पु.समाचार

यसरी खोलिदैछन् काठमाण्डौ उपत्यकाका लागि दश नाका

काठमाडौं । सरकारले काठमाडौं उपत्यका भित्रिने १० नाकालाई सुविधासम्पन्न बनाउने भएको छ । त्यसमध्ये पाँचवटा नयाँ नाका खोलिनेछन् भने बाँकी नाकालाई थप व्यवस्थित गरिनेछ । निर्धारित अवधिभित्रै योजना कार्यान्वयनमा आए अबको केही वर्षभित्रै मोफसलवासी व्यवस्थित नाका भएर उपत्यका छिर्न पाउनेछन् ।

सडक विभागका अनुसार कान्ति लोकपथ हुँदै उपत्यका भित्रिने टीकाभैरव नाका, सीतापाइला–धार्के, दक्षिणकाली–छैमले, साँखु–मेलम्ची, बालाजु–रानीपौवा नाकालाई व्यवस्थित गरिनेछ । सोमबारको नयाँ पत्रिकामा लेखिएको छ,सूर्यविनायक–बनेपा, नागढुंगा–सिस्नेखोला, टोखा–छहरे खोलिन लागिएकामध्ये नयाँ नाका हुन् । त्यस्तै, काठमाडौं–हेटौँडा सुरुङमार्ग र काठमाण्डौ–निजगढ दु्रतमार्ग निर्माण पूरा भएपछि नयाँ नाका खोलिनेछ ।

सडक विभागका प्रवक्ता दयाकान्त झाले केही वर्षभित्रै मोफसलबाट १० वटा व्यवस्थित नाकाबाट राजधानी काठमाडौं भित्रिन सकिने जानकारी दिए । त्यसमध्ये कतिपयमा काम सुरु भइसकेको र केही योजनाका क्रममा रहेको उनको भनाइ छ । ‘उपत्यका भत्रिने १० वटा नाका विस्तार हुँदै छन् । त्यसमध्ये पाँचवटा नयाँ खोलिँदै छ भने कतिपय भएकै नाकालाई व्यवस्थित गरिँदै छ । यसका लागि बजेट विनियोजन भइसकेको छ ।’ ।

यहाँ खुल्दै छन् नयाँ नाका, नागढुंगा–सिस्नेखोला सुरुङमार्ग स् सडक विभागका अनुसार नागढुंगा–सिस्नेखोला सुरुङमार्ग अबको चार वर्षभित्र निर्माण भइसक्नेछ । २.४५ किमि लम्बाइको यो सुरुङमार्ग निर्माणको लागत १६ अर्ब रुपैयाँ रहेको छ । यसका लागि विभागले जापानी दातृनिकाय जाइकासँग सम्झौता गरिसकेको छ । अहिले सुरुङमार्गको डिटेल प्रोजेक्ट रिपोर्ट (डिपिआर) सम्झौताको काम भइरहेको छ ।

टोखा–छहरे–विदुर सुरुङ: भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका अनुसार सरकार उपत्यकाको उत्तरतर्फको टोखा–शिवपुरी–थानसिङ फा“ट जोड्ने नया“ सुरुङमार्ग निर्माणको तयारीमा जुटेको छ । यसका लागि मन्त्रालयले चीनको बेइजिङस्थित एसियन इन्फ्रास्ट्रक्चर इन्भेस्टमेन्ट बैंक (एआइआइबी)मा असारको पहिलो साता प्रस्तावनापत्र पेस गरिसकेको छ । मन्त्रालयका अनुसार पहिलो चरणमा टोखा–शिवपुरी–थानसिङ फाँटसम्म मात्रै सुरुङमार्ग निर्माण गरिनेछ । सुरुङमार्ग ४.५ किमिको हुनेछ । यसको लम्बाइ बढीमा ६ किमिसम्मको हुनेछ । चार लेनको सुरुङमार्ग उत्तरी नाका केरुङ जोड्ने गल्छी—त्रिशूली—बेत्रावती—मैलुङ (४८ किमि) सडकखण्डमा जोडिनेछ । सडक विभागले उक्त सडक निर्माणका लागि ठेक्का सम्झौता गरिसकेको छ । अब दुई वर्षभित्र उक्त सडक निर्माण सक्ने विभागको योजना छ । सोही सडक सुरुङमार्गमा जोडिनेछ । यसले केरुङ नाका र काठमाडौंको दूरीलाई घटाउनेछ ।

