आर्थिक

कुन देशबाट कति लगानी भित्रिदैछ ? (लगानी र देशको नामसहित)

काठमाण्डौ । दुई दिनदेखि काठमाण्डौमा जारी अन्तर्राष्ट्रिय लगानी सम्मेलन शुक्रबार सकिएको छ । विकसित देशहरुले नेपालमा उच्च लगानी गर्ने प्रतिबद्धतासहित सम्मेलन समापन भएको हो । लगानी सम्मेलनमार्फत नेपालको विकासमा सबैभन्दा बढी लगानी गर्न इच्छुक मुलुक चीन देखिएको छ । चीनले नेपालमा ८ खर्ब ३० अर्ब लगानी गर्ने घोषणा गरेको छ ।

लगानी सम्मेलनमा नेपालमा लगानी गर्न कुल १३ खर्ब ५२ अर्ब रुपैयाँ बराबरको प्रतिबद्धता आएकोमा त्यसको आधाभन्दा बढी हिस्सा चीनले ओगटेको छ । १३ खर्ब ५२ अर्बमा चीनले ८ खर्ब ३० अर्ब लगानी गर्ने प्रतिबद्धता जनाउनु भनेको नेपालका लागि निकै खुसीको कुरा समेत भएको जानकारहरु बताउँछन् । चीनले गरेको घोषणा कुल रकमको ६१ प्रतिशत हुन आउँछ ।

त्यस्तै, भारतका लगानीकर्ताले ३१ अर्ब ७० करोड लगानी गर्ने प्रतिबद्धता जनाएका छन् भने जापान र बेलायतले १– १ खर्ब लगानी गर्ने प्रतिबद्धता जनाएका छन् । बंगलादेशका लगानीकर्ताले २ खर्ब ४० अर्ब लगानी गर्ने प्रतिबद्धता जनाएका छन् ।  श्रीलंकाका लगानीकर्ताले ५० अर्ब लगानी गर्ने प्रतिबद्धता जनाएका छन् । नेपालका लगानीकर्ताहरुले भने १ अर्ब १५ करोड लगानी गर्ने प्रतिबद्धता जनाएका छन् ।

सम्मेलनमा प्रतिबद्धता गरेको कुल लगानीमा भारतका लगानीकर्ताले घोषणा गरेको रकम २.२९ प्रतिशत हुन आउँछ । भारतलाई श्रीलंकाले समेत जितेको छ । प्रधानमन्त्री पुष्पकमल दाहालले उद्घाटन गर्नुभएको  लगानी सम्मेलनमा संसारका २ सय ५० भन्दा बढी लगानीकर्ताहरुको उपस्थिति रहेको थियो ।