खेलकुद

चैत २३ गतेदेखि महिला अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगिता हुँदै

काठमाण्डौ । प्रथम महिला अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगिता चैत २३ गतेदेखि त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा हुने भएको छ । नेपाल तेक्वान्दो संघअन्तर्गतको महिला सशक्तिकरण समितिको आयोजनामा सो प्रतियोगिता सम्पन्न हुन लागेको हो ।

प्रतियोगितामा दक्षिण एसियाली राष्ट्रहरु नेपालसहित भारत, भुटान, बंगलादेश, श्रीलंका र पाकिस्तान गरी ६ राष्ट्रका करिब १ सय ६९ खेलाडीको सहभागिता रहने आइतबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

हरेक दुई वर्षमा प्रतियोगिता सञ्चालन गर्ने लक्ष्यसहित सुरु गरिएको प्रतियोगिता पहिलो पटक २०७१ को फागुनमा आयोजना गरिएको थियो । प्रतियोगितालाई अझ व्यापक बनाउने उद्देश्यसाथ योपटक अन्तर्राष्ट्रिय प्रतियोगता गर्न लागिएको संयोजक नन्दा बस्यालले जानकारी दिइन् ।

तेह्र स्पर्धामा समावेश दुईदिने प्रतियोगितामा गेरोगीमा सिनियर र जुनियर गरी विभिन्न ९ तौलसमूह तथा पुम्सेमा ४ विधामा खेल हुनेछ । जुनियरमा ४०, ४२ र ४४ तथा सिनियरमा ४६, ४९, ५३, ५७, ६२ र ६७ केजी वजनसमूहमा प्रतिस्पर्धा गराइने छ । पुम्सेमा यु–१५, यु–१९ र प्लस १९ र समूहगततर्फ खेलाडीले आ–आफ्नौ कौशल प्रदर्शन गर्नेछन् । गत पुसमा पूर्वाञ्चलमा भएको सातौं राष्ट्रिय खेलकुदका स्वर्ण विजेताले प्रतियोगितामा भाग लिन पाउने छैनन् ।

पाँच क्षेत्र, विभागीय टोली नेपाल प्रहरी क्लब, त्रिभूवन आर्मी क्लब र नेपाल एपीएफ क्लब गरी ८ टिमका ९६ खेलाडीले नेपालको चुनौती प्रस्तुत गर्नेछन् । २० महिला निर्णायक परिचालन गरिने छ ।

४५ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको प्रतियोगितालाई सफलतापूर्वक सम्पन्न गर्न विभिन्न उपसमितिहरु पनि गठन गरिएको जानकारी दिइयो ।