राजनीति

निर्वाचनका लागि कडा आचारसंहिता जारी

काठमाण्डौ । निर्वाचन आयोगले स्थानीय तहको निर्वाचन प्रचारप्रसारमा जान नपाउने आचारसंहिता लागू गरेपछि मन्त्रीहरू असन्तुष्ट भएका छन् । आयोगले बुधबार गरेको छलफलमा मन्त्रीहरूले राजनीतिक दायित्व बन्देज गर्न खोजिएको आरोप लगाएका हुन्। निर्वाचनमा दुईवटा गाडी मात्रै प्रयोग गर्न पाउने आचारसंहिता जारी गरेकोमा पनि मन्त्रीहरूको असन्तुष्टि छ।

बिहीबारको नयाँ पत्रिकामा लेखिएको छ, आचारसंहिता लागू भएपछि जिल्ला सदरमुकामभन्दा बाहिर जान नपाउने व्यवस्थाप्रति पनि उनीहरूले असहमति जनाएका छन्। सबै मन्त्रीले शिलान्यास र उद्घाटनमा सहभागी हुन पाउनुपर्ने मागसमेत राखेका थिए। जिल्लाबाट उद्घाटन र शिलान्यासका निम्ता आउने गरेकाले ती कार्यक्रममा सहभागी हुन पाउनुपर्ने उनीहरूको भनाइ थियो।

घर पनि जान नपाउनू  ? 
निर्वाचन क्षेत्रमा रहेको घरमा पनि जान नपाउने गरी आचारसंहिता बनाउन नमिल्ने मन्त्रीहरूको तर्क छ। ‘घरमा गएर श्रीमती, छोराछोरीलाई भेट्न नपाइने हुन्छ ?’ महिला बालबालिका तथा समाजकल्याणमन्त्री कुमार खड्काले भने। भूमिसुधारमन्त्री विक्रम पाण्डे, स्थानीय विकासमन्त्री हितराज पाण्डे, सहरी विकासमन्त्री अर्जुननरसिंह केसीलगायतले पनि स्थानीय तहको निर्वाचनमा जान पाउनुपर्ने तर्क गरेका थिए।

हेलिकोप्टर चढ्न पाउनुपर्छ
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनबहादुर शाहीले दुर्गम क्षेत्रमा निर्वाचनका क्रममा हेलिकोप्टर प्रयोग गर्न पाउनुपर्ने बताएका थिए। उनले भने, ‘दुर्गम क्षेत्रमा दुईवटा घोडा प्रयोग गर्न पाउने भनिएको छ। त्यतिले हुँदैन, हेलिकोप्टर पनि प्रयोग गर्न पाउनुपर्छ।’

मन्त्रालयमा सम्पर्क व्यक्ति तोकिने
निर्वाचन आयोगले विभिन्न मन्त्रालयका सचिवसँग पनि आचारसंहिता कार्यान्वयनबारे बुधबार छलफल गरेको छ। मुख्यसचिव डा। सोमलाल सुवेदीले प्रत्येक मन्त्रालयमा निर्वाचन सम्पर्क व्यक्ति तोकेर निर्वाचन आयोगबाट मन्त्रालयमा प्राप्त निर्देशन जिल्ला तथा स्थानीय तहसम्म कार्यान्वयन गरिने बताएका छन् ।

कुन–कुन सवारी चलाउन पाइने ? 
महानगरपालिकाका प्रमुख र उपप्रमुखका उम्मेदवारले निर्वाचन प्रचारप्रसारमा बढीमा दुईवटा चारपांग्रे हलुका सवारीसाधन र दुईवटा मोटरसाइकल पाउनेछन्। वडाअध्यक्ष तथा सदस्यका उम्मेदवारले एउटा चारपांग्रे हलुका सवारीसाधन र एउटा मोटरसाइकल प्रयोग गर्न पाउने गरी आयोगले आचारसंहिता बनाएको छ। उपमहानगरपालिका र नगरपालिकाका प्रमुख, उपप्रमुख, वडाअध्यक्ष तथा सदस्य र गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, वडाअध्यक्ष तथा सदस्यका उम्मेदवारले निर्वाचन प्रचारप्रसारका लागि बढीमा एउटा चारपांग्रे हलुका सवारीसाधन र दुईवटा मोटरसाइकल प्रयोग गर्न पाउनेछन्। सवारीसाधन नचल्ने ठाउँमा बढीमा दुईवटा घोडा प्रयोग गर्न सक्ने आचारसंहितामा छ। एउटा उम्मेदवारको नाममा स्वीकृत वा प्रयोग भएको सवारीसाधन अन्य उम्मेदवारले प्रयोग गर्न वा गराउन नहुने पनि व्यवस्था छ।