राजनीति

यसरी जितेका थिए पिएल सिंह र केशव स्थापितले काठमाण्डौ महानगरको चुनाव, अहिले त्यस्तै तयारी नथाले जित्न मुस्किल पर्छ !

काठमाण्डौ । यसबेला मुलुकभर स्थानीय निकायको निर्वाचनको माहोल तातिरहेको छ । सरकारले आगामी वैशाख ३१ गते स्थानीय निकायको चुनावको घोषणा गरेसँगै मुलुकमा राजनीतिक सरगर्मी तातेको हो । राजनीतिक दलहरु आ–आफ्नो गृहकार्यमा व्यस्त छन् । नेपाली कांग्रेस, एमाले र माओवादी केन्द्रले मुलुकभरका स्थानीय निकायका उम्मेद्धारहरुका लागि आ–आफ्ना आचारसंहिताहरु घोषणा गरिसकेका छन् । उनीहरुले उम्मेद्धार छनौटका मापदण्डदेखि चुनावी रणनीतिहरु समेत करिब–करिब अन्तिम तयारी गरिसकेको अवस्था छ । कुन गाउँपालिका र नगरपालिकामा को–को उम्मेद्धारहरु उठाउने र उठ्ने भन्ने बहस समेत सुरु भैसकेको छ ।

विशेषगरी मुलुकका ठूला स्थानीय संरचनाका रुपमा परिचित महानगरपालिकामा कुन उम्मेद्धारले उम्मेद्धारी दिने तयारी गर्दैछन् र सम्भावित उम्मेद्धारहरु को–को हुन् भन्ने विषयमा समेत बहस सुरु भैसकेको छ । काठमाण्डौ महानगरपालिका, ललितपुर महानगरपालिका, पोखरा महानगरपालिका, विराटनगर लगायतका ठूला स्थानीय संरचनाहरुमा सम्भावित उम्मेद्धारहरु तय भैसकेका छन् । यसैबीचमा हामीले मुलुकलाईनै प्रभाव पार्न सक्ने काठमाण्डौ महानगरपालिका र यसका सम्भावित उम्मेद्धार र यहाँको राजनीतिक इतिहासको पृष्ठभूमिलाई थोरै उतार्ने कोसिस गरेका छौ ।

काठमाण्डौ महानगरपालिकामा अघिल्ला दुई स्थानीय निर्वाचन

मुलुकको राजधानीको रुपमा समेत रहेको काठमाण्डौ महानगरपालिकाको राजनीतिक नेतृत्वमा आउन जो कोही पनि इच्छुक हुनु स्वाभाविक हो । काठमाण्डौ महानगरको प्रभाव राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमै भएकोले पनि यसको नेतृत्व सम्हाल्न जोकोही नेताहरु निकै महोत्वाकांक्षी हुने गर्छन् । तर काठमाण्डौ महानगरपालिकाको नेतृत्व गर्नु भनेको राजधानीकै नेतृत्व गरेसरह भएकोले पनि यहाँको नेतृत्व गर्न निकै दुरदर्शी र स्थापित नेताको आवश्यकता पर्दछ ।

त्यसैले पनि हुनसक्छ, यहाँ मुलुकका शीर्ष र प्रभावशाली पार्टीका केन्द्रीय तहकै नेताहरु महानगरपालिको नेतृत्वमा आउन आकांक्षी हुने गरेका छन् । यो अघिल्ला स्थानीय चुनावमा दिएका उम्मेद्धारीको जित–हारले पनि पुष्टि गरिसकेको कुरा हो । २०४६ सालको जनआन्दोलनलगतै २०४९ सालमा भएको स्थानीय निर्वाचनमा नेपाली कांग्रेसको तर्फबाट उठ्नुभएका पिएल सिंह नगर प्रमुखमा विजयी भए । त्यसबेला ०४६ सालको आन्दोलन र त्यसको प्रभाव नेपाली कांग्रेसमार्फत समाजमा चर्को रुपमा परिरहेको थियो । महानगरपालिकामा कांग्रेसको समेत चर्को प्रभाव थियो । त्यसकारण पनि त्यसबेला कांग्रेसले आफ्नो पक्षमा परिणाम हात पर्न सफल भयो ।

त्यसको पाँच वर्षपछि अर्थात २०५४ सालमा भएको स्थानीय चुनावमा एमालेको तर्फबाट केशव स्थापित मेयर र विदुर मैनालीले उपमेयरमा विजयी हाँसिल गरे । त्यसबेला मुलुकमा एमालेको चर्को प्रभाव रहेको थियो । राजधानी समेत रहेको काठमाण्डौ महानगरपालिकामा स्थापित र मैनालीले सजिलै चुनाव जित्नुभएको थियो । यसबाट के प्रस्ट हुन्छ भने काठमाण्डौमा शीर्ष दलहरुमध्ये मुलुकभर कसको बढी प्रभाव देखिन्छ, त्यसैको जित हुने देखिएको छ, यो सवालमा कहिलेकाही अन्य पार्टीसँगको तालमेलले पनि काम गरेको देखिन्छ । त्यसबेला मुलुकभर देखिएको चर्को प्रभावले समेत काम गरेको देखिन्छ ।

