आर्थिक

राष्ट्र बैंकले दियो अन्य बैंक तथा वित्तीय संस्थाहरुलाई कडा निर्देशन

काठमाडौं । बैंक तथा वित्तीय संस्थाले ग्राहकलाई हरेक कारोबारको सूचना (सतर्कता सन्देश) दिनुपर्ने भएको छ । राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागले करिब दुई महिनाअघि दिएको उक्त निर्देशन आउँदो वैशाख १६ गतेदेखि पूर्ण रूपमा कार्यान्वयनमा आइसक्नुपर्ने छ ।  त्यसपछि प्रत्येक ग्राहकको प्रत्येक कारोबारको सूचना अनिवार्य रूपमा एसएमएसमार्फत दिनुपर्ने छ ।

बुधबारको कान्तिपुरमा लेखिएको छ, पछिल्लो समयमा एटीएममार्फत चोरी बढेपछि ग्राहकलाई सचेत बनाउन यसो गर्न लागिएको हो । ‘प्रत्येक कारोबारपछि अनिवार्य रूपमा सम्बद्ध ग्राहकलाई तत्काल एसएमएस अलर्ट दिनुपर्ने छ’ राष्ट्र बैंकको निर्देशनमा भनिएको छ ।

यस्तो एसएमएस सुविधाबापत थप शुल्क लिन नपाइने पनि राष्ट्र बैंकले जनाएको छ । ‘यो ग्राहकले खाता खोलेबापत बैंकले दिने सुविधा हो । त्यसैले एसएमएसमार्फत थप शुल्क उठाउन पाइँदैन,’ राष्ट्र बैंकका एक उच्च अधिकारीले भने ।

निर्देशनमा शुल्कबारे केही उल्लेख नभए पनि बैंकले निस्शुल्क एसएमएस सुविधा दिनैपर्ने उनले बताए । हाल बैंक तथा वित्तीय संस्थाले अतिरिक्त सेवाअन्तर्गत थप शुल्क लिएर एसएमएस, इमेललगायतमा सतर्कता–सन्देश दिँदै आएका छन् । त्यस्तो शुल्क बैंकअनुसार फरक–फरक छ ।