पु.समाचार

कञ्चनपुर घटनाबारे गृहमन्त्री निधि र भारतीय विदेशमन्त्रीबीच यस्तो वार्ता

काठमाडौं । भारतीय सशस्त्र सीमा बल (एसएसबी)ले गोली हानेर नेपाली नागरिक गोविन्द गौतमको हत्या गरेको घटनामा सरकारले भारत सरकारको ध्यानाकर्षण गराएको छ । उपप्रधानमन्त्री एवं गृहमन्त्री विमलेन्द्र निधिले बिहीबार भारतीय विदेशमन्त्री सुष्मा स्वराजलाई टेलिफोन गरी घटनाबारे ध्यानाकर्षण गराएका हुन्।

‘प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको निर्देशनमा गृहमन्त्रीज्यूले भारतीय विदेशमन्त्रीसँग टेलिफोनमा घटनाबारे ध्यानाकर्षण गराउनुभएको छ,’ गृहमन्त्री निधिका प्रेस सल्लाहकार रामजी दाहालले भने, ‘नेपाल सरकारको चिन्ता व्यक्त गर्नुभएको छ ।’ भारतीय फौज एसएसबीको गोली प्रहारबाट कञ्चनपुर पुनर्बास नगरपालिका–८ का गोविन्द गौतमको बिहीबार निधन भएको छ ।

शुक्रबारको नयाँ पत्रिकामा लेखिएको छ, परराष्ट्र मन्त्रालयले पनि विज्ञप्ति जारी गरी भारतीय सुरक्षा फौजबाट निर्दोष नेपालीको हत्या भएको भन्दै घटनाको निन्दा गरेको छ । ‘नेपाल सरकारले भारत सरकारको उच्च कूटनीतिक तहमा यसबारे गम्भीर चासो व्यक्त गरेको छ,’ बिहीबार साँझ परराष्ट्र मन्त्रालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘घटनाको अनुसन्धान गरी दोषीलाई न्यायको कठघरामा ल्याउन भारतसँग माग गरेको छ ।’ सरकारले परिस्थिति नियन्त्रणमा लिन र सीमा क्षेत्रमा थप घटना हुन नदिन पनि भारतसँग आग्रह गरिएको मन्त्रालयले जनाएको छ ।

एसएसबीले एक्कासि फायर खोल्यो: गृह मन्त्रालय
गृह मन्त्रालयले बिहीबार साँझ जारी गरेको विज्ञप्तिमा १० फागुनमा दुवै पक्षको सहमतिका आधारमा नेपालतिर कच्ची कल्भर्ट निर्माण भएको, तर एसएसबीले भारतीयले एक्कासि भत्काएपछि झडप भएको जनाएको छ । दुवैतिरका स्थानीयबीच भनाभन चलिरहेका वेला एसएसबीका जवानले एक्कासि फायर खोल्दा २५ वर्षीय गोविन्द गौतम घाइते भएको र उपचारका लागि धनगढी लैजाँदा बाटोमा उनको निधन भएको गृहको विज्ञप्तिमा उल्लेख छ ।

‘घटना अत्यन्त निन्दनीय र दुःखदायी छ,’ गृहले भनेको छ, ‘मित्रराष्ट्र भारतका सीमारक्षकले आवेगमा प्रहार गरेको गोलीबाट एकजना निर्दोष नेपालीले ज्यान गुमाउनुपर्दा नेपाल सरकार गृह मन्त्रालय स्तब्ध भएको छ ।’ गृहले धैर्यधारण गर्न स्थानीयलाई आग्रहसमेत गरेको छ भने कूटनीतिक तवरबाट समाधान खोजिने प्रतिबद्धतासमेत गरेको छ ।

एसएसबीले गोली चलाएको होइन: भारतीय दूतावास
भारतीय दूतावासले घटनालगत्तै विज्ञप्ति जारी गरी एसएसबीले गोली प्रहार नगरेको दाबी गरेको छ । ‘त्यहाँ सशस्त्र सीमा बलबाट गोली फायर गरेको भन्ने कुरा स्पष्ट रूपमा अस्वीकार गरिन्छ,’ दूतावासको विज्ञप्तिमा भनिएको छ, ‘त्यहाँ शान्तिपूर्ण परिस्थिति बनाइनुपर्छ र कुनै पनि निर्माण हुनुअगाडि दुवैतिरका नापी अधिकारीहरू बसेर सीमा स्तम्भबारे छलफल गरिनुपर्छ । जिल्ला अधिकारीहरूलाई त्यहाँको परिस्थिति सामान्य बनाउने कुरामा सहजीकरणका लागि निर्देशन दिइएको छ ।’

माओवादी केन्द्रद्वारा प्रदेश बन्द आह्वान
पुनर्वास घटनाको विरोधमा माओवादी केन्द्रको ७ नम्बर प्रदेश समितिले शुक्रबार बन्द आह्वान गरेको छ । समितिका प्रचार विभाग प्रमुख ओमविक्रम भाट ‘सरल’ले भारतीय पक्षबाट नेपालीमाथि भएको ज्यादतीको विरोधमा प्रदेश बन्द आह्वान गरिएको बताए । वाइसिएल तथा अखिल क्रान्तिकारीले पनि आन्दोलन घोषणा गरेका छन् ।

