पु.समाचार

स्ववियु निर्वाचनमा नेविसंघको अग्रता

काठमाडौं । त्रिभुवन विश्वविद्यालयका आंगिक तथा सम्बन्धन प्राप्त क्याम्पसमा बुधबार भएको स्ववियु निर्वाचनमा नेपाल विद्यार्थी संघले अग्रता लिएको छ । करिब दुई सय ३० क्याम्पसमा भएको निर्वाचनको अन्तिम मतपरिणामअनुसार एक सय पाँच क्याम्पसमा विजयी हासिल गरेको नेविसंघका महामन्त्री सरोज थापाले दाबी गरेका छन् ।

त्यस्तै, एमालेनिकट अनेरास्ववियुले ९७ क्याम्पसमा स्ववियु अध्यक्ष जितेको अनेरास्ववियुका सचिव आरसी लामिछानेले जानकारी दिए । शुक्रबारको नयाँ पत्रिकामा लेखिएको छ, माओवादी केन्द्रनिकट अखिल (क्रान्तिकारी) ले ६६ क्याम्पसमा स्ववियु अध्यक्ष जितेको क्रान्तिकारीका प्रवक्ता सुरेन्द्र बस्नेतको भनाइ छ । बुधबारसम्म नेविसंघले ८४, अनेरास्ववियुले ८० र क्रान्तिकारीले ४३ क्याम्पसमा स्ववियु जितेको थियो ।

उपत्यकाका कुन क्याम्पसमा कसले मारे बाजी ?: उपत्यकाका ठूला क्याम्पसमा अखिल क्रान्तिकारीले अग्रता लिएको छ । उसले पुल्चोक इन्जिनियरिङ क्याम्पस, थापाथली इन्जिनियरिङ र सानोठिमी शिक्षा क्याम्पसमा प्यानलै जितेको छ ।

थापाथली इन्जिनियरिङ क्याम्पसमा अखिल क्रान्तिकारीका प्रज्वल खत्री स्ववियु सभापतिमा विजयी भएका छन् । खत्रीले चार सय ४७ मत र उनका निकटतम प्रतिद्वन्द्वी नेविसंघका विकास लामाले दुई सय ७३ मत प्राप्त गरे । सचिवमा क्रान्तिकारीका सरोज लामाले चार सय ३८ मत र अनेरास्ववियुका विष्णुप्रसाद ढकालले दुई सय ६५ मत ल्याए । कोषाध्यक्षमा क्रान्तिकारीका सग्नम पञ्जियार तीन सय पाँच मत ल्याई विजयी भए । उनका निकटतम प्रतिद्वन्द्वी नेविसंघका कपिल पुडासैनीले तीन सय चार मत प्राप्त गरे । सदस्यमा नेविसंघकी निरु चौधरीबाहेक सबै अखिल क्रान्तिकारी नै विजयी भएको छ । सो क्याम्पसमा एक हजार ४३ मत खसेको थियो ।

पुल्चोक इन्जिनियरिङ क्याम्पस: पुल्चोक इन्जिनियरिङ क्याम्पसमा अनेरास्ववियु क्रान्तिकारीका रोशन थापामगर सभापतिमा विजयी भएका छन् । उनले चार सय ९७ मत र अनेरास्ववियुका सुदीप चालीसेले चार सय ३५ मत प्राप्त गरेका छन् ।

सचिवमा अनेरास्ववियुका ओमप्रकाश अधिकारी र कोषाध्यक्षमा प्रतीक न्यौपाने निर्वाचित भए । पुल्चोक इन्जिनियरिङमा तीन–तीनजना अखिल क्रान्तिकारी र अनेरास्ववियु र एकजना नेविसंघबाट निर्वाचित भएका छन् । भक्तपुरस्थित सानोठिमी शिक्षा क्याम्पसमा नेविसंघ र अखिल क्रान्तिकारी संयुक्त प्यानल थियो । जसमा क्रान्तिकारीका रमेश खड्का सभापतिमा निर्वाचित भएका छन् । खड्काले चार सय ६६ र उनका निकटतम प्रतिद्वन्द्वी अनेरास्ववियुका लालबहादुर रोकायाले तीन सय ११ मत प्राप्त गरेका छन् । सचिवमा नेविसंघका रामबहादुर केसी विजयी भएका छन् । केसीले चार सय ३३ मत र अनेरास्ववियुका गोरख केसीले तीन सय ५३ मत प्राप्त गरेका छन् ।

