समाचार

स्वास्थ्यकर्मीको अवरोधका कारण ‘विशेष पोलियो खोप कार्यक्रम’ सञ्चालन हुन सकेन

काठमाडौँं । स्वास्थ्यकर्मीको अवरोधका कारण ‘विशेष पोलियो खोप कार्यक्रम’ सञ्चालन हुन नसकेका कैलालीमा फागुन २७, २८ तथा पर्सामा फागुन २६ र २७ गते सञ्चालन हुने भएको छ । अन्य १३ जिल्लामा भने औपचारिक रुपमा खोप कार्यक्रम सञ्चालन भइरहेको भएपनि केही जिल्लामा निकै ढिला सुरु भएकाले एक सातासम्म कार्यक्रम सञ्चालन हुने मन्त्रालयले जनाएको छ ।

सरकारले तराईका कैलाली, बर्दिया, बाँके, कपिलवस्तु, पर्सा, बारा, रौतहट, धनुषा, महोत्तरी, सप्तरी, सिरहा र सुनसरी तथा काठमाडौँ उपत्यकाका काठमाडौँ, भक्तपुर र ललितपुरमा पोलियो खोप कार्यक्रम गर्ने तय गरेको थियो । ती जिल्लाका पाँच वर्षमुनिका १६ लाख ९२ हजार ३१५ बालबालिकालाई पोलियो खोप लगाउने कार्यक्रम छ ।

मन्त्रालय बालस्वास्थ्य महाशाखाका खोप शाखाका कार्यक्रम अधिकृत वसन्त श्रेष्ठले कार्यक्रम सुरु मात्र भएका जिल्लाका सबै गाविसमा पनि स्वास्थ्यकर्मीसँग छलफल गरी खोप सामग्री पु¥याउने काम भइरहेको बताए । यसैबीच, बालबालिकालाई खोपबाट वञ्चित गराइएको चारैतिरबाट विरोध भएपछि आन्दोलनको नेतृत्व गरिरहेका छवटा ट्रेड युनियनले पोलियो खोप कार्यक्रमलाई सफल बनाउन सबै स्वास्थ्यकर्मीलाई आह्वान गरेको छ ।

आज राष्ट्रिय स्वास्थ्यकर्मी सङ्घका अध्यक्ष भक्तिमान सुब्बा, स्वास्थ्यकर्मी युनियन नेपालका अध्यक्ष जगत नेपाली, राष्ट्रिय स्वास्थ्यकर्मी सङ्गठनका अध्यक्ष चित्रजङ्ग शाही, अखिल नेपाल प्रगतिशील स्वास्थ्यकर्मी सङ्गठनका अध्यक्ष क्षेत्रराज कार्की, नेपाल स्वास्थ्यकर्मी युनियनका अध्यक्ष उज्वलकुमार शर्मा र मधेसी स्वास्थ्यकर्मी फोरम नेपालका अध्यक्ष बालकिशोर यादवले संयुक्तरुपमा विज्ञप्ति जारी गर्दै खोप कार्यक्रमलाई आन्दोलनकै स्वरुपमा ग्रहण गरी लक्षित बालबालिका नछुट्ने गरी सहभागी हुन सबै स्वास्थ्यकर्मीलाई गए ।

पोलियो खुवाइने जिल्लामा केही स्वास्थ्यकर्मीले अवरोध गरेमा सुरक्षा व्यवस्था मिलाइ सेवा सञ्चालन गराउन स्वास्थ्य मन्त्रालयले गृह मन्त्रालयलाई पत्राचार समेत गरेको थियो । रासस