पु.समाचार

कर्मचारीले नै पोलियो थोपा खुवाउने अभियानमा अवरोध गरेपछि…!

काठमाडौं । पोलियो खोप कार्यक्रममा अवरोध गर्ने १८ कर्मचारी निलम्बनमा परेका छन् । कर्मचारीले स्वास्थ्य संस्था र खोप भण्डारण कक्षमा समेत तालाबन्दी गरेकाले पोलियो थोपा खुवाउने कार्यक्रम प्रभावित भएको छ । नियमित तालिकाअनुसार ललितपुर, भक्तपुरसहित तराईका १५ जिल्लामा पाँच वर्षमुनिका १६ लाख १२ हजार ३ सय १५ बालबालिकालाई पोलियो थोपा खुवाउने कार्यक्रम थियो । ७ र ८ फागुनमै पोलियो थोपा खुवाउने भनिएको थियो । तर, कर्मचारीले स्वास्थ्य संस्थामा तालाबन्दी तथा औषधि ढुवानीमा अवरोध गरेपछि दुईपटक मिति सारिएको थियो ।

स्वास्थ्य मन्त्रालयले ७ र ८, १३ र १४ र २१ र २२ फागुनमा पोलियो थोपा खुवाउने तयारी गरेको थियो । स्वास्थ्यमन्त्री गगन थापाले पोलियो खोप अभियानमा अवरोध पुयाउने कर्मचारीलाई कारबाही गर्ने चेतावनी समेत दिएका थिए । तैपनि अवरोध गरेर बालबालिकाको स्वास्थ्य र जीवनमाथि खेलबाड गरेको भन्दै स्वास्थ्य मन्त्रालयले अवरोध गर्ने कर्मचारीलाई निलम्बन गरेको हो । स्वास्थ्य मन्त्रालयले मनपरी भएको भन्दै बर्खास्तसमेत गर्ने गरी कर्मचारीहरूको सूची बनाउन थालेको स्वास्थ्यमन्त्री गगन थापाले बताए । मन्त्रालयले आचारसंहिताविपरीत गतिविधि गर्ने कर्मचारीलाई कारबाही गर्र्न निर्वाचन आयोगसँग परामर्शसमेत लिएको छ । निलम्बनमा परेका कर्मचारीलाई विभागीय सजाय गर्नु नपर्ने कारण भए तीन दिनभित्र स्पष्टीकरण पेस गर्न मन्त्रालयले आइतबार सूचनासमेत जारी गरेको छ । सोमबारको नयाँ पत्रिकामा लेखिएको छ, स्वास्थ्य सेवा ऐन २०५३ को दफा ७८९३० र निजामती सेवा ऐन २०४९ को दफा ६४ ९३० अनुसार १८ कर्मचारी निलम्बनमा परेका हुन् ।

अवरोध गर्ने कर्मचारीलाई बर्खास्तको तयारी: कर्मचारी बर्खास्त गर्ने विषयमा लोकसेवा आयोगसँग पनि परामर्श लिइने मन्त्रालयले जनाएको छ । सरकारी अभियानमा अवरोध गर्ने र राज्यमाथि नै चुनौती दिने हिसाबले विभिन्न गतिविधि गरिरहेको प्रमाणका आधारमा उनीहरूलाई सेवाबाट बर्खास्त गर्न लोकसेवासँग परामर्श लिन लागिएको स्रोतले बतायो ।

स्वास्थ्य सेवा ऐनको दफा ७४ मा सेवाबाट हटाउने वा बर्खास्त गर्ने विषय उल्लेख छ । कर्मचारीले लापरबाही वा बदनियतले काम गरेमा, आफ्नो पदको जिम्मेवारी पूरा गर्न नसकेको अवस्थामा, बारम्बार अनुशासनहीन काम गरेमा बर्खास्त गर्न सकिने प्रावधान छ । कार्यालय समयमा बारम्बार मादक पदार्थ सेवन गरेमा, राजनीतिमा भाग लिएमा पनि सरकारले चाहेमा बर्खास्त गर्न सक्ने व्यवस्था ऐनमा छ ।

सप्तरीका जनस्वास्थ्य प्रमुख सम्पर्कविहीन: सप्तरी जिल्ला जनस्वास्थ्य कार्यालय प्रमुख डा. नागेन्द्र चौधरी दुई दिनदेखि सम्पर्कविहीन रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । पोलियो थोपा खुवाउने अभियान सञ्चालन गर्न १५ जिल्लाका जनस्वास्थ्य प्रमुखलाई मन्त्रालयले परिपत्र जारी गरेपछि चौधरी कुनै निकायलाई जानकारी नदिई सम्पर्कविहीन बनेका हुन् । सप्तरीमा खोप सञ्चालन अवस्थाबारे चौधरीलाई सम्पर्क गर्न खोज्दा उनी सम्पर्कमा नआएपछि अपहरणको आशंकामा मन्त्रालयले प्रहरीलाई खोजी गर्न आग्रह गरेको थियो । स्वास्थ्य मन्त्रालय स्रोतका अनुसार उनी कार्यक्रम छाडेर काठमाडौं आएका छन् ।