पु.समाचार

राष्ट्रपति भण्डारी र पूर्वराजा ज्ञानेन्द्र यसरी एउटै मञ्चमा देखिदैछन् !

परासी । चौधरी ग्रुपले आयोजना गरेको कार्यक्रममा सहभागी हुन राष्ट्रपति विद्यादेवी भण्डारी र पूर्वराजा ज्ञानेन्द्र शाह मंगलबार नवलपरासीको दुम्कौली जाँदै छन् । देवचुली नगरपालिका-२ दुम्कौलीस्थित सीजी इन्डस्ट्रियल पार्क परिसरमा निर्मित शाश्वतधाम एवं धर्मसभामा सहभागी हुन दुवै त्यहाँ जान लागेका हुन् । उद्योगपति विनोद चौधरीले दुवैजनालाई आमन्त्रण गरेका हुन् ।

कार्यक्रमअनुसार राष्ट्रपति भण्डारीले शाश्वतधामको उद्घाटन गर्नेछिन् भने सर्वधर्मसभामा पूर्वराजा विशिष्ट अतिथिका रूपमा रहनेछन् । इन्डस्ट्रियलको ८० बिगाहा क्षेत्रफलमध्ये सात बिगाहामा शाश्वतधामसहित विभिन्न देवीदेवताका मन्दिर, आश्रम, गुरुकुल, धार्मिक संग्रहालय, डिजिटल धार्मिक पुस्तकालय, गौशाला, ध्यान केन्द्रलगायत निर्माण गरिएको छ । विभिन्न तीन स्थानमा परिसरभित्र कार्यक्रम गरिनेछ, जसअनुसार शाश्वतधाम उद्घाटन, धर्मसभा र शिव मन्दिरको प्राणप्रतिष्ठा हुनेछ ।

मंगलबारको अन्नपूर्ण पोष्टमा लेखिएको छ, शाश्वतधाम खजुरवान शैलीमा निर्माण गरिएको छ । यो दक्षिण भारतमा प्रचलित शैली हो । विशिष्ट व्यक्तिको सहभागितामा गरिने कार्यक्रममा आर्ट अफ लिभिङका संस्थापक रविशंकर, शंकराचार्य जयेन्द्र सरस्वतीलगायत शंकराचार्य मठ र पशुपतिका पुजारीको सहभागिता रहने चौधरी ग्रुपले जानकारी दिएको छ ।

सन् २००२ मा नेपाल भ्रमणमा आएका शंकराचार्य जयेन्द्र सरस्वतीले चौधरी परिवारलाई नेपालमा धाम बनाउन प्रेरणा दिएका थिए । सोही प्रेरणाले उद्योगपति चौधरीले १५ वर्षअघि धाम निर्माण सुरु गरेका हुन् ।