति र केन्द्रीय सदस्य महेश आचार्य संयोजक रहेको घोषणापत्र तयारी समितिले चुनावी रणनीतिका विषयमा विभिन्न पेशा, व्यवसाय र निकायका प्रतिनिधिसँग छलफल तीव्र बनाएका छन् ।

कांग्रेसले आफ्ना मतदातालाई बुथसम्म पुर्या्उन पनि विशेष अभियान थाल्ने भएको छ । यसअघि कांग्रेस समर्थकहरू कतिपय मतदानमै सहभागी नभएको गुनासो आउने गरेको थियो । सभापति देउवाले मतदानमा सबैलाई सहभागी गराउने गरी प्रचारप्रसार संयन्त्र वडा तहसम्म गठन गर्न निर्देशन दिएका छन् ।