राजनीति

सकियो प्रचण्ड नेतृत्वको सरकारको आयू, अब के होला ? कांग्रेसले दियो यस्तो संकेत

काठमाण्डौ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारको आयु सकिन करिब एक हप्ता बाँकी रहेको छ । करिब आठ महिनाअघि दाहाल नेतृत्वको सरकार निर्माण भएसँगै सत्ता साझेदार दल नेपाली कांग्रेससँग भएको आन्तारिक लिखित सहमतिअनुसार चैत ३१ गतेसम्म मात्र यो सरकारको आयू रहेको कांग्रेसकै केही नेताहरुले बताउँदै आएका छन् ।

दाहाल नेतृत्वको सरकारको आयू सकिएसँगै अब नेपाली राजनीतिक रंगमञ्चमा नयाँ बहस सृजना हुनसक्ने संकेत देखापरेको छ । यद्यपि, आन्तारिक समझदारी गरेको सत्तारुढ दल नेपाली कांग्रेसले भने वैशाख ३१ गते सरकारले स्थानीय निकायको निर्वाचन तोकेकोले त्यो समयअवधिसम्म सरकार परिवर्तनको विषयमा कुरा नउठाउने संकेत दिइसकेको छ ।

निर्वाचन सकिएलगत्तै कांग्रेसले सरकारको नेतृत्व लिने कांग्रेसकै केही नेताहरु बताउँदै आएका छन् । सत्ता गठबन्धन दलहरुबीचमै भएको आन्तारिक समझ्दारीको समयसिमा सकिएलगत्तै प्रधानमन्त्री दाहाललाई नै अब अप्रत्यक्ष रुपमा आन्तारिक र बाह्य दबाब पर्न सक्ने जानकारहरु बताउँछन् । यद्यपि, प्रधानमन्त्री दाहालले भने स्थानीय निकायको निर्वाचन सम्पन्न भएलगत्तै सरकारको नेतृत्व कांग्रेसलाई बुझाउने बताउँदै आएका छन् ।