कोषाध्यक्षमा अखिल क्रान्तिकारीकी पार्वती शर्मा विजयी भएकी छन् । उनले चार सय २५ मत र अखिल क्रान्तिकारी विप्लवका मानबहादुर डाँगीले दुई सय ५५ मत प्राप्त गरेका थिए । सो क्याम्पसमा सात सदस्य संयुक्त प्यानलबाटै विजयी भएका छन् ।

भक्तपुर बहुमुखी क्याम्पसमा नेविसंघ र नेक्राविसंघ: भक्तपुर बहुमुखी क्याम्पसमा नेविसंघ र नेक्राविसंघको संयुक्त प्यानल विजयी भएको छ । संयुक्त प्यानलका दिनेश खड्गीले पाँच सय २३ र उनका निकटतम प्रतिद्वन्द्वी अनेरास्ववियुका दीपकबहादुर विष्टले तीन सय सात मत ल्याए । त्यस्तै, सचिवमा संयुक्त प्यानलका विवेक लामिछानेले पाँच सय १२ मत प्राप्त गरेका छन् । उनका प्रतिद्वन्द्वी अनेरास्ववियुका सन्तोष कार्कीले दुई सय ४५ मत प्राप्त गरे । कोषाध्यक्षमा संयुक्त प्यानलकै मिलन गणेजुले चार सय ९९ र उनका प्रतिद्वन्द्वी अनेरास्ववियुकी सुनिता रोकाले दुई सय ४१ मत प्राप्त गरेकी थिइन् । सो क्याम्पसमा सात सदस्य संयुक्त प्यानलबाटै विजयी भएको निर्वाचन अधिकृत शेरसिङ रैखोलाले बताए । उक्त क्याम्पसमा नौ सय ८० मत खसेको थियो ।

जनप्रशासन क्याम्पसमा नेविसंघ: जनप्रशासन क्याम्पसमा नेविसंघका पंकज सुवेदी क्षेत्री सभापतिमा विजयी भएका छन् । उनले एक सय ८७ मत र अनेरास्ववियुका टीकाराम बस्नेतले एक सय ७७ मत प्राप्त गरेका छन् । सचिवमा नेविसंघकै सन्देश आचार्यले दुई सय ५८ र अनेरास्ववियुका सन्तबहादुर तामाङले एक सय १३ मत प्राप्त गरेका छन् । कोषाध्यक्षमा अखिल क्रान्तिकारी (प्रचण्ड) का जगदीश जोशी विजयी भएका छन् । उनले एक सय ९७ मत प्राप्त गरे । अनेरास्ववियुकी शारदा जोशीले एक सय ६० मत प्राप्त गरिन् । पाँचजना सदस्य संयुक्त प्यानलबाटै विजयी भएका छन् । सो क्याम्पसमा नेविसंघ र क्रान्तिकारीले संयुक्त प्यानल दर्ता गरेका थिए ।

मेडिकल क्याम्पस र नर्सिङमा अनेरास्ववियु: महाराजगन्ज मेडिकल क्याम्पसमा अनेरास्ववियुका मिलन गैरे सभापतिमा विजयी भएका छन् । उनले पाँच सय १३ मत र नेविसंघका सन्तोष उपाध्यायले चार सय २२ मत प्राप्त गरेका छन् । प्रत्यक्षतर्फको सचिव पदमा युथ फर इक्वालिटीकी श्वेता महतो विजयी भएकी छन् । उनले चार सय ८३ मत प्राप्त गरेकी छन् । नेविसंघका नरेशप्रसाद जोशीले चार सय २३ मत ल्याए । कोषाध्यक्षमा नेविसंघका केशव आचार्य विजयी भएका छन् । उनले चार सय ७३ मत र युथ फर इक्वालिटीका सञ्जीव शाहले चार सय ५८ मत प्राप्त गरे । सो क्याम्पसमा आठ सदस्य निर्वाचित भएका छन् । सो क्याम्पसमा अनेरास्ववियु, अखिल (क्रान्तिकारी) र युथ फर इक्वालिटीले संयुक्त उम्मेदवारी दर्ता गरेका थिए ।

