खेलकुद

शनिबारदेखि ४८ औं राष्ट्रिय कराते प्रतियोगिता हुँदै

काठमाण्डौ । शनिबारदेखि राजधानीमा ४८ औं राष्ट्रिय कराँते प्रतियोगिता हुने भएको छ । बौद्धनाथ क्षेत्र विकास समितिको प्रायोजन तथा नेपाल सितोरियो कराते संघ, शाखा डोजो बौद्धको आयोजनामा सो प्रतियोगिता हुने भएको हो ।

सो प्रतियोगितामा मुलुकका पाँच विकास क्षेत्र, नेपाली सेना, प्रहरी, एपीएफ क्लब र आयोजकको एकसहित ९ टिमको सहभागिता रहने मूल आयोजक समितिका संयोजक देवकुमार लामाले जनाएका छन् ।

प्रत्येक टिमबाट २२ का दरले १ सय ९८ खेलाडीको सहभागिता रहने समितिका सह–संयोजक मजिन्द्र सिंहले आइतबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए ।

प्रतियोगितामा पुरुषमा ९ र महिलामा ८ गरी १७ स्पर्धामा प्रतिस्पर्धा हुने जनाइएको छ । पुरुषमा ५०, ५५, ६०, ६७, ७५, ८४, ८४ माथि तौलसमूह तथा एकल काता र टिम कातामा खेल हुनेछ । महिलामा ४५, ५०, ५५, ६१, ६८, ६८ माथि वजन समूह तथा एकल र टिम कातामा प्रतिस्पर्धा हुनेछ ।

पत्रकार सम्मेलनमा नेपाल कराते महासंघका अध्यक्ष दावा गुरुङले १३ औं दक्षिण एसियाली खेलकुद र जापानमा २०२० मा हुने ओलम्पिकका लागि खेलाडी पहिचान गर्न प्रतियोगिता महत्वपूर्ण सावित हुने धारणा व्यक्त गरे ।

२४ लाख खर्च हुने अनुमान गरिएको प्रतियोगितामा पहिलो हुने टिमले ३० हजार, दोश्रोले २० हजार र तेश्रोले १० हजार नगद पुरस्कार पाउने जनाइएको छ ।

प्रतियोगितालाई सफलतापूर्वक सम्पन्न गर्न देवकुमार लामा र चन्दमान लामाको संयोजकत्वमा मूल आयोजक समिति गठन गरिएको छ । त्यस्तै, विभिन्न ५ उप समिति पनि गठन गरिएको छ । उपसमितिको व्यवस्थापनमा दोर्जे लामा र कृष्ण मोक्तान,प्रचार–प्रसारमा गजेन्द्रबहादुर खपाङ्गी, निर्णायकमा राजेन्द्र कपाली, स्वयमसेवकमा सानुभाइ लामा र आर्थिकमा ज्ञानबहादुर मोक्तानलाई संयोजक चयन गरिएको छ ।

बौद्धनाथ क्षेत्रको पर्यटन विकास र प्रवद्र्धनमा थप टेवा पु¥याउने उद्देश्यले हुन लागेको तीनदिने प्रतियोगिताका खेलहरु बौद्धस्थित महेन्द्र माविमा हुने आयोजक पक्षले जनाएको छ ।