राजनीति

यो एक हप्ताभित्र काठमण्डौमा ठूलै गड्बडी मच्चिए, कसले जिम्मा लिने ?

काठमाण्डौ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ यसबेला चीन भ्रमणमा निस्किसकेका छन् । चीन भ्रमणमा निस्किनु केही दिनअघिदेखि उनले मुलुकको कार्याबाहक नेतृत्व कसलाई दिने भन्ने सवालमा निकै विवाद चलेको खबर बाहिर आएको थियो । तीनजना उपप्रधानमन्त्रीमध्ये कसलाई कार्याबाहक प्रधानमन्त्री बनाउने भन्ने विषयमा प्रधानमन्त्री दाहालले अन्तिम निर्णय गर्न सकेनन् ।

निर्णय गर्न असमर्थ रहेरै उनले चीन भ्रमणको बाटो तय गर्न बाध्य भए । उपप्रधानमन्त्रीद्धय विमलेन्द्र निधि र कमल थापाबीच मर्यादाको विषयमा विवाद चर्किएपछि प्रधानमन्त्रीले आफ्नै पार्टीनिकट अर्का उपप्रधानमन्त्री कृष्णबहादुर महरालाई कार्याबाहकको जिम्मेवारी सुम्पने भित्री तयारी पनि नगरेका होइनन् तर अन्तिममा उनी यो प्रयासमा पनि असफल हुन पुगे । अन्तत, मुलुकलाई नेतृत्व दिने कार्याबाहक प्रधानमन्त्री हैसियतनै नतोकि प्रचण्ड यसेबला चीनको भ्रमणमा निस्किएका छन् ।

यसबाट अब एउटा गम्भीर प्रश्न उब्जिएको छ । यो मुलुकको नेतृत्व यसबेला कसले गरिरहेको छ ? कार्यकारी प्रधानमन्त्रीको हैसियत रहने त्यो नेतृत्व यसबेला विदेश भ्रमणमा रहँदा मुलुकका ठूलै गडबडी मच्चियो भने त्यसको जिम्मेवारी र कसले लिन्छ ? यी आदि प्रश्नहरु यसबेला अघि आएका छन् । यद्यपि, प्रचण्डले चीन भ्रमणमा निस्कनुअघि पनि कार्याबाहक प्रमुख तोक्न नसक्दा एउटा महत्वपूर्ण ‘शब्द’ बोलेका छन् । ‘केही गडबडी भए उतैबाट निर्देशन दिउँला’ भन्ने प्रधानमन्त्री दाहालको वाक्य वाणीले सरकारको नेतृत्वमा रहेको नेतृत्व कति हलुका ढंगले मुलुकको नेतृत्व गरिरहेको छ भन्ने प्रस्टनै हुन्छ ।

मुलुकमा केही अनिष्ट भए के होला ?
नेपाल उसै त अति संवेदनशील राजनीतिक संक्रमणबाट गुज्रिरहेको मुलुक हो । यो बेला जतिबेला पनि राष्ट्रिय–अन्तर्राष्ट्रिय अदृष्य शक्तिहरुले अराजकता मच्चाउन सक्ने खतरा छ । पछिल्ला रिपोर्ट अनुसार भारतीय जासुसी संस्था ‘रअ’ ले मुलुकको पछिल्लो राजनीतिक प्रक्रियाप्रति असन्तुष्टि जनाइरहेका खबरहरु पनि बाहिर आइरहेका छन् । सप्तरी घटनादेखि निर्वाचन आयोगको पछिल्ला रवैया सम्मलाई यसैमा जोडेर हेर्ने गरिएको छ । यही बेला मुलुकको कार्यकारी प्रमुखनै रिक्तताको अवस्थामा छ । प्रधानमन्त्री चीनबाट चैत १६ गतेमात्र फर्किनेछन् तर त्यो बीचमा मुलुकमा केही गडबडी भैहालेमा कसले जिम्मेवारी लिने ? यो महत्वपूर्ण प्रश्न हो ।

कार्याबाहक प्रधानमन्त्री नियुक्त गर्न कांग्रेस सभापति शेरबहादुर देउवाले पनि गृहमन्त्री निधिको नाम लिएर ठूलै दवाव दिएका थिए । तर कमल थापाले पनि आफ्नो अडान नछाड्दा सो जिम्मेवारी कसैले पाएनन् । अन्तत, अहिले मुलुक नेतृत्वबिहीन भएको छ । मुलुकमा कुनै गडबडी भए कसको निर्देशनमा तत्काल त्यसको व्यवस्थापन होला ? सबैको नजर उत्तरी छिमेकी मुलुक चीनमा शयर गरिरहेका प्रचण्डतिरै परिरहेको छ र प्रश्न समेत उनैतर्फ सोझिएको छ ।