पु.समाचार

उपप्रधानमन्त्रीको बरियता बिबादले यसरी क्याबिनेट बैठक समेत बस्न सकेन

काठमाडौं । उपप्रधानमन्त्रीको वरियतामा गृहमन्त्री विमलेन्द्र निधिले आफ्नो दाबी गरे पनि प्रधानमन्त्री पुष्पकमल दाहाल स्थानीय विकासमन्त्री कमल थापाका पक्षमा उभिएका छन् । तर, औपचारिक रूपमा त्यसको घोषणा नभएका कारण मन्त्रिपरिषद्को बैठकसमेत प्रभावित भएपछि प्रधानमन्त्री दाहालले कांग्रेस सभापति शेरबहादुर देउवासँग निधिलाई सम्झाउन आग्रह गरेको स्रोतले जानकारी दिएको छ ।

“मैले कमल थापाजीलाई यसअघि नै उपप्रधानमन्त्री भइसकेको हुनाले दोस्रो मर्यादामा राख्ने प्रतिबद्धता गरेको थिएँ, अहिले समस्या देखियोु, देउवासँगको भेटमा प्रधानमन्त्री दाहाललाई उद्धृत गर्दै स्रोतले भन्यो, यसमा तपाईंले सम्झाइदिनुपर्यो ।”

“उपप्रधानमन्त्रीसँग नै कुरा गरेर सहमतिमै टुंग्याउनुस्” भन्ने जबाफ देउवाले दिएका थिए । दाहालले देउवासँग “यस विषयमा छलफल गरी मिलाउँछुु भन्ने प्रतिबद्धता गरेका थिए । “प्रधानमन्त्रीले सहमति गरेर मर्यादाक्रम मिलाउँछु भन्नुभएको छु, देउवाका निजी सचिव भानु देउवाले अन्नपूर्णसँग भने ।

पहिलो नम्बरको उपप्रधानमन्त्री को हुने भन्ने विवादका कारण मन्त्रिपरिषद् बैठक नै प्रभावित भएको छ । अन्नपूर्ण पोष्टका अनुसारप्रधानमन्त्री चीन भ्रमणबाट फर्किएको र नियमित मन्त्रिपरिषद् बैठक हुने दिन भएकाले पनि बिहीबार मन्त्रीहरू बैठकको खबर कुरेर बसेका थिए । तर साँझसम्म पनि मन्त्रिपरिषद् बैठक बस्ने खबर नआएपछि उनीहरूले उपप्रधानमन्त्री वरियताक्रममा को माथि हुने भन्ने विवाद चुलिएको थाहा पाएका थिए।

उपप्रधानमन्त्रीबीच देखिएको विवाद चुलिएर मन्त्रिपरिषद् बैठक नै बस्न नसक्ने अवस्थामा पुगेपछि त्यस विषयमा छलफल गर्न प्रधानमन्त्री दाहाल बिहीबार साँझ कांग्रेस सभापति देउवालाई भेट्न उनकै निवास बूढानीलकण्ठ पुगेका थिए ।

सरकारमा उपप्रधान एवं स्थानीय विकासमन्त्रीसहित थापा सहभागी भएपछि एउटा मात्रै मन्त्रिपरिषद् बैठक बसेको छ । उक्त बैठकमा अर्का उपप्रधानमन्त्री निधि भारत भ्रमणमा थिए । आफू सत्ताको सबैभन्दा ठूलो दलको नेतृत्व गरी सरकारमा सहभागी भएकाले आफू मर्यादाक्रममा अघि हुनुपर्ने तर्क निधिको छ । अर्का उपप्रधानमन्त्री थापाले आफू निधिभन्दा पहिला नै उपप्रधानमन्त्री भइसकेकाले आफू मर्यादाक्रममा निधिभन्दा माथि हुनुपर्ने दाबी गर्दै आएका छन् । दुवैले आफू मर्यादाक्रममा दोस्रो हुनुपर्ने अडान नछाडेपछि मन्त्रिपरिषद् बैठक प्रभावित भएको हो ।

स्रोतका अनुसार दुवै उपप्रधानमन्त्रीले आफूलाई दोस्रो मर्यादामा नराखे राजीनामासम्म दिने चेतावनी प्रधानमन्त्रीलाई दिइसकेका छन् ।देउवासँगको भेटमा प्रधानमन्त्री दाहालले चुनावका विषयमा सरकारले गरेको तयारीका विषयमा पनि छलफल गरेका थिए । स्रोतका अनुसार एक साताभित्र मधेसी मोर्चासँग सहमति गरी चुनावमा अघि बढ्ने तयारीमा सरकारमा सहभागी दलहरू छन् ।
प्रधानमन्त्रीसँग भेट गर्नुअघि देउवाले तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरसँग पनि भेट गरेका थिए । उनकै निवास बूढानीलकण्ठमा भएको भेटमा एक साताभित्र संविधान संशोधन संसद्मा अघि बढाउन ठाकुरले देउवासँग आग्रह गरेका थिए ।

कांग्रेसले मधेसी मोर्चाको माग सम्बोधन गर्दै संशोधन प्रस्ताव पारित गर्ने पार्टीको औपचारिक निर्णय आइसकेको भन्दै त्यस विषयमा एमालेलगायत अन्य दलसँग पनि छलफल गरेर अघि बढ्ने देउवाले बताएका थिए । देउवाले छिट्टै मधेसी मोर्चा र सरकारकाबीच छलफल गरी संविधान संशोधन विधेयक अघि बढाउने प्रतिबद्धता ठाकुरसँग गरेका छन् ।

“संविधान संशोधन भए चुनावका लागि हामी तयार छौुं, देउवासँगको भेटमा ठाकुरको भनाइ उद्धृत गर्दै स्रोतले जानकारी दियो, “तर यत्तिकै अल्झाउने हो भने चुनाव सम्भव छैन ।”मर्यादाक्रम विवाद चुलिएर मन्त्रिपरिषद् बैठक नै बस्न नसक्ने अवस्था बनेपछि प्रधानमन्त्री पुष्पकमल दाहालले बिहीबार साँझ कांग्रेस सभापति शेरबहादुर देउवासँग छलफल गरेका छन् ।