पु.समाचार

नेपालमै यसरी पशुलेझै पानी पिउन वाध्य पारियो यो समुदायलाई !

सिरहा । सिरहाको मिर्चैया नगरपालिका हो, तर वडा नं. ७ मुराबारीका मुसहर पशुले झैँ भाँडोमा घोप्टिएर पानी पिउँछन् । बतहा खोला किनारको खाल्डोमा जमेको पानी २७ परिवार मुसहरको जीवनको स्रोत हो । जहाँ गाउँका धनीमानीले दिसा गर्छन्, भैंसीलाई नुहाइदिन्छन्, तर गरिब मुसहर त्यही पानी पिउँछन् ।

बुधबारको नयाँ पत्रिकामा लेखिएको छ, खाल्डोमा जमेको पानी भाँडोमा भरेर घर ल्याउँदा पनि लेदो उस्तै हुन्छ । पानी पिउनेजस्तो बनाउन उनीहरूले थिग्र्याउँछन् । तर, गिलास अथवा कचौरा हल्लियो भने लेदो जस्ताको तस्तै हुन्छ । त्यसैले कचौरा भुइँमै राखेर घोप्टिएर पानी पिउन बाध्य छन् उनीहरू ।

नयाँ पत्रिका संवाददाता मुसहरबस्ती पुग्दा १२ वर्षीया बबिता सदा खाल्डोबाट पानी उघाउँदै थिइन् । केहीबेरपछि उनकै घरछेउबाट हिँड्दा उनी घोप्टी परेर पानी पिउँदै थिइन् । बबिता मात्र होइन, गाउँका सबैका लागि यो बाध्यता हो ।

पानीको स्रोतमा भैंसी आहाल बस्न नदिन र दिसा-पिसाब नगर्न आग्रह गर्दा गाउँका धनीमानीले उल्टै गाली गर्ने गरेको मुसहरहरू बताउँछन् । सरकारले जसलाई उपेक्षा गर्छ, गाउँका ठालुले अवहेलना गर्छन्, अशिक्षित-उत्पीडित उनीहरूको विषयमा अब बोलिदिने कसले ?