यसकारण जितेका थिए केशव स्थापितले काठमाण्डौमा
काठमाण्डौका स्थानीय बासिन्दा केशव स्थापित त्यसबेला एमालेका स्थापित र जुझारु नेता मात्र होइनन्, उनको व्यक्तिगत सम्बन्ध र छबि पनि निकै राम्रो थियो । स्थानीय जनतासँगको सुमधुर सम्बन्ध र जुझारु नेताको रुपमा आफ्नो छबि निर्माण गनुभएका उहाँलाई एमालेले उपयुक्र्त उम्मेद्धारको रुपमा अघि बढाएको थियो । एमालेभित्र २०४६ साल अघिदेखिनै विशेषगरी तत्कालीन शीर्ष नेतृत्व मनमोहन अधिकारी, मदन भण्डारी, माधव नेपाल लगायतका नेताहरुसँग घनिष्ठ सम्बन्ध भएका उनको व्यक्तिगत छबि र राजनीतिक पृष्ठभूमिले समेत मेयरमा जिताउन मद्धत गरेको थियो । यद्यपि, २०५४ सालमा मदन भण्डारीको नेतृत्वको अभाव रह्यो ।

त्यसबेला उनको देहान्त भएको ४ वर्ष पुगिसकेको थियो । काठमाण्डौको मुटुमा जन्मिएका स्थापित स्थानीय जनताको मन, मुटुमा बस्न सफल थिए । उनको छबि र जिम्मेवारीमा एमाले नेतृत्वले मेयरको उम्मेद्धारीको जिम्मेवारी र कर्तव्य थपिदिएर सुनमा सुगन्ध थपिदिन सफल भयो । जसका कारण स्थानीय नेवार समुदायका अतिरिक्त सिंगो काठमाण्डौका जनतामा थप हर्षोल्लास थपियो र सिंगो काठमाण्डौका मत उउनीमाथि खनियो । फलस्वरुप, २०५४ सालमा काठमाण्डौमा एमालेले विजयी हासिल गर्न सफल भयो । त्यसबेला एमालेको काठमाण्डौमा अर्को प्रभाव समेत परिसकेको थियो । तत्कालीन एमाले महासचिव मदनकुमार भण्डारीको दासढुंगामा भएको सुनियोजित जिप दुर्घटनामा परेर देहान्त भएलगत्तै मुलुक एमालेको पक्षमा जुरुक्कै उठेको थियो ।

नेपाली कांग्रेसलाई त्यो माहोल फिक्का पार्न धौ–धौ परिरहेको थियो । त्यसको करिब २ वर्षपछि तत्कालीन एमाले अध्यक्ष मनमोहन अधिकारीको नेतृत्वमा सरकार निर्माण भयो । जुन सरकार ९ महिनामात्र टिक्यो ।  प्रधानमन्त्री अधिकारीको नेतृत्वमा बनेको सरकारले ९ महिनाभित्र निकै लोकप्रिय कामहरु समेत गर्न सफल भयो । ‘आफ्नो गाउँ, आफै बनाउ’, ‘बृद्धभत्ताको सुरुवात’ लगायतका विभिन्न लोकप्रिय र जनप्रिय कामहरुको सुरुवात गर्ने वित्तिकै एमाले नेतृत्वको नौ महिने सरकार इतिहासमै स्थापितनै भयो ।

जसको परिणाम तत्कालै त्यसको त्यसको करिब ढेढ वर्षपछि भएको स्थानीय निर्वाचनमा ह्वात्तै देखियो । परिणामस्वरुप, काठमाण्डौमा केशव स्थापित र विदुर मैनालीले विजय हासिल गर्न सफल भएका थिए । सोही सरकारले गरेका कतिपय लोकप्रिय कामहरुको एमालेले अहिले पनि अंगिकार गरिरहेको छ । सम्भवत, आगामी निर्वाचनमा समेत उसले यस्तै खालका जनप्रिय कार्यनीति र रणनीतिलाई अख्तियार गर्ने सम्भावना नजिकै छ । कांग्रेस र अन्य पार्टीले पनि सोही खालका नीति र नाराहरु अघि सार्ने सम्भावना प्रवल देखिन्छ ।

आगामी चुनावमा काठमाण्डौ महानगरपालिकामा को–को होलान् उम्मेद्धार ?

