राजनीति

काठमाण्डौ महानगरपालिकाको मेयरको उम्मेद्धारमा कुलमानको चर्चासँगै आयो यस्तो खबर !

काठमाण्डौ । यसबेला स्थानीय तहको निर्वाचनको माहोलसँगै काठमाण्डौ महानगपालिकामा उठ्ने सम्भावित मेयरको उम्मेद्धारका बारेमा बहस सुरु भएको छ । काठमाण्डौ महानगपालिका मुलुकको सबैभन्दा प्रभावशाली स्थानीय तह हो, जहाँ देशको केन्द्रीय प्रशासनिक संयन्त्र समेत रहेको छ । काठमाण्डौ महानगरपालिका अन्तर्गत मुलुकको राजधानी समेत जोडिएको हुँदा यहाँ हुने निर्वाचन र यसको नेतृत्वप्रति राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमै चर्चाको विषय बन्ने गर्दछ । यद्यपि, यसअघि भएका स्थानीय निर्वाचन निकै वर्षअघि भएकोले पनि नयाँ पिढीले काठमाडौ महानगरपालिकामा हुने निर्वाचन र त्यसको राजनीतिक माहौलका बारेमा त्यति धेरै ज्ञान हासिल गर्न सकेको छैन ।

यसअघि २०४९ साल र २०५४ सालमा भएका स्थानीय निकायका निर्वाचनमा काठमाण्डौमा क्रमसः नेपाली कांग्रेस र एमालेका पिएल सिंह र केशव स्थापित मेयरमा विजय भएका थिए । यो पटक भने मुलुकका ठुला राजनीतिक दलहरुले उम्मेद्धारको टुंगो लगाएका छैनन् तर सार्वजनिक रुपमा केही व्यक्तिहरुको नाम भने सामाजिक सञ्जाल लगायत सञ्चारमाध्यामहरुमा समेत आउन थालेको छ ।

काठमाण्डौ महानगरपालिकाको मेयर को होला ? यो प्रश्नको उत्तर दिन यसबेला निकै हतार हुनसक्छ, तर सर्वसाधारणले भने पार्टीगत उम्मेद्धार भन्दा पनि विकासप्रेमी व्यक्तित्व यहाँको नेतृत्वमा आइदिए हुन्थ्यो भन्ने प्रतिक्रिया दिन थालेका छन् । काठमाण्डौका सर्वसाधारणदेखि राजनीतिक क्रियाकलापमा चासो राख्ने एउटा समुहले उपत्यकालाई केही समयमै लोडसेडिङ मुक्त पार्न सफल कुलमान घिसिङले मेयरको उम्मेद्धारी दिनुपर्ने प्रतिक्रिया दिन थालेका छन् । उनीहरुले घिसिङजस्ता व्यक्तित्वले मात्र काठमाण्डौको विकास गर्न सक्ने र यहाँको व्यवस्थापन गर्न सक्ने भएकोले उनको आवश्यकता रहेको प्रतिक्रिया दिइरहेका छन् ।

काठमाण्डौ उपत्यकावासीका मन र मुटुमा बस्न सफल भएका घिसिङ मेयरको उम्मेद्धार उठे विजयी हुने पक्का समेत देखिन्छ तर उनले राजनीतिक यात्रा तय गर्ने–नगर्ने भन्ने विषयमा अन्योल नै देखिन्छ । उनले आफु विद्युत प्राधिकरणको प्रमुख भएरै समाजको सेवा गर्ने प्रतिक्रिया दिएका समाचारहरु बाहिर आइरहेका छन् । उनले दिएका यी प्रतिक्रियाले घिसिङ काठमाण्डौ महानगरपालिकाको मेयरमा उम्मेद्धारी देलान् भनेर विश्वास गर्ने आधार पनि देखिदैन । तर उनले यो बाटो तय गरे काठमाण्डौ जिल्लावासी मात्र होइन, उपत्यकावासीले नै उनलाई साथ दिने निश्चित देखिन्छ ।

राजनीतिक दलबाट को होलान् मेयरको उम्मेद्धार ?
काठमाण्डौ महानगरपालिकाको मेयरमा उम्मेद्धार उठाउन मुलुकका ठुला पार्टीहरुले निकै गम्भीर गृहकार्य गर्ने गरेको इतिहास पहिले देखिनै देखिन्छ । यो पटक पनि नेपाली कांग्रेस, एमाले, माओवादी केन्द्र, राप्रपा लगायतका पार्टीहरुले महानगरपालिकाका लागि उम्मेद्धार तय गर्दैछन् र त्यसको आन्तारिक गृहकार्यमा लागिसकेका छन् । नेपाली कांग्रेसको तर्फबाट काठमाण्डौ महानगरपालिकाका लागि उम्मेद्धार हुने नेताको नाम बाहिर चर्चामा आइनसकेपनि एमालेका केही नेताहरुको नाम भने चर्चामा आउन थालिसकेको छ ।

एमालेका केन्द्रीय सचिव योगेश भट्टराई, कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठ र नेता जीवराम श्रेष्ठ लगायतका नेताहरु काठमाण्डौ महानगरपालिकाको मेयर उठ्ने हल्ला बाहिर आइसकेको छ । यद्यपि, एमालेले भने यसबारेमा कुनै निर्णय बाहिर ल्याएको छैन । तर भट्टराई र श्रेष्ठहरुले आफुहरुले महानगरपालिका मेयरमा उम्मेद्धारी दिनसक्ने भन्दै आंशिक प्रतिक्रिया दिने गरेका खबरहरु समेत बाहिर आइरहेका छन् ।

त्यस्तै, नेपाली कांग्रेसका पनि केही प्रभावशाली नेताहरु काठमाण्डौमै भएकोले उनीहरुले उम्मेद्धारी दिने आंकलन गरिदैछ । माओवादी केन्द्र र राप्रपा लगायतका पार्टीहरुले पनि आफ्नो पार्टीको तर्फबाट उठाउने उम्मेद्धारका बारेमा कुनै प्रतिक्रिया दिएका छैनन् । यसबाट के पुष्टि हुन्छ भने मुलुकका शीर्ष राजनीतिक दलहरु महानगपालिकामा कसलाई उम्मेद्धार उठाउने भन्ने आन्तारिक गृहकार्यमा व्यस्त रहेका छन् । सबै दलहरुले यो क्षेत्रमा प्रभावशाली व्यक्तित्वलाई नै उम्मेद्धार चयन गर्ने निश्चित छ, जसले राजधानीको राजनीतिक माहौललाई समेत ह्वात्तै बढाइदिने निश्चित छ ।