खेलकुद

भेट्रान कपमा ब्वाइज स्पोर्ट्स सेमिफाइनलमा प्रवेश

काठमाडौं । दोश्रो नेपाल कप भेट्रान फुटबल प्रतियोगितामा ब्वाइज स्पोर्ट्स क्लब शनिबार सेमिफाइनलमा प्रवेश गरेको छ । लगनखेलस्थित बुद्धि विकास मण्डलको खेल मैदानमा भएको प्रतिस्पर्धामा ब्वाइज स्पोर्ट्ले रुपन्देही युनाइटेड, बुटवललाई टाइब्रेकरमा ३–२ गोलले पराजित गर्दै सेमिफाइनल पुग्ने पहिलो टोली बनेको हो ।

निर्धारित ७० मिनेटको खेल १–१ को बराबरीमा सकिएको थियो । त्यसअघि खेलको ८ औं मिनेटमा रुपन्देहीका विनोद गौतमले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । सविन शाक्यले २३ औं मिनेटमा बराबरी गोल फर्काएका थिए । त्यसपछि खेलको निर्णय सीधै पेनाल्टी सुट आउटबाट गरिएको थियो ।

स्पोर्ट्स फर अल क्लब, नेपाल र राष्ट्रिय खेलकुद संघ नेपालद्वारा संयुक्त आयोजित प्रतियोगिताअन्तर्गत आइतबार डिफेन्डिङ च्याम्पियन त्रिभूवन आर्मी क्लब र ढोलाहिटी युथ क्लब भिड्ने छन् ।