त्यस्तै, संविधानसभा निर्वाचनमा कञ्चनपुर–४ बाट माओवादी उम्मेदवार रहेकी विना मगरले पनि गौतमलाई सहिद घोषणा गर्न माग गरेकी छिन् । ‘हाम्रा कार्यकर्ता गौतम स्थानीय निर्वाचनमा उम्मेदवार हुने तयारीका साथ सक्रिय थिए । उनको हत्या भएको छ, दोषीलाई कारबाही गर्न र उनलाई सहिद घोषणा गर्न र परिवारलाई क्षतिपूर्ति दिन म माग गर्दछु,’ विनाले भनिन् ।

दुर्भाग्यपूर्ण र खेदजनक घटना: देउवा
कांग्रेस सभापति शेरबहादुर देउवाले कञ्चनपुर घटनाको भत्र्सना गरेका छन् । उनले बिहीबार राति जारी गरेको विज्ञप्तिमा देउवाले भनेका छन्, ‘नेपाल–भारत दुवै देशका स्थानीय अधिकारीहरूबीच भएको सहमतिअनुसार पुनर्बास नगरपालिकाले निर्माण गरेको कल्भर्ट भारतीय पक्षले भत्काएपछि उत्पन्न विवादमा गोली प्रहार हुनु अत्यन्त दुःखद्, खेदजनक र दुर्भाग्यपूर्ण घटनाको रूपमा मैले लिएको छु ।’

एक स्वतन्त्र र सार्वभौमसत्तासम्पन्न मुलुकको नागरिक भारतीय पक्षको गोली प्रहारबाट मारिनु अत्यन्त गम्भीर घटना भएको पनि देउवाले बताएका छन् । उनले भनेका छन्, ‘यो घटनाको सम्बन्धमा भारतको उच्च कूटनीतिक तहमा पहल गरी घटनाको यथार्थ छानबिन गर्न र दोषीमाथि कारबाही अगाडि बढाउन, मृतक गोविन्द गौतमको परिवारलाई क्षतिपूर्ति दिन, घाइतेहरूको तत्काल निःशुल्क उपचारको व्यवस्था गर्न नेपाल सरकारसँग माग गर्छु ।’ उनले नागरिकको जीउधनको सुरक्षा गर्नेलगायतका सबै दायित्व पूरा गर्न पनि सरकारसँग माग गरेका छन् ।
निन्दनीय घटना: एमाले
एमाले विदेश विभाग प्रमुख माधवकुमार नेपालले कञ्चनपुरमा एसएसबीले नेपाली युवाको हत्या गर्नु निन्दनीय र दुर्भाग्यपूर्ण घटना भएको बताएका छन् । ‘नेपालको भूमिमा विदेशी सुरक्षाकर्मीबाट नेपाली नागरिक मारिनु अत्यन्तै निन्दनीय घटना हो,’ नेता नेपालले पत्रकारहरूसँग भने, ‘कुनै विषयमा विवाद छन् भने दुई देशका आधिकारिक अधिकारीहरू बसेर छलफल गर्नुपर्छ । तर, विदेशी सैनिक नेपालको घरघरमा आएर मानिस कुट्ने र गोली हान्ने कार्य आपत्तिजनक छ । सरकारले यस विषयमा भारतसँग गम्भीरतापूर्वक कुरा गर्नुपर्छ ।’

गौतमलाई सहिद घोषणा गर्न स्थानीयको माग
भारतीय सीमा सुरक्षा बल (एसएसबी)को गोलीबाट मृत्यु भएका पुनर्वास नगरपालिका–८ माछापुच्छे टोलका गोविन्द गौतमलाई सहिद घोषणा गर्न माग गरिएको छ । स्थानीयले मृतकलाई सहिद घोषणा गर्न र दोषीलाई कारबाही गर्न माग गर्दै बिहीबार प्रदर्शन गरेका छन् ।
विद्यार्थी संगठनहरूले बिहीबार साँझ मसाल जुलुस निकालेका छन् । नेविसंघ, अखिल क्रान्तिकारी, अखिल छैटौ लगायतका विद्यार्थी संगठनले बिहीबार साँझ महेन्द्रनगरमा प्रदर्शन गरेका हुन् । उनीहरूले सीमा क्षेत्रको रक्षार्थ खटिएका गौतमलाई सहिद घोषणा गर्नुपर्ने, घटनाको सत्यतथ्य छानबिन गरी दोषीलाई कारबाही गर्नुपर्ने र सीमा क्षेत्रमा भारतीय प्रहरीको ज्यादती रोक्नुपर्ने माग गरेका छन् । कञ्चनपुरमा सक्रिय दलहरूले भारतीय ज्यादती रोक्नुपर्ने भन्दै सीमा क्षेत्रमा नेपालका सुरक्षाकर्मीको क्याम्प स्थापना गर्नुपर्ने मागसमेत राखेका छन् ।
रैथाने एकता परिषद् र शिवसेनाको विरोध
एसएसबीको गोलीबाट नेपालीको मृत्यु भएको घटनाको रैथाने एकता परिषद् र शिवसेना नेपालले पनि विरोध गरेका छन् । एकता परिषद्का संयोजक सन्तोष बराइलीले विज्ञप्तिमार्फत एसएसबीलाई कारबाही माग गरेका छन् । शिवसेना नेपालका अध्यक्ष अनिल बस्नेतले नेपालीको हत्यालाई दुर्भाग्यपूर्ण र आपत्तिजनक भन्दै नेपालीमाथिको अपमान भएको बताएका छन् ।