समाचार

विमानस्थलबाट डलरसहित भिक्षुणी पक्राउ

काठमाडौं । तीन करोड भन्दा बढी नेपाली रुपैयाँ बराबरको डलर र भारतीय रुपैयाँ सुटकेसमा लुकाएर लैजान लागेको अवस्थामा थाइल्यान्डका चार भिक्षुणी शुक्रबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पक्राउ परेका छन्।

पक्राउ पर्नेमा ५५ देखी ६६ वर्ष उमेरसम्मका चार जना महिला छन्। ५५ वर्षीया सुवारी डिटसदेकोविवेट, ५९ वर्षीया पिया वान इयाम वङ, ६६ वर्षीया धिराब्रोन चित्ताभवन अभिरा टिकुल र ६६ वर्षीया फान फेन वसजोरानन रहेका छन् ।

शनिबारको अन्नपूर्णमा लेखिएको छ, डिपार्चरतर्फ लगेज स्क्रिन गर्ने क्रममा सुटकेशभित्र शंकास्पद वस्तु देखिएपछि ठुलो परिमाणमा विदेशी मुद्रा फेला परेको थियो।विमानस्थल प्रहरीले उनीहरुको साथबाट सुटकेसमा ठूलो परिमाणको भारतीय रुपैयाँ र डलर फेला पारेको थियो ।
दुई लाख ८६ हजार एक सय ६२ डलर र दुई लाख ७३ हजार एक सय ८० भारतीय रुपैयाँ फेला परेको त्रिभुवन विमानस्थल प्रहरी प्रमुख डीआईजी पंकज श्रेष्ठले जानकारी दिए ।

प्रहरीले उनीहरुको साथबाट ४६ हजार आठ सय थाई भाट पनि बरामद गरेको छ।उनीहरु थाई एयरमार्फत् पौने दुई बजे थाइल्यान्ड जाने तरखरमा थिए ।

विदेशजाँदा अधिकतम पाँच हजार डलर बराबरको विदेशी मुद्रामात्र बोक्न पाइन्छ ।पक्राउ परेका सबैले आफुहरुले नेपालका लागि दाता भएको र उक्त रकम भारतमा सहयोग गर्नका लागि राखिएको बताएका छन्।उनीहरुको राहदानी रेकर्ड अनुसार थुप्रै पटक नेपाल आवत जावत गरिसकेको देखिएको छ ।