सूर्यविनायक–धुलिखेल सडक: विभागका अनुसार सूर्यविनायक–धुलिखेल सडक निर्माणका लागि सम्भाव्यता अध्ययन पूरा भइसकेको छ । अध्ययन प्रतिवेदनअनुसार सडकको कुल लागत पाँच अर्ब रुपैयाँ हुनेछ । सडक पाँच वर्षभित्र निर्माण भइसक्नेछ । सूर्यविनायकदेखि धुलिखेलसम्मको सडकको कुल लम्बाइ १६ किमि हुनेछ । सडकको चौडाइ २५ मिटरको हुनेछ । सडकको बीचभागमा दुई मिटर चौडा बगैँचा हुनेछ । त्यसले डिभाइडरको काम गर्नेछ । बगैँचाको दुवैतर्फ दुई–दुई लेनको सडक निर्माण हुनेछ । त्यसपछि सडकको दुवैतर्फ एक–एक मिटरको अर्को डिभाइडर हुनेछ । त्यसलगत्तै सडकको दुवैतर्फ एक–एक लेनको सर्भिस ट्र्याक हुनेछ । बाँकी भाग भने फुटपाथ हुनेछ । भक्तपुर र काभ्रेको सिमानामा पर्ने साँगा भञ्ज्याङमा तीन सय मिटरको दुई लेनको सुरुङमार्ग निर्माण गरिनेछ । लामो दूरीमा चल्ने सवारीसाधन विनाअवरोध सुरुङमार्गबाट आउजाउ गर्नेछन् । छोटो दूरीमा चल्ने सवारीसाधन भने साबिकको सडकमा चल्नेछन् । योजनाअन्तर्गत साबिकको सडक फराकिलो पारिने र घुम्ती घटाइनेछ ।

फास्ट ट्र्याक: आगामी पाँच वर्षभित्र काठमाडौं–निजगढ दु्रतमार्ग (फास्ट ट्र्याक) निर्माण हुनेछ । यसका लागि सरकारले १० अर्ब रुपैयाँ बजेट विनियोजन गरिसकेको छ । दु्रतमार्गको ७६.४ किमि सडकमध्ये ७० किमि क्षेत्रमा जग्गा अधिग्रहणको काम सम्पन्न भइसकेको छ । अन्तर्राष्ट्रिय मापदण्डअनुसार बन्न लागेको यो मार्गले उपत्यकालाई तराईसँग जोड्नेछ । यो मार्ग भएर ५९ मिनेटमै तराई पुग्न सकिनेछ ।
हेटौँडा सुरुङमार्ग: निजी लगानीमा निर्माण गर्न लागिएको महत्वाकांक्षी हेटौँडा–कुलेखानी–काठमाडौं सुरुङमार्ग निर्माणको सम्भाव्यता अध्ययन भइसकेको छ । अध्ययनअनुसार सुरुङमार्ग काठमाडौंको बल्खुबाट सुरु भएर कुलेखानी हुँदै हेटौँडा जोडिनेछ । यसको कुल लम्बाइ ५८ किमि हुनेछ । यसमध्ये ४.५ किमि सुरुङ हुनेछ । यसभित्र तीनवटा सुरुङमार्ग निर्माण हुनेछन् । दुई–दुई लेनका दुईवटा सुरुङ हुनेछन् । क्रसओभरका लागि बीच–बीचमा ‘क्रस सेक्सन’ पनि हुनेछन् । दुर्घटना या अन्य कुनै प्राविधिक समस्या परे ‘क्रस सेक्सन’ प्रयोग गरी समस्या समाधान गर्न सकिनेछ । समयमा लगानी जुटाउन सकिए अबको केही वर्षभित्रै यो सडक मार्ग निर्माण हुनेछ ।

यी हुन् व्यवस्थित बनाइँदै गरेका नाका
—सडक विभागका अनुसार हेटौँडाबाट उपत्यका भित्रिने कान्ति लोकपथ निर्माणाधीन अवस्थामा छ । ६० वर्षदेखि लोकपथ निर्माण जारी रहे पनि अबको दुई वर्षभित्र निर्माण कार्य सकिनेछ । दुई लेनको यो सडक निर्माण भइरहेकाले यस नाकाबाट उपत्यका भित्रन निकै सजिलो हुनेछ । हेटौँडाबाट छैमले–दक्षिणकाली हुँदै उपत्यका भित्रिने सडक पनि दुई लेनमा विस्तार हुँदै छ । यसका लागि विभागले टेन्डरसमेत आह्वान गरिसकेको छ । सिन्धुपाल्चोकबाट उपत्यका भित्रिने साँखु–मेलम्ची सडकखण्ड लगभग निर्माण पूरा भइसेकेको छ । दुई लेनमा निर्माण गरिएको यो सडकबाट सजिलै उपत्यका भित्रिन सकिन्छ ।

—रसुवाबाट नुवाकोट हुँदै उपत्यका प्रवेश गर्ने रानीपौवा–बालाजु सडक पनि दुई लेनमा चौडा गरिँदै छ । ७० किमिको यस सडक निर्माण चाँडै पूरा हुने अवस्थामा छ । यस्तै, धादिङको धार्के हुँदै उपत्यका भित्रिने धार्के–सीतापाइला सडकखण्डको ट्र्याक खुलिसकेको छ । दुई लेनमा विस्तार गरिने सडकका लागि विभागले १५ करोड रुपैयाँ बजेट निकासा गरेको छ ।