खेलकुद

शुक्रबारदेखि प्रधानमन्त्री कप राष्ट्रिय महिला क्रिकेट प्रतियोगिता सुरु हुँदै

काठमाण्डौ । राष्ट्रिय खेलकुद परिषद्को आयोजनामा प्रधानमन्त्री कप राष्ट्रिय महिला क्रिकेट प्रतियोगिता इटहरीमा सुरु हुने भएको छ । प्रतियोगिता शुक्रबारदेखि सुरु हुन लागेको हो । प्रतियोगितामा ५ विकास क्षेत्र र विभागीय टोली सशस्त्र प्रहरी बलको एपीएफ क्लब गरी ६ टिमको सहभागिता रहने बिहीबार आयोजित पत्रकार सम्मेलनमा इटहरी क्रिकेट एकेडेमीका अध्यक्ष कैलाश विष्टले जानकारी दिए ।

इटहरी क्रिकेट एकेडेमीको स्थानीय व्यवस्थापनमा सुरु हुन लागेको सो प्रतियोगितामा सहभागी टिमलाई दुई समूहमा विभाजन गरी लिग कम नकआउट आधारमा खेल खेलाइने जनाइएको छ ।

एपीएफ, मध्यपश्चिमाञ्चल र पश्चिमाञ्चल समूह ‘ए’ मा छन् भने पूर्वाञ्चल, मध्यमाञ्चल र सुदूरपश्चिमाञ्चल समूह ‘बी’ मा छन् । दुवै समूहको विजेता र उपविजेता सेमिफाइनलमा पुग्ने छन् ।

विजेताले १ लाख र उपविजेताले ५० हजार नगद पुरस्कार हात पार्ने अध्यक्ष विष्टले बताए । सर्वोत्कृष्ट खेलाडीलाई १० हजार नगदबाट पुरस्कृत गरिने छ भने उत्कृष्ट व्याट्सवोमन र बलरले समान ५–५ हजार नगद पुरस्कार हात पार्नेछन् ।

प्रत्येक टिमलाई तयारीका लागि ५०–५० हजार प्रदान गरिएको जानकारी गराइयो । प्रतियोगिता सञ्चालन गर्न अनुमानित २५ लाख खर्च हुनेछ । पहिलो दिन दुई खेल हुनेछ । उद्घाटन खेल पूर्वाञ्चल र मध्यमाञ्चलबीच हुनेछ भने दोश्रो खेलमा मध्यपश्चिमाञ्चलले पश्चिमाञ्चलको सामना गर्नेछ । खेलहरु इटहरीस्थित डिभीएम ग्लोबल स्कुलमा हुनेछन् ।