करिब २० वर्षपछि हुन लागेको अहिलेको स्थानीय निर्वाचनमा काठमाण्डौ महानगरपालिकाबाट कुन पार्टीबाट क–कसले उम्मेद्धारी देलान् त ? पछिल्लो रिपोर्टअनुसार यसका लागि नेपाली कांग्रेस, एमाले र माओवादी केन्द्रले आफ्ना सम्भावित उम्मेद्धारहरुको नाम तय गर्ने गृहकार्य सुरु गरिसकेका छन् । नेपाली कांग्रेसको तर्फबाट लोकप्रिय युवानेता तथा स्वास्थ्यमन्त्री गगन थापा, नविन्द्रराज जोशी लगायतको नाम बाहिर आएको छ भने एमालेको तर्फबाट पार्टी केन्द्रीय सचिव योगेश भट्टराई, केन्द्रीय कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठ, पूर्व जिविस सभापति सानु श्रेष्ठ लगायतको नाम अघि आएको छ ।

त्यस्तै, माओवादी केन्द्रले प्रधानमन्त्री पुष्पकमल दाहालकी पुत्री रेणु दाहाल लगायतको नाम अघि सार्ने तयारी गरेको खबर बाहिर आएको छ । आगामी निर्वाचनमा भने काठमाण्डौ महानगरपालिकाको नेतृत्वमा को आउँछ भन्ने अहिलेनै निक्र्योल गर्न सकिने स्थिति छैन । राप्रपाले समेत काठमाण्डौमा आफ्नो उम्मेद्धारी दिने र चुनावमा चुस्त तयारी गर्ने संकेत दिएको छ । त्यसैले पनि यो पटकको काठमाण्डौ महानगरपालिकाको चुनाव फरक र निकै कडा प्रतिस्पर्धाका बीचबाट गुज्रिने धेरैको अनुमान छ ।

यस्तो छ पूर्व मेयर पिएल सिंहको यसबेलाको जिन्दगी
बुढेसकालको एक्लो जीवन, धर्म माता–पिता दुवैको अवसानपछि यता न उताको भएका एकजना चर्चित व्यक्ति यतिबेला दिल्लीमा गुमनाम जिन्दगी बिताउँदै छन् ।  खगनाथ अधिकारी डिसिएम नियुक्त भएर जानुअघि दुर्गेशमान सिंहको राजदूतकालमा उनले आठ महिना सेकेण्डम्यानको क्वार्टरमा बिताए ।

अहिले फेरि चार महिनादेखि सुब्बाको निवासमा बास छ । त्यो पदमा एउटी महिलाको नियुक्ति भैसक्यो । अमृत लोप्चन युनाइटेड अरब इमिरेट्स सरुवा भएपछि खाली क्वार्टरमा बस्दै आएका उनलाई अब कहाँ सार्ने ? समस्या छ । दिपकुमार उपाध्यायले फिर्ता हुने सरकारी आदेश प्राप्त हुनासाथ भने पनि ‘दाइ, म जान लागें । तपाईंको टिकट म नै काटिदिन्छु, फर्कौं ।’ तर मानेनन् । बिहान अटो रिक्सा चढेर बाहिर निस्कन्छन् । एक झोला तरकारी र पाउरोटी किनेर त्यसैगरी रिक्सा चढी क्वार्टरको ढोकासम्म आउँछन् र दिनभरि धुम्धुम्ती कोठाभित्र बस्छन् । उमेर भयो ७५ । आफैं पकाउँछन् । शौचालय, भान्सा चिटिक्क हुनेगरी सफा गर्छन् । कोही मन्त्री आउँदा हुने रात्रिभोजमा दूतावासले बोलाए गएर २/३ पेग लगाइ पनि हाल्छन् । के को लोकतन्त्र ? भनिरहन्छन् । उनी हुन् काठमाडौंका पूर्व मेयर तथा एमाले पार्टी फुटेको बेला वामदेवलाई काठमाडौंको १ नम्बर क्षेत्रबाट चुनाव हराउने पिएल सिंह ।

यिनी सन् १९४० मा जन्मिएर मामा घरमा हुर्किए । गणेशमान र मंगलादेवीको धर्मपुत्र सरह थिए । पछि प्रकाशमानहरूबाट तिरस्कृत भएपछि अहिले यो हालत छ । राजनीतिक निष्ठा कस्तो भने ०६२/०६३ को आन्दोलनपछि राजा ज्ञानेन्द्रले पुनस्र्थापित गरेको प्रतिनिधिसभामा एकदिन पनि हाजिर हुन गएनन् । अहिले उनको जीवन गुमनाम जस्तै छ ।