महाराजगन्ज नर्सिङ क्याम्पसमा अनेरास्ववियुको प्यानल विजयी भएको छ । अनेरास्ववियुकी विमला धमलाले दुई सय २० मत र नेविसंघकी समीक्षा सुवेदीले एक सय १४ मत ल्याएकी छन् । सचिवमा अनेरास्ववियुकी आँचल रेग्मीले दुई सय पाँच र माओवादी केन्द्रनिकट अखिल क्रान्तिकारीकी सुशीला पोखरेलले एक सय २७ मत ल्याइन् । कोषाध्यक्षमा अनेरास्ववियुकी ऋचा घिमिरेले दुई सय ११ र नेविसंघकी पूजा पाण्डेले एक सय २० मत प्राप्त गरेका छन् । ६ सदस्य अनेरास्ववियुबाटै विजयी भएका छन् । सो क्याम्पसमा नेविसंघ र अखिल क्रान्तिकारीले संयुक्त प्यानलमा उम्मेदवारी दर्ता गरेका थिए ।

मेची क्याम्पसमा मतगणना हुन सकेन : झापास्थित मेची क्याम्पसमा एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियुको विरोधका कारण मतगणना रोकिएको छ । अनेरास्ववियुले फर्जी मत खसेको आरोप लगाएको छ । अनेरास्ववियु मतगणना छाडेर नाराबाजीका साथ विरोधमा उत्रिएको छ । स्थिति तनावग्रस्त भएपछि बिहीबार मतगणना नभएको र शुक्रबार सबै विद्यार्थीलाई सहमतिमा ल्याएर मतगणना सुरु गर्ने क्याम्पस प्रमुख कमल गुरागाईंले बताए ।

नेविसंघले जितेका थप २१ क्याम्पस
१. वन अध्ययन विज्ञान संस्थान हेटौँडा : हेमचन्द्र जोशी

