राजनीति

श्रीलंकामा नेपालको बेइज्जत, कोलम्बोबाटै एमाले नेता भट्टराईले राखे नेपाल सरकारसँग कडा माग !

काठमाण्डौ । नेपालको अन्तर्राष्ट्रिय कुटनीतिक संयन्त्र निकै फितलो हुने गरेका खबरहरु त बारम्बार बाहिर आइरहेकै छन् । नेपाल अझै विकाशोन्मुख मुलुकको चरणमा रहेकोले पनि विकसित राष्ट्रहरुसँग गरिने कुटनीतिक व्यवहारहरुमा समेत प्रभाव परेको बताइन्छ । तर त्यति मात्र होइन, नेपालले जुन–जुन मुलुकमा कुटनीतिक सम्बन्ध राख्ने गरेको छ र तयारी गर्ने गरेको छ, ती मुलुकहरुमा भएको व्यवस्थापन हेर्दा निकै लथालिङ देखिने गरेको उदाहरणहरु प्रसस्त पाइने गरेका छन् ।

थुप्रै मुलुकहरुमा कोठा भाडामा लिएर नेपाली राजदूतावासहरु चलिरहेका छन् । त्यसैले यो विषय नेपालका लागि निकै गम्भीर र अन्तर्राष्ट्रिय मुलुकहरुका अघि इज्जत दर प्रतिष्ठाको विषय समेत बन्दै गएको देखिन्छ । यसै सन्दर्भमा भर्खरै नेपालसँग निकै वर्षअघिदेखि मित्रवत सम्बन्ध गाँसिदै आएको मित्रराष्ट्र श्रीलंकामा रहेको नेपाली राजदूतावास र त्यहाँ जोडिएको एउटा प्रसंगलाई हामीले यहाँ प्रस्तुत गरेका छौ ।

वास्तवमा यसबेला नेकपा एमालेका केन्द्रीय सचिव योगेश भट्टराई यसबेला श्रीलंकाको राजधानी कोलम्बो भमणमा रहेका छन् । नेता भट्टराईले त्यहाँ रहेको नेपाली राजदूतावास र त्यहाँको अवस्थालाई देखेर निकै मार्मिक र हृ्रदयविदारक टिप्पणी गरेका छन् । राजदूतावास भवनको निकै लामो समयदेखिको नाजुक अवस्था र नेपाल सरकारले त्यसप्रति दिन नसकेको चासोप्रति तिखो व्यंग्य गर्दै उनले त्यसको राम्रो व्यवस्थापन गर्न माग समेत गरेका छन् ।

विदेशमा नेपालको परिचय दिने र नेपालको इज्जत बढाउने काम त्यहाँ रहेका दूतावासहरुले गर्नुपर्ने कर्तव्य समेत रहेको बताउँदै उनले त्यसको तत्काल पुनर्संरचना गर्न नेपाल सरकारसँग माग गरेका हुन् । आफ्नो मुलुकको कुटनीतिक नियोगनै यस्तो भएपछि विदेशीहरुलाई नेपालको बारेमा बताउन समेत लाज लाग्ने अवस्था देखिएको भन्दै उहाँले केही वर्षअघि सरकारले लिएको जमिनमा भवन निर्माणको काम तत्काल अघि बढाउन माग गरेका छन् ।

यस्तो छ कोलम्बोमा अवस्थित नेपाली दूतावासको अवस्था !
अन्य मुलुकमा जस्तै श्रीलंकामा पनि नेपालको राजदूतावास रहेको छ । निकै लामो समयदेखि कुटनीतिक सम्बन्धको इतिहास जोडिएका नेपाल र श्रीलंकाबीचको पछिल्लो सम्बन्ध समेत निकै सुमधुर रहेको देखिन्छ । तर नेपालले राजदूत नियुक्त गरेर पठाएको व्यक्तिले चलाउने कुटनीतिक प्रशाशनिक भवन र त्यहाँको अवस्था भने निकै दयनीय देखिन्छ । करिब २५ वर्षअघि भाडामा लिएको सानो घरबाट नेपाल र श्रीलंकाबीचको कुटनीतिक सम्बन्ध र गतिविधिहरु अघि बढिरहेको छ ।

सानो भवन जहाँ, एउटा बैठक कोठा समेत भेटिन नसक्ने भन्दै नेता भट्टराईले त्यहाँको दुर्दशाबारे आफ्नो फेसबुक स्टाटस्मा कमेन्ट लेखेरै नेपाल सरकारको ध्यानाकर्षण गराएका छन् । नेपाली दूतावासले केही वर्षअघि कोलम्बोको प्राइम लोकेसनको १९८५ नम्बर ब्लकमा राजदूतावास भवन बनाउन जग्गा समेत लिएको छ तर सरकारको बेवास्ताका कारण त्यो काम हुन नसकेको बताइएको छ । नेता भट्टराई राजदूतावासमा पुगेका बेला सबै श्रीलंकाका लागि नेपालका राजदूत थिएनन् ।

उनले कार्याबाहक राजदूत धनकुमारी जोशी लगायत कार्यालयका अन्य कर्मचारीहरुसँग भेटघाट गरेर सो समस्याका बारेमा छलफल गरेका थिए । छलफलका क्रममा समस्याको समधान गर्न नेपाल सरकारलाई आफु र आफ्नो पार्टीको तर्फबाट पहल गर्ने समेत उनले प्रतिबद्धता व्यक्त गरेका थिए ।