खेलकुद

२०७४ सालदेखि खेलकुदमा नयाँ युग प्रारम्भ हुँदैछः विष्ट

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव केशवकुमार विष्टले २०७४ सालदेखि खेलकुदमा नयाँ युगको प्रराम्भ गर्ने बताएका छन् । राखेपअन्तर्गत नेपाल खेलकुद विज्ञान प्रतिष्ठान (सान) ले आयोजना गरेको कोचेस सर्टिफिकेसन प्रोग्रामको प्रारम्भिक चरणको कक्षा समापन कार्यक्रमलाई सम्बोधन गर्दै सदस्य–सचिव विष्टले सो कुरा बताएका हुन् ।

कार्यक्रममा बोल्दै उनले भने, ‘२०७४ सालदेखि खेलकुदमा नयाँ युगको प्रारम्भ गर्दैछौं । हामीले प्रस्ताव गरे अनुसारको बजेट पास भयो भने खेलकुदमा आउँदो वर्षदेखि चमात्कार हुन्छ । यदि सरकारले हामीले प्रस्ताव गरे जति बजेट दियो भने तपाईंहरुले कल्पना नगरेको परिवर्तन खेलकुदमा आउछ । विगतको जस्तै बजेट आयो भने हामीले चाहे जस्तो परिवर्तन गर्न सम्भव छैन । सरकारले खेलकुदबाट पदक आशा गर्ने हो भने खेलकुदलाई आवश्यक बजेट उपलब्ध गराउनु पर्छ । मलाई विश्वास छ सरकारले खेल क्षेत्रलाई निराश पार्ने छैन ।’

सदस्य–सचिव विष्टले दक्ष जनशक्ति तयार गर्ने उद्देश्यले कोर्स सञ्चालन गरिएको बताउदै सहभागी इमानदारीपूर्वक आफूले सिकेको ज्ञानलाई व्यहारमा उतार्न आग्रह गरे । गत माघ २० गतेदेखि सुरु भएको कोर्समा विभिन्न ९ खेलका १ सय ६३ जना सहभागी छन् । मंगलबार कोर्सको सैद्धान्तिक कक्षा सम्पन्न भएको हो । अब सहभागीहरुले बैशाख मसन्तसम्म १ महिनाको ‘इन्टर्न’ गर्नु पर्नेछ ।