राजनीति

यसरी बन्ने भो डा.प्रकाशचन्द्र लोहनीको नयाँ पार्टी, यी हुन पार्टी नेतृत्व गर्ने ३ ठुला नेता

काठमाण्डौ । केही दिनअघि राप्रपाबाट बाहिरिएका डा. प्रकाशचन्द्र लोहनीले नयाँ पार्टी निर्माण गरेका छन् । पूर्व पञ्च केशरबहादुर विष्टसँग मिलेर डा. लोहनीले एकीकृत  राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी)को गठन गरेका हुन् । हाल कमल थापा नेतृत्वको राप्रपाबाट असन्तुष्ट भएकाहरुले नयाँ पार्टी निर्माण गरेका हुन् । विष्ट समेत यसअघि राप्रपा नेपालले कारबाही गरेका नेता हुन् ।

डा. लोहनीको नेतृत्वमा निर्माण भएको सो पार्टीको औपचारिक घोषणा भने बुधबार हुने श्रोतले बताएको छ । पार्टी घोषणा हुनु केहीबेर अघि निर्वाचन आयोगमा दल दर्ताको काम हुने जनाइएको छ ।

नयाँ पार्टी संरचनामा डा.लोहनीको नेतृत्व रहने र त्यसपछिको तहगत रोलक्रममा  केशरबहादुर विष्ट वरिष्ठ नेता र अर्का नेता गणेश शेरचन उपाध्यक्ष हुने जनाइएको छ । शेरचन राप्रपामा छँदै राप्रपा समानान्तर गठन गरेर बसेका नेता हुन । डा.लोहनीले सबै असन्तुष्ट नेताहरुलाई आफ्नो पार्टीमा जोड्ने कोशिस गर्नुभएको देखिन्छ ।

सो पार्टीको झण्डा र चुनाव चिन्ह हलो हुने भएको छ भने नारा ‘समावेशी राष्ट्रियता, बहुलवादी प्रजातन्त्र र प्रगतिशील उदारवाद’ रहने भएको छ ।