२. जनज्योति बहुमुखी क्याम्पस रौतहट : संगम श्रेष्ठ

३. द्रव्य शाह बहुमुखी क्याम्पस गोरखा :प्रवीण बस्नेत

४. आदिकवि क्याम्पस तनहुँ : दुर्गा भण्डारी

५. सोलुखुम्बु क्याम्पस सोलुखुम्बु : विक्रान्त कुलुङ

६. त्रियुगा बहुमुखी क्याम्पस उदयपुर : रोशन कार्की

७. दार्चुला बहुमुखी क्याम्पस दार्चुला : महादेव जोशी

८. धौलागिरी बहुमुखी क्याम्पस बाग्लुङ : मनबहादुर थापा

९. डडेलधुरा शिक्षा क्याम्पस बाग्लुङ : जगत ऐर

१०. कर्णाली बहुमुखी क्याम्पस कालिकोट : नन्दलाल जैसी

११. चन्द्रोदय बहुमुखी क्याम्पस धादिङ  : सुदीप गौली

१२. दमक बहुमुखी क्याम्पस झापा : विनोद चापागाई

१३. हिमाल दिव्य क्याम्पस सोलुखुम्बु : उद्योग राई

१४. परशुराम संस्कृत क्याम्पस डडेल्धुरा : महेश कलौनी

१५. भीमदत्त क्याम्पस डडेल्धुरा : सागर पाठक

१६. माउन्टेन व्यवस्थापन क्याम्पस डडेल्धुरा : प्रेम मल्ल

१७. बायो क्याम्पस पर्सा : सुधीर कर्ण

१८. पूर्वाञ्चल इ.क्याम्पस सुनसरी : सञ्जय यादव

१९. शुक्लाफाँटा जनता क्याम्पस कञ्चनपुर : रवीन्द्र चौधरी

२०. अपी कलेज दैलेख : दानबहादुर शाही

२१. लमजुङ कृषि क्याम्पस लमजुङ : निरज दाहाल

अनेरास्ववियुले जितेका १७ क्याम्पस
१. मस्याम एकीकृत क्याम्पस पाल्पा : पुरन विक
२. सिम्ता बहुमुखी क्याम्पस सुर्खेत : घनश्याम बस्नेत
३. पिण्डेश्वर विद्यापीठ : नीलमणि पोखरेल
४. एड्भान्स इन्जिनियरिङ क्याम्पस : गौरव थापा
५. जनज्योति बहुमखुखी क्याम्पस लालबन्दी : कुलप्रसाद गौतम
६. देवदह बहुमुखी क्याम्पस : कृष्ण पौडेल
७. काठमाडौं इन्जिनियरिङ क्याम्पस कालिमाटी : पूर्ण खड्का
८. टीकापुर बहुमुखी क्याम्पस : सुरेश शर्मा
९. सिद्धार्थ क्याम्पस कपिलवस्तु : सुशील खत्री
१०. भीमोदय बहुमुखी क्याम्पस गोरखा : राजेन्द्र भट्ट
११. यज्ञोदय दूधनाथ थारू बहुमुखी क्याम्पस रूपन्देही : शम्भु थारू
१२. रेसुंगा बहुमुखी क्याम्पस गुल्मी : श्रीराम महत
१३. कोटेश्वर बहुमुखी क्याम्पस : माधव अधिकारी
१४. बागेश्वरी क्याम्पस कोहलपुर : दिनेश केसी
१५. महाराजगन्ज मेडिसिन क्याम्पस : दिनेश गैरे
१६. दिव्यज्योति बहुमुखी क्याम्पस नवलपरासी : प्रकाश पाण्डे
१७. पूर्वाञ्चल ई. क्याम्पस हात्तीसार : सौरभ सञ्जेल

अखिल क्रान्तिकारीले जितेका २३ क्याम्पस
१. थापाथली इन्जिनियरिङ क्याम्पस : प्रज्वल खत्री
२. सानोठिमी शिक्षा क्याम्पस भक्तपुर : रमेश खड्का
३. विश्वनिकेतन क्याम्पस काठमाडौं : कपिल दाहाल
४. लिकु क्याम्पस डोल्पा : योगेन्द्र बुढा
५. थर्पु क्याम्पस पाँचथर : ज्योति काङवाङ
६. गरुवा क्याम्पस इलामः सरिता लिम्बू
७. कालिका बहुमुखी क्याम्पस झापा : खगेन्द्र सुवेदी
८. चकरघट्टी क्याम्पस सुनसरी : बुद्रोस लिम्बू
९. मोती क्याम्पस झापा : विपिन बस्नेत
१०. रंगनाथ कलेज मोरङ : ताजिम अन्सारी
११. वेतना कलेज मोरङ : प्रकाश चौधरी
१२. जनसेवा बहुमुखी क्याम्पस बाँके : रामसिंह थारू
१३. गल्फा बहुमुखी क्याम्पस हुम्ला : जल बुढा
१४. चतुर्देव विष्णुपूर्ण बहुमुखी क्याम्पस मुगु : नवराज कार्की
१५. तेह्रथुम बहुमुखी क्याम्पस तेह्रथुम : प्रेमबहादुर फोम्बो
१६. ह्यातुङ झरना क्याम्पस तेह्रथुम : युवराज गौतम
१७. जनज्ञानकुञ्ज क्याम्पस जाजरकोट : विष्णु बिसी
१९. सहयोगी क्याम्पस गोकर्ण काठमाडौं : संग्राम रानामगर
२०. शिवपुरी क्याम्पस शिवपुरी : सुजन तामाङ
२१. सदाशिव बहुमुखी क्याम्पस बर्दिया : शिला थारू
२२. कृण्ण वर्णेश्वर क्याम्पस रामेछाप : मञ्जिल मोक्तान
२३. मरिन बहुमुखी क्याम्पस सिन्धुली : नेत्र नेपाली

पद्मकन्यामा नेविसंघको रिले अनशन 
बागबजारस्थित पद्मकन्या क्याम्पसमा स्ववियु चुनाव हुनुपर्ने माग राख्दै नेविसंघका विद्यार्थीले रिले अनशन सुरु गरेका छन् । स्ववियु चुनाव गर्न क्याम्पसमा सहज वातावरण हुँदा पनि क्याम्पस प्रशासनले विभिन्न बहाना बनाएर चुनाव गर्न नचाहेको नेविसंघकी केन्द्रीय सदस्य रमा थापाले आरोप लगाइन् । क्याम्पस प्रशासनले चुनावी वातावरण नबनाएसम्म अनशन जारी राख्ने उनको भनाइ छ । अनशन बस्नेमा नेविसंघ केन्द्रीय सदस्यद्वय कौशिला भट्ट, रमा थापा, पद्मकन्या क्याम्पस एकाइ कोषाध्यक्ष अर्पणा खड्का र नेतृ तेजकला उप्रेती छन् ।