राजनीति

गृहमन्त्री निधिले आफ्नै पहलमा गरे एउटा नमुना काम, जुन कामले पीडितको आँसु पुछियो !

बिमलेन्द्र निधी

काठमाण्डौ । करिब ६ वर्षअघि भारतीय सीमा सुरक्षा बलको गोली प्रहारबाट मृत्यु भएका मोरङका बासुदेव साहका परिवारलाई सरकारले दश लाख रुपैया राहात प्रदान गरेको छ । सोमबार उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले पीडित परिवारलाई दश लाख रुपैया बराबरको चेक हस्तान्तरण गरेका हुन्। मोरङ अमाहीवरियाती–७ खरबनाका साहमाथि ६ वर्ष अघि भारतीय सीमा सुरक्षा बलका एकजना इन्सपेक्टरले प्रहार गरेको गोली लागी मृत्यु भएको थियो ।

औपचारिक कार्यक्रमको आयोजना गरी वितरण गरिएको सो राहत रकम लिन साहको परिवारका सदस्यहरु आएका थिए ।
कार्यक्रममा बोल्दै गृहमन्त्री निधिले विगत ६ वर्षअघि घटेको सो घटनालाई केही दिनअघि कञ्चनपुरमा घटेको घटनाले ब्युँताइदिएको बताए ।


कञ्चनपुरका गोविन्द गौतमका परिवारलाई सरकारले राहात दिएको सुन्ने वित्तिक्कै सामाजिक सञ्जालमार्फत साहलाई पनि राहात दिनुपर्ने भन्दै आफुमाथि पनि चर्को दबाब आएको बताउँदै गृहमन्त्री निधिले त्यसपछि आफुले यो घटनाको विषयमा पनि पहल लिएको स्पष्ट पारे ।

करिब ७ वर्षअघिको यो घटनाको फाइल गृहमन्त्रालयमा बेवारिसे भएर बसेको र त्यसलाई आफ्नो पहलमा पास गरेको बताउँदै गृहमन्त्री निधिले साहको परिवारले न्याय पाउनुपर्ने बताए । गृहमन्त्री निधिको यो कामलाई पूर्वाञ्चलवासीहरुले नमुनाको रुपमा हेरेका छन् ।
साहलाई २०६७ साल जेठ ११ भारतीय सिमा सुरक्षा बलका इन्सपेक्टर हितेन्द्र साहले गोली हानी हत्या गरेका थिए ।