राजनीति

कांग्रेस केन्द्रीय कार्य समिति बैठक, यसरी हुँदैछ अन्तिम निर्णय

काठमाण्डौ । आइतबार लामो समयदेखि बस्न नसकेको कांग्रेस केन्द्रीय समितिको बैठक बस्दैछ । पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्न लागेको सो बैठक पार्टीभित्र दुई पक्षबीच टकराव देखिएको बेला बस्न थालेको हो । बैठकमा पार्टी सभापति शेरबहादुर देउवाले कार्य सम्पादन समिति गठनको प्रस्ताव पेश गर्ने तयारी गरिहेका छन् । लामो समयदेखि थाती रहेको पार्टीको कार्यसम्पादन समितिका सदस्यहरुको नाम केन्द्रीय कार्य समितिमा पेस गरेर अनुमोदन गनुपर्ने नियम छ ।

त्यस्तै, बैठक आगामी निर्वाचनमा समेत केन्द्रीत हुने श्रोतले जनाएको छ । नयाँ संरचना अनुसार पार्टी संरचना निर्माणका सवालमा समेत बैठकमा छलफल हुँदैछ । यसअघि चैत १० गते बस्ने भनिएको बैठक आइतबार सम्मका लागि स्थगित भएतापनि आज भने बैठक बसे निश्चित भएको श्रोतले बताएको छ ।

पौडेल पक्ष आक्रामक
निकै लामो समयदेखि बस्न नसकेको कांग्रेस केन्द्रीय समिति बैठक आइतबार बस्दैछ, बैठकमा पौडेल पक्ष संस्थापन पक्षसँग आक्रमक हुने अनुमान गरिएको छ । पार्टीभित्र देखिएको गुटगत अराजकताले काम गरेको र केन्द्रीय कार्यसमितिमा मनोनयन हुने सदस्यहरुको विषयमा पनि अर्को समुह निकै आक्रामक देखिदै आएको छ । आइतबारको बैठकमा उपसभापति, महामन्त्री र सह–महामन्त्री नियुक्त गर्ने, विभाग र कार्यसम्पादन समितिको मनोनयन गर्ने लगायतका विषयमा चर्को बहस हुने सम्भवना छ । एकवर्ष अघिदेखिनै यी विषयहरुमा सभापति देउवाले निर्णय गर्न नसक्दा पार्टीभित्र अन्यौल देखिएको छ । त्यसकारण पनि रामचन्द्र पौडेल पक्ष निकै आक्रमक देखिने सम्भावना नजिकै छ ।

पार्टीभित्रको एउटा पक्षले देउवाले यी काम आफ्नो नेतृत्वको सरकार निर्माण नभएसम्म नगर्ने बुझिरहेको छ भने देउवाका पछिल्ला मौन गतिविधिले समेत यसलाई पुष्टि गर्ने काम भएको छ । लामो समयदेखि कोइराला परिवारको नेतृत्वको प्रभावका रहेको कांग्रेसभित्र देउवाको नेतृत्व आएपनि सन्तुलित समितिहरु निर्माण हुन सकेका छैनन् ।

स्थानीय प्रतिनिधि छनौटमा रस्साकस्सी
स्थानीय तहको निर्वाचनको मिति नजिकिदै गर्दा कांग्रेसले यो बैठकमा स्थानीय पार्टी प्रतिनिधिहरु छनौटको मापदण्ड समेत निर्माण गर्ने तयारी गर्दैछ । स्थानीय पार्टी संरचनालाई रुपान्तरण गर्दै प्रतिनिधिहरुको छनौट गर्दा पार्टीभित्रका दुई पक्षबीच निकै रस्साकस्सी पर्ने सम्भावना समेत देखिदैछ । यसमा विशेषगरी सभापति शेरबहादुर देउवा र रामचन्द्र पौडेलबीचको समुहबीच रस्साकस्सी बढ्ने देखिन्छ । कांग्रेसको यही बैठकबाट स्थानीय निर्वाचनको मापदण्ड र दृष्टिकोण निर्माण हुने निश्चित छ, जसले जित–हारको समेत सुनिश्चत गरिदिने प्रस्ट छ ।