समाचार

यही बालक हो, जो सानोमा महल बनाएर नयाँ सपना देख्थ्यो, जसले आज देशै झलमल्ल पार्ने सपना देखिरहेका छन् !

काठमाण्डौ । यसबेला शहर–बजारमा कुलमान घिसिङको निकै चर्चा छ । काठमाण्डौ उपत्यका लगायत मुलुकका विभिन्न शहरहरुमा लोडसेडिङ मुक्त गरेर उनले नेपालीहरुमा एउटा नयाँ उमंग र खुसी ल्याइदिएका छन् । देश निर्माण गर्ने यस्ता छोराहरु जन्मिनुपर्छ भन्ने बहस यसबेला शहर, बजार र गाउँका टोल टोलमा भैरहेको छ ।

 वास्तवमा कुलमान कस्ता मानिस हुन् र उनी कस्तो समाजबाट हुर्किए ? र यति राम्रो काम गर्न सके ? जतिबेला पनि लोडसेडिङको मात्र रुटिन सार्वजनिक गर्ने कर्मचारीतन्त्र र त्यहाँभित्रका घुसखोरहरु विरुद्ध उनी कसरी प्रस्तुत हुन सके ? त्यो त एउटा छुट्टै बहसको पाटो छ, त्यसमा घिसिङ सफल भएका छन् । तर उनी कस्तो पारिवारिक र सामाजिक परिवेशबाट हुर्किए र यति सफल व्यक्तित्व बन्न सके ? यो विषयमा भने सबैलाई जतिबेला पनि कौतुहल लागिरहने विषय हुन्छ ।

उनका आधारभूत जीवनीका कथाहरु सबैले अध्ययन गरेपनि घिसिङ सार्वजनिक गर्ने आफ्ना जीवनको भित्री कथाले भने बेला बेलामा रोमाञ्चकता र गम्भीरता समेत थपिदिने गर्दछ ।

वास्तवमा उनी रामेछापको दोरम्बामा जन्मिएका अत्यन्तै सामान्य किसान परिवारका सदस्य हुन् । उनले बुधबार आफ्नो बाल्यकालको तस्वीर सार्वजनिक गरेका छन् । गाउँमा सानै उमेरमा मकैको खोयाको महल बनाएर खेलिरहेको तस्वीर आफ्नो फेसबुकमा सार्वजनिक गर्दै उनले आफ्नी हजुरआमाको सम्झना गरेका छन्, जसले उनी सानैमा कस्तो सपना देख्ने गर्थे भन्ने भविष्यको प्रतिबिम्ब झल्किन्छ । उनले आफैले लेखेका छन, ‘हजुरआमा मकै छोड्याउनुहुन्थ्यो, म सपनाको महल बनाउँथे ।’

धन्य, कुलमान घिसिङ जसको बाल्यकाल यस्तो सपना देख्दै संघर्षबाट अघि बढ्यो, उनैले आज झुपडीदेखि महललाई झलमल्ल पार्ने काम गरेका छन् । यसको श्रेय उनै हजुरआमा र जन्म दिने बुबाआमा र त्यो परिवारका सदस्यलाई जान्छ । जुन बालकले आज मुलुकको इज्जत बचाउन सफल भएको छ ।