राजनीति

काँग्रेस यसरी हुंदैछ स्थानीय तहमा नै प्रचारमुखी, केन्द्रीय समितिले बनायो गगन र रमेशको समिति

काठमाण्डौ । नेपाली कांग्रेसले आसन्न स्थानीय तहको निर्वाचनका लागि प्रचार–प्रसारलाई चुस्त बनाउने भएको छ । सो पार्टीको केन्द्रीय निर्वाचन परिचालन समिति अन्तर्गतको प्रचार–प्रसार समन्वय उपसमितिको बैठकले सो निर्णय गरेको हो । यो निर्णयसँगै कांग्रेसका अब स्थानीय तहको निर्वाचनमा मुलुकका सबै जिल्ला र स्थानीय तहमा प्रचार–प्रसार समितिहरु निर्माण हुने भएका छन् । बैठकले पहिलो चरणमा जिल्ला स्तरीय समितिहरु निर्माण गर्ने र त्यसपछि स्थानीग स्तरमा समिति निर्माणको कामलाई अघि बढाउने निर्णय गरेको कांग्रेस केन्द्रीय कार्यालय निकट श्रोतले जनाएको छ । जसमा पार्टीका जिल्ला सभापतिको संयोजन हुने जनाइएको छ ।

समितिका केन्द्रीयस्तरदेखि स्थानीय तहसम्म सबै तहमा नेपाल प्रेस युनियनको अनिवार्य उपस्थिति रहने समेत जनाइएको छ । स्थानीय निकायको निर्वाचनको प्रचार प्रसार समन्वय उपसमितिमा संयोजक पार्टी केन्द्रीय सदस्य रमेश लेखक र सहसंयोजकमा पार्टीकै अर्का केन्द्रीय सदस्य गगन थापा रहेका छन् ।
मंगलबार बसेको सो समितिको बैठकले अगामी एक दुई दिनभित्रै समितिलाई पूर्णता दिने तयारी गरेको जनाइएको छ । बैठकमा बैठकमा लोकतन्त्रवादी वरिष्ठ पत्रकारहरु, नेपाल प्रेस युनियनका वर्तमान एवम् पूर्वपदाधिकारी, विभिन्न सञ्चारमाध्यम र सञ्चारसम्बन्धी संस्थाका प्रतिनिधिले सञ्चारमाध्यमलाई सहज र द्रुत गतिमा सूचना उपलब्ध गराउने बारेमा सुझाव दिएका थिए।

त्यस्तै बैठकले पार्टी केन्द्रीय कार्यालयमा मिडिया सेन्टर स्थापना गर्ने निर्णय समेत गरेको छ । निर्वाचनको तयारीका लागि पार्टीका गतिविधि, सूचना र जानकारी सञ्चारमाध्यमलाई सहज र द्रुतरुपमा उपलब्ध गराउन सुविधा सम्पन्न केन्द्रीय मिडिया सेन्टर स्थापना गर्ने निर्णय गरेको हो । मिडिया सेन्टरमा दिनहुँ जिल्लास्तरदेखि केन्द्रसम्मका श्रव्यदृश्य र प्रेस विज्ञप्ति अत्याधुनिक प्रविधिबाट द्रुत गतिमा सञ्चारमाध्यमलाई उपलब्ध गराइने जनाइएको छ ।

पार्टीले पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडलको अध्यक्षतामा केन्द्रीय निर्वाचन परिचालन समिति गठन गरेको छ। काँग्रेसले निर्वाचनमा पार्टीको प्रचार प्रसारका लागि पार्टीका शीर्ष नेताको सहभागितामा आगामी साताभर सातै प्रदेशमा आमसभा गर्दैछ।  त्यस्तै, बुधबार कांग्रेस केन्द्रीय कार्यालयमा सो पार्टी निकट बुद्धिजिवीहरुको बैठक बस्दै गरेको जनाइएको छ । बुद्धिजिवीहरुको सो बैठकले आगामी स्थानीय निकायको निर्वाचनमा कसरी प्रभावकारी भूमिका खेल्न विषयमा छलफल हुने जनाइएको छ ।