पु.समाचार

सप्तरी घटनाका मृतकहरुको शव ३ दिनदेखि अस्पतालमै

काठमाडौं । सरकारले सप्तरी घटनामा मारिएका मृतकका परिवारलाई राहतस्वरूप १० लाख रुपैयाँ दिने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले घटनामा घाइतेको सबै उपचार निःशुल्क गर्ने निर्णयसमेत गरेको छ । घटनाको सत्यतथ्य जाँचबुझ गर्न प्रधानमन्त्रीको सहमतिमा गृह मन्त्रालयले तीन सदस्यीय जाँचबुझ आयोग गठन गर्ने निर्णय पनि मन्त्रिपरिषद्को छ ।

आयोगलाई १५ दिनभित्र प्रतिवेदन पेस गर्ने कार्यदेश दिइने भएको छ । शान्तिपूर्ण रूपमा भेला हुने तथा राजनीतिक गतिविधि गर्ने संवैधानिक अधिकार कुण्ठित नगर्न र संयमतापूर्वक गतिविधि गर्न सरकारले सबै दललाई आग्रहसमेत गरेको संघीय मामिला तथा स्थानीय विकासमन्त्री हितराज पाण्डेले जानकारी दिए ।

सप्तरीमा गोली लागेका थप एकको मृत्यु: एमालेको मेची–महाकाली अभियानका क्रममा गत सोमबार प्रहरीको गोलीले घाइते भएका थप एकजनाको मृत्यु भएको छ । टाउकोमा गोली लागेका मलेठ–२ का ३२ वर्षीय वीरेन्द्र मेहताको उपचारकै क्रममा बुधबार बिहान साढे ८ बजे मृत्यु भएको हो । उनको बिपी स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको थियो।

तीन दिनदेखि अस्पतालमै शव स् झडपका क्रममा प्रहरीको गोली लागेर मृत्यु भएका चारैजनाको शव हालसम्म धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमै राखिएको छ । घटनापछि गृह मन्त्रालयले प्रजिअ, नेपाल प्रहरी र सशस्त्र प्रहरीका प्रमुखलाई गृह मन्त्रालय फिर्ता बोलाएको छ । नयाँ सुरक्षा प्रमुख जिल्ला नआएकाले शव ल्याउने विषय अनिश्चित भएको हो ।