खेलकुद

टेबलटेनिस टोली भारत प्रस्थान

काठमाडौ । आरएस एन्ड सीसी डायमन्ड जुब्ली आमन्त्रण अन्तर्राष्ट्रिय टेबलटेनिस प्रतियोगितामा सहभागी हुन नेपालको एक टोली भारत प्रस्थान गरेको छ । आइतबार १० खेलाडीसहित १२ सदस्यीय नेपाली टोली भारतको सिलोङ प्रस्थान गरेको हो ।

चैत १० गतेदेखि १२ गतेसम्म हुने प्रतियोगतामा समान ५–५ पुरुष/महिला खेलाडीले यु–२१ उमेरसमूहमा सिंगल्स, डबल्स, मिक्स र टिम स्पर्धामा प्रतिस्पर्धा गर्ने जनाइएको छ ।

पुरुष खेलाडीमा राष्ट्रिय च्याम्पियन श्यान्टु श्रेष्ठ, मणिकुमार लामा, रितिज जोशी, विपुल महर्जन र नारायण घिमिरे रहेका छन् । महिलामा सोनु थापामगर, सिक्का सुवाल, गीता अर्याल, सुजाता दुवाल र मन्जु सुवाल छन् । प्रशिक्षकमा सञ्जय अर्याल तथा टिम व्यवस्थापकमा शिव देउजा रहेका छन् ।

टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष एवं नेपाल ओलम्पिक कमिटीका महासचिव लामा टेन्डी शेर्पा, अखिल नेपाल टेबलटेनिस संघका अध्यक्ष चतुरानन्दराज वैद्यलगायतले लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा आइतबारै एक कार्यक्रमबीच बिदाइ गरे ।