अन्तर्राष्ट्रिय

एक महिनाभित्रै इराकमा ३ सय ८५ जनाको मृत्यु

एजेन्सी । इराकका लागि संयुक्त राष्ट्रसङ्घीय मिसनले गत फेब्रुअरी महिना भरीमा इराकमा ३८५ जना नागरिकको मृत्यु भएको जानकारी दिएको छ । मिसनले बुधबार सार्वजनिक गरेको प्रतिवेदनअनुसार फेब्रुअरीमा ६०९ जना घाइते भएका छन् ।

आतङ्ककारीका गतिविधि र हिंसात्मक घटनामा परी उनीहरुको मृत्यु भएको प्रतिवेदनमा उल्लेख छ । तथ्याङ्कमा सुरक्षाकर्मीको सङ्ख्या भने जोडिएको छैन ।

मिसनले यसअघि सार्वजनिक गरेको तथ्याङ्कमा मृत्यु भएका सुरक्षाकर्मीको सङ्ख्या पुष्टी भएको थिएन ।

फेबु्रअरीको तथ्याङ्कमा इराकको पश्चिमी प्रान्त अनबारमा भएको हिंसामा मृत्यु हुनेहरुको सङ्ख्या पनि समावेश गरिएको मिसनले जनाएको छ ।

इराकका लागि राष्ट्रसङ्घीय दुत तथा मिसनका प्रमुख जान कुबिजले आमनागरिकलाई लक्षित गरेर हिंसात्मक घटना गराउन इस्लामिक स्टेट (आईएस) का लडाकु दोषी रहेको बताए ।

सरकारी सेनाले भने आतङ्ककारीबाट आम नागरिकको हत्या नियन्त्रण गर्न प्रयास गर्दा आफ्नो व्यवसायीकताको सम्मान गरेको उनले बताए ।