पु.समाचार

राष्ट्रको स्वाभिमान र आर्थिक अनुशासनमा बस्नुनै स्व.भट्टराईप्रति सच्चा श्रद्धाञ्जली !

सुर्यखबर सम्वाददाता–
काठमाण्डौ । शुक्रबार नेपाली कांग्रेसका संस्थापक नेता तथा पूर्वप्रधानमन्त्री स्व.कृष्णप्रसाद भट्टराईको सातौं औं पुण्य तिथि हो । आज देश तथा विदेशमा रहेका कांग्रेसका नेता तथा कार्यकताहरुले उनको स्मरण गर्दै विविध कार्यक्रमको आयोजना गर्दै छन् । पार्टीका स्थानीय तहदेखि केन्द्रीय कार्यालयसम्मको उनको स्मरणमा श्रद्धाञ्जली सभाहरु आयोजना हुन लाग सन्त नेताका रुपमा चिनिने स्व.नेता भट्टराईको २०६७ सालमा देहान्त भएको थियो । उनको जन्म वि.सं.१९८१ मा भएको थियो ।

जीवनभर विवाह समेत नगरी देश र जनताको सेवामा लागेका सन्त नेता भट्टराईले देखाएको बाटो नेपाली कांग्रेस र उक्त पार्टीका कार्यकर्ताहरुले हिड्न सकेका छैनन् । नेपाली कांग्रेसभित्र पद र प्रतिष्ठाका लागि पैसा खर्च गर्ने परम्पराको विकास दिनानुदिन भैरहेको छ । पछिल्लो समयमा पैसाको चलखेलबाट दुई मेनपावर व्यावसायी महिलालाई राजदूतमा सिफारिस गरेर कांग्रेसले गम्भीर गल्ती गरेको छ । तराईलाई टुक्र्याएर प्रदेश निर्माण गर्ने सार्वजनिक अभिव्यक्ति गृहमन्त्री विमलेन्द्र निधि लगायत नेताहरुले दिइरहँदा नेपाली जनताले सिंगो पार्टीको समेत आलोचना गरिरहेका छन् । यो बेला स्व.भट्टराईलाई सम्झिरहँदा कता कता पार्टीभित्र अराजक प्रवृति भित्रिएको यसले संकेत गरेको छ ।

सन्त नेता भट्टराई वीपी कोइरालाका सच्चा अनुयायी भएको जानकाहरु बताउँछन् । प्रधानमन्त्री हुँदा छाता र सुराही लिएर बालुवाटार पसेका मान्छे बर्हिगमन पछि पनि छाता र सुराहीसँगै निस्कने नेताहरुको खाँचो कांग्रसभित्र भएको पुराना र भट्टराई नजिकबाट चिन्ने कांग्रेस नेताहरु बताउँछन् । राष्ट्रको स्वाभिमान र आर्थिक अनुशासनमा बस्नुनै स्व.भटटराईप्रति सच्चा श्रद्धाञ्जली हुने उनीहरुको भनाई छ ।

यिनी वि.सं. २००३ सालमा नेपाली काङ्ग्रेस गठन गर्दा देखि नै नेपालको राजनीतिमा संलग्न थिए। यिनले २००७ सालको सशस्त्र क्रान्तिमा जनकपुर―उदयपुर कब्जा गर्ने मुक्ति सेनाको कमाण्डरका रूपमा काम गरेका थिए। भट्टराई वि.सं. २०१५ सालमा संसदको तल्लो सदन प्रतिनिधि सभाका सभामुख भएका थिए।

भट्टराई वि.सं. २०४६ को जनआन्दोलन पछि गठित अन्तरिम मन्त्रीपरिषदमा पहिलो पटक प्रधानमन्त्री बनेका थिए। नेपाल अधिराज्यको संविधान २०४७  निर्माण गरी लागू गराउने र बहुदलीय प्रतिस्पर्धाको आधारमा संसदीय निर्वाचन गराउने महत्त्वपूर्ण दायित्त्व यिनले सफलता पूर्वक बहन गरेका थिए। तर आफू प्रधानमन्त्री हुँदै गराएको २०४८ को आम निर्वाचनमा यिनी आफू भनें काठमाडौँबाट पराजित भएका थिए। पछि २०५६ को आम निर्वाचनमा विजयी भएपछि पुनः एकपटक प्रधानमन्त्री बनेका थिए।

गान्धीवादी सन्त नेता मानिने भट्टराई दृढ अठोट र संकल्पका धनी व्यक्तित्व मानिन्थे। यिनी स्पष्टवक्ता र सिद्धान्तनिष्ठ नेताका रूपमा चिनिन्थे। हरदम हँसिलो रहने भट्टराईको सेन्स अफ ह्युमर उच्च रहेको थियो। गम्भीर समस्यालाई हल्का रूपमा लिएर पचाउने क्षमता यिनमा रहेको थियो। पदमा बस्दा व्यक्तिगत लाभमा नमुछिएकाले यिनलाई स्वच्छ छवि भएका नेताको रूपमा लिइन्छ।