समाचार

नेतृ रामकुमारी झाँक्रीले दिइन् वैद्य, बाबुराम र विप्लवको नाम लिँदै एक्कासि यस्तो प्रतिक्रिया !

काठमाण्डौ । संसदको राज्य व्यवस्था समितिले अब राजनीतिक दलहरुका लागि नयाँ नियम बनाएको छ । राजनीतिक दल सम्बन्धि नयाँ विद्येयक बहुमतले पारित भएपछि अब साना दलहरुलाई निकै सकस पर्ने देखिएको हो । बुधबार राज्य व्यवस्था समितिबाट राजनीतिक दल सम्बन्धि विद्येयक बहुमतले पारित भएपछि अब राष्ट्रिय दल हुन प्रत्यक्ष निर्वाचनमा १ सिट जित्नैपर्ने वाध्यकारी नियम बनेको हो । त्यस्तै, समानूपातिकतर्फ जम्मा खसेको मतको ३ प्रतिशत मत प्राप्त गर्नुपर्ने नियम बनेको छ । यो नियम बनेपछि अब साना दलहरुका लागि निकै ठूलो सकस पर्ने सम्भावना बढेको प्रतिक्रियाहरु आइरहेका छन् ।

निर्वाचन आयोगमा सयौंको संख्यामा रहेका साना दल, जसका लागि अघिल्लो नियम र पद्धति निकै खुकुलो बनेपछि राज्य व्यवस्था समितिले यो खालको विद्येयक अघि सारेको थियो, जो भर्खरै बहुमतले पारित भएको छ । निर्वाचनका क्रममा समानूपातिकतर्फ कूल खसेको मतको ३ प्रतिशत मत ल्याउनैपर्ने थ्रेसहोल्ड लागू भएपछि साना दलहरु तिल्मिलाएका देखिन्छन् । यसले निर्वाचनमा निकै चर्को प्रतिस्पर्धा समेत ल्याउने निश्चित छ । अघिल्लो निर्वाचनबाट करिब ३० वटा दलहरु सतहमा देखिएका थिए । जसमा ठूला दलहरु नेपाली कांग्रेस, एमाले र माओवादीले नेतृत्व गरेका थिए । अन्य थुप्रै साना दलहरुले समेत सिंहदरबार पस्न पाउने अवसर पाएका थिए । त्यसबेला अहिले लागू भएको थ्रेसहोल्ड भन्दा निकै खुकुलो नियम र पद्धति रहेको थियो । अबका निर्वाचनमा त्यो देखिने सम्भावना निकै कम भएको छ । साना पार्टीहरुको अस्तित्व प्रतिस्पर्धामा आउन नसक्ने स्थिति समेत देखिएको छ ।

थ्रेसहोल्डको प्रभाव
भर्खरै पारित भएको थ्रेसहोल्ड मुलुकका ठूला राजनीतिक दलहरुलाई खासै प्रभाव नपर्ने भएपनि साना दलहरु निकै प्रभावित हुने सम्भावना देखिएको छ । पछिल्ला वर्ष फुटपाथमा पसल थापेझै जन्मिएका साना दलहरुका लागि खुकुलो नियम बनिदिँदा त्यसको नकारात्मक प्रभाव देखिएका प्रतिक्रियाहरु समेत आउने गरेका थिए । यद्यपि, समावेशी कोटाका नाममा अनावश्यक ढंगले साना दलहरुले अवसर समेत पाउँदै आएका थिए । जसका कारण साना दलहरुमार्फत विभिन्न राजनीति विकृतिहरु समेत भित्रिदै आएका थिए । नातावाद, कृपावाद, परिवारवादमार्फत टिकेका साना दलहरुले अबका दिनमा कडा प्रतिस्पर्धा गरेर मात्र राष्ट्रिय राजनीतिको मूल धारमा देखिन सक्ने नियम बनेको छ । संसदले पारित गरेको यो कदमको चौतर्फी रुपमा स्वागत समेत गरिएको छ । यसले राष्ट्रिय राजनीतिमा कडा र सृजनात्मक प्रतिस्पर्धाको जग बसाल्दै सकारात्मक प्रभाव पार्ने जानकारहरु बताउँछन् ।

थ्रेसहोल्ड लागू भएलगत्तै कसले के भने ?
संसदको राज्यव्यवस्था समितिले अघि सारेको थ्रेस होल्ड विद्येयक बहुमतले पारित भएलगत्तै विभिन्न प्रतिक्रिया आएका छन् । एमालेका प्रभावशाली नेता शंकर पोख्रेलले यो विद्येयकको खुल्ला रुपमा स्वागत गरेका छन् । विद्येयक पास भएलगतै उनले ट्वीट गर्दै भनेका छन, ‘राष्ट्रिय पार्टी बन्न ३ प्रतिशत मत र प्रत्यक्षमा १ सिट जित्नैपर्ने प्रावधानसहितको थ्रेसहोल्डको व्यवस्था भएछ । लोकतन्त्रको हितमा राम्रै भो ।’ त्यस्तै, नेपाल पत्रकार महासंघका पूर्व सभापति शिव गाउँलेले पनि यो विद्येयको बारेमा सकारात्मक प्रतिक्रिया दिँदै यसको कार्यान्वयनमा सचेतता अप्नाउन आग्रह गरेका छन् । उनले भनेका छन्, ‘प्रत्यक्षमा एक सिट र समानूपातिकमा ३ प्रतिशत मत नभई राष्ट्रिय दलको मान्यता नपाई सहमतीय राजनीतिको शिकार नहोस् यो कानुन ।’

सोही विद्येयकको सवालमा एमालेकी युवा नेतृ रामकुमारी झाँक्रीले भने साना दलहरुप्रति ब्यंग्य ठोकेकी छन् । साना दलहरुका यसअघिको रवैयाप्रति व्यंग्य गर्दै उनले थ्रेस होल्ड लागू हुनु निकै राम्रो भएको संकेत गरेकी छन् । उनले भनेकी छन्, ‘श्रीमतीजीलाई सांसद बनाउने, सत्ता परिवर्तनमा जहिले पनि मुसाको काम गर्ने श्रीपार्टीका नेताजीहरु त ठिकै हुनुहुन्छ होला हैन ?’ यो नियम लागू भएपछिको परिणामतर्फ संकेत र व्यंग्य गर्दै नेतृ झाक्रीले भनेकी छन्, ‘अब भटाभट पार्टीहरु एकीकरणतर्फ लाग्नेछन् । बैद्य बा, बाउराम, विप्लव सबै घर फर्किनेछन् । साझा र विवेकशील पार्टी पनि एकता गर्दा राम्रो । राप्रपा एकता भइहाल्यो । अशोक, राजेन्द्र भूतपूर्व कमरेडहरु पनि घर फर्कनुभए हुन्छ, स्वागत छ ।’

त्यस्तै, नेपाली कांग्रेसकी नेतृ सिता गुरुङले पनि राज्यव्यवस्था समितिको विद्येयक बहुमतले पारित भएको भन्दै टिप्पणी गरेकी छन् ।  थ्रेस होल्डको विषयमा विभन्न पार्टीका नेता, कार्यकर्ता, नागरिक समाजका अगुवा र सर्वसाधारणहरुले समेत विभिन्न प्रतिक्रिया दिइरहेका छन् । सर्वसाधारणले भने थ्रेस होल्ड लागू भएपनि नेपालको राजनीतिक संस्कारमाथि विश्वास गर्न नसकिने भन्दै प्रतिक्रिया दिइरहेका छन् ।