पु.समाचार

सडकमा सवारी चलाउँदा वा हिँड्दा अब टिपरदेखि होसियार रहनुस् है !

काठमाडौं । घटना १: फागुन १३ गते पेप्सीकोलामा टिपरले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक सन्तोषसिंह कार्की गम्भीर घाइते भए । घटना २: फागुन १२ गते बालाजुबाट लैनचौर जाँदै गरेको टिपर ट्याक्सीमाथि पल्टिँदा २२ बर्षीय श्यामबहादुर प्रधान गम्भीर घाइते भए । उपचारको क्रममा उनको निधन भयो ।

घटना ३: फागुन १ गते थानकोटबाट कलंकी आउँदै गरेको मोटरसाइकललाई सोही दिशामा गुडिरहेको टिपरले ठक्कर दिँदा मोटरसाइकल चालकको घटनास्थलमै मृत्यु भयो ।
घटना ४: माघ १८ गते बालाजुबाट स्वयम्भू जाँदै गरेको मोटरसाइकललाई सोही दिशामा गुडिरहेको टिपरले ठक्कर दिँदा मोटरसाइकल चालक गम्भीर घाइते भए । उपचारको क्रममा उनको मृत्यु भयो ।
घटना ५: माघ १२ गते भक्तपुरबाट काठमाडौं आउँदै गरेको टिपरले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार दुई जना गम्भीर घाइते भए ।
आइतबारको नागरिकमा लेखिएको छ, उपत्यकामा माघ १२ देखि फागुन १३ गतेसम्म एक महिनामा टिपरले गराएका केही प्रमुख घटना हुन् यी । महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार सबै घटनाको प्रमुख कारण हो टिपर चालकको ‘लापरबाही’ । अधिकांश टिपर तीव्र गतीमा हुइँकाउँदा दुर्घटना भएको महाशाखाले जनाएको छ । यसको सिकार साना सवारी हुने गरेका छन् ।

‘दुर्घटना अन्य सवारीमा पनि भइरहेको हुन्छन् ।’ महाशाखाका डिएसपी सबिन प्रधानले भने ‘टिपरको दुर्घटना भने बढी संवेदनशील हुन्छ ।’ टिपरले दुर्घटना गराएपछि कि त ज्यानै जान्छ, कि त गम्भीर घाइते हुने प्रधानले बताए ।
यस्तो छ सजाय
कानुनमा सजायदेखि सर्वस्वसहित जन्मकैदको व्यवस्था भएपनि आधिकांश चालकलाई निश्चित जरिबाना गराएर ३५ दिन जेलमा राखी मुक्त गरिन्छ ।