पु.समाचार

सैनिक जवानकी श्रीमतीको प्रहरी जवानद्धारा बलात्कारपछि हत्या !

जाजरकोट । जाजरकोटको भेरीमालिका नगरपालिका-४, बोहराकी २४ वर्षीया राधिका सुनारको एक महिनाअघि बलात्कारपछि प्रहरी जवानले हत्या गरेको अनुसन्धानबाट खुलेको छ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटमा कार्यरत प्रहरी जवान कमल सुनारले ती महिलालाई प्रेमजालमा पारेर माघ २२ गते घरबाट एक किलोमिटर टाढा पासागाढ खोलामा लगी बलात्कारपश्चात् हत्या गरेको प्रहरी अनुसन्धान प्रतिवेदनमा उल्लेख छ।

हत्यामा संलग्नलाई सर्वस्वसहित आजीवन कारावासको सजाय मागदाबी गर्दै प्रहरीले शुक्रबार जिल्ला अदालतमा अभियोग पत्र दायर गरेको छ । शनिबारको अन्नपूर्णमा लेखिएको छ, मृतकका पति दलबहादुर सुनार नेपाली सेनामा कार्यरत छन्। श्रीमान् घरमा नभएको मौका छोपी अवैध यौन सम्बन्ध राख्दै आएका कमललाई विवाह गर्न राधिकाले दबाब दिएपछि हत्याको योजना बनाएको प्रहरीले जनाएको छ ।

‘अवैध सम्बन्ध भएको श्रीमानले थाहा पाएपछि उनले राधिकालाई जोसँग सम्बन्ध छ, उसैसँग पोइल जा भनेर बारम्बार कुटपिट गर्ने गरेका थिए। प्रहरी जवान कमललाई विवाह गर्न दबाब दिएपछि बिहे गर्नुभन्दा मारिदिए उन्मुक्ति पाइएला भनी हत्या गरेको पाइयो,’ प्रहरी नायब उपरीक्षक भावेश रिमालले भने, ‘यो सबै मोबाइलको कलडिटेलबाट खुलेको हो।’

जिल्ला प्रहरी कार्यालयका मुद्दा फाँटमा कार्यरत प्रहरी जवान सुनारले बयानका क्रममा अपराध स्विकारेका छन् । प्रहरीका अनुसार राधिकाको पेटमा छुरा प्रहार गरी हत्या गरिएको हो। महिलाको पेटमा छुरा रोपिएको र हातका औंला काटिएको अवस्थामा फेला परेको प्रहरी नायब उपरीक्षक रिमालले बताए ।