पु.समाचार

सुनसरीमा हालसम्ममा चार लाख २९ हजार ८२३ मतदाता

इनरुवा । आगामी वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनमा सुनसरीबाट चार लाख २९ हजार मतदाताले मतदान गर्न पाउने भएका छन् । यहाँ पछिल्लो तीन वर्षकै अवधिमा झन्डै ६० हजार मतदाता थपिएकाहुन् ।

जिल्लामा हालसम्ममा चार लाख २९ हजार ८२३ मतदाताको नामावली दर्ता भएको जिल्ला निर्वाचन अधिकारी जानकी कर्णले जानकारी दिनुभयो ।
यस वर्ष मात्र ११ हजार नयाँ मतदाता बढेको कार्यालयका नायब सुब्बा शान्तिबहादुर अधिकारीले बताउनुभयो । जिल्लामा विवाह गरेर आउने महिला, विदेशबाट फर्किएका पुरुष र उमेर पुगेका व्यक्ति तथा पहाडी जिल्लाबाट सरेर आएका बढेकाले मतदाता सङ्ख्या ह्वात्तै बढेको प्रमुख कर्णको भनाइ छ । यता हालै सरकारको निर्णयानुसार सुनसरीमा स्थानीय तह कार्यान्वयनमा आएका छन् ।

जिल्ला विकास समितिबाट जिल्ला समन्वय समितिमा रुपान्तरित भएको छ । इनरुवामा गाभिएका मधेसा, चाँदबेला, डुम्राहाका २, ७ र ९ वडा, बबिया र जल्पापुर क्रमशः ६, ७, ८, ९ र १० नम्बर वडा कायम भएका छन् ।

नाम परिवर्तन गर्नेदेखि तहगत संरचना कार्यान्वयनमा आए नआएबारे जिल्ला समन्वय समिति सुनसरीले अनुगमनको क्रम समेत अघि बढाएको छ । नयाँ बनेका तहगत संरचनाको जिम्मेवारी समेत सुम्पिसकिएको छ । सुनसरीमा दुई उपमहानगर, चार वटा नगरपाालिका र छ गाउँपालिकासहित १२ वटा स्थानीय तह कायम भएका छन् । रासस