समाचार

यी हुन् साहसी तीन महिला, जसले ज्यानमारा हिमाल एकैसाथ चढेर कीर्तिमान राखे !

काठमाडौं । साहसिक खेल हो हिमाल आरोहण जसमा ठूलै आँट चाहिन्छ । एकपटक नभएर बारम्बार हिम्मत जुटाउनुपर्छ । सन् २००७ मा उनीहरुले सर्वोच्च शिखर सगरमाथा चढे । ‘हिमालहरुको हिमाल’, ‘ज्यानमारा हिमाल’, ‘माउन्ट किलर’जस्ता थुप्रै उपमा पाएको पाकिस्तानको केटु (८,६१२ मिटर) पनि चढे ।

शुक्रबारको नागरिकमा लेखिएको छ, विश्वकै दोस्रो अग्लो मात्र होइन, प्राविधिक रुपमा अत्यन्त कठिन मानिने केटुको चुचुरोमा सन् २०१४ मा चुमे, केटु पुग्ने पहिलो महिला टिम भनेर नाम लेखाए । अब उनीहरु विश्वको तेस्रो अग्लो हिमशिखर (८,५८६ मिटर) कञ्चनजंघा चढ्ने तयारीमा छन् ।

उनीहरु अर्थात् ‘थ्री वुमेन, थ्री टप’ अभियानका ओखलढुंगाकी माया शेर्पा, सोलुखुम्बुकी पासाङल्हामु शेर्पा र दोलखाकी दावा याङजुम शेर्पा ।
जलवायु परिवर्तन न्युनिकरणको सन्देश बोकेर चैत २५ गते काठमाडौंबाट हिँड्ने तयारीमा छन् उनीहरु ।