खेलकुद

पाँचौं एसियाली विद्यालयस्तरीय हक्की प्रतियोगिताका लागि खेलाडी छनोट

काठमाण्डौ । पाँचौं एसियाली विद्यालयस्तरीय हक्की प्रतियोगिताका लागि नेपाल हक्की संघले १८ पुरुष खेलाडी छनोट गरेको छ । मध्यपश्चिमाञ्चल बाहेक ४ क्षेत्रका ४० खेलाडी सहभागी छनोट प्रतिस्पर्धाबाट अन्तिम १८ पुरुष खेलाडीको छनोट गरिएको हक्की मुख्य प्रशिक्षक अश्विनी अधिकारीले जनाएका छन् । छनोट प्रतिस्पर्धा हेटौंडामा भएको थियो ।

कञ्चनपुरबाट सर्वाधिक ६ खेलाडी छनोट हुन सफल भए । झापाबाट ४ खेलाडी छनोट भए । त्यस्तै कास्की, पर्सा, धनुषा र मकवानपुरबाट समान २–२ खेलाडी टोलीमा अटाए ।

कञ्चनपुरबाट राजेश विष्ट, गणेश टमाटा, भीमदत्त भट्ट, दीपकराज जोशी, महेन्द्र कार्की र राजेन्द्र कार्की रहेका छन् । सन्तोष मुर्मी, अशोक पौडेल, मनोज चौधरी र चिरण प्रधान झापाबाट छनोट हुन सफल भए । कास्कीबाट राजन नेपाल र प्रेम विक, पर्साबाट अर्जुन खड्का र अभिषेक पुरी, धनुषाबाट प्रवेश आलाम र यशराज शर्मा तथा मकवानपुरबाट सन्तलाल न्यासुर र निश्चल थापा छन् ।

भारतको भोपालमा अप्रिल ४ देखि १० तारिखसम्म हुने लिग कम नकआउट प्रतियोगितामा ८ राष्ट्रको सहभागिता रहने मुख्य प्रशिक्षक अधिकारीले बताए । नेपाल रहेको समूह ‘बी’ मा सिंगापुर, थाइल्यान्ड र भारत छन् । समूह ‘ए’ मा मलेसिया, श्रीलंका, चीन र युएई छन् । समूहको शीर्ष दुई टोली सेमिफाइनमा पुग्ने छन् ।

प्रमुख प्रशिक्षकमा अधिकारी, सहायक प्रशिक्षकमा रविन्द्र सिंह र टिम व्यवस्थापकमा ज्ञानेन्द्र खड्का तोकिएका छन् । खेलाडीलाई बन्द प्रशिक्षणका लागि हेटौडामै राखिएको छ । यु–१८ उमेर समूहको प्रतियोगितामा सहभागी चैत १९ गते टोली भोपाल प्रस्थान गर्ने कार्यक्रम छ ।