पु.समाचार

संसद सचिवालयमै अड्कियो ‘बाफिया’

काठमाडौं । संसद्बाट पारित भएको बैङ्क तथा वित्तीय संस्थासम्बन्धी विधेयक (बाफिया) अझै प्रमाणीकरणका लागि राष्ट्रपतिसमक्ष पेस भएको छैन । यो बहुचर्चित विधेयक आनुसाङ्गिक सुधारमा विवाद भएपछि संसद् सचिवालयमा नै अड्किएको छ ।

संसद्ले पारित गरेको विधेयक जस्ताको तस्तै प्रमाणीकरणका लागि राष्ट्रपतिसमक्ष पेस गर्नुपर्ने भए पनि विधेयक साढे दुई महिनादेखि अध्ययनका क्रममा भन्दै रोकिएको छ । संसद्को पुस २६ गतेको बैठकले विधेयक पारित गरेको थियो । तर, पारित विधेयकका केही प्रावधानमा अर्थमन्त्री कृष्णबहादुर महरा समेतले चासो देखाउनुभएपछि विधेयक सभामुखको सचिवालयमा रोकिएको छ ।

विधेयक शाखाले पारित विधेयकअनुसार आनुसाङ्गिक सुधार गरी हस्ताक्षरका लागि सभामुखसमक्ष पेस गरेपछि विधेयक अध्ययनका लागि भन्दै रोकिएको हो । शाखाले ताकेता गरे पनि सभामुखको सचिवालयले विधेयक फिर्ता गरेको छैन ।

आइतबारको गोरखापत्रमा लेखिएको छ, संसद् सचिवालयका प्रवक्ता भरतराज गौतमले आनुसाङ्गिक सुधारका क्रममा रहेका कारण विधेयक प्रमाणीकरणका लागि पेस गर्न ढिलाइ भएको बताए । पारित विधेयकले तय गरेको सञ्चालकका योग्यता, सेयर संरचना र कार्यकालका केही विषयमा थप स्पष्टता आवश्यक भएको भन्दै विधेयक अध्ययनका लागि रोकिएको हो ।

सामान्यतया संसद्ले पारित गरेको विधेयक जस्ताको तस्तै प्रमाणीकरणका लागि पेस गर्नुपर्छ । विधेयक पारित भइसकेपछि परिमार्जन गर्न मिल्दैन । संविधानको प्रावधान अनुसार विवादित भए वा थप सुधार आवश्यक ठाने राष्ट्रपतिबाट पुनः विधेयक संसद्मा फिर्ता हुनसक्छ ।

प्रमाणीकरण भइसकेको अवस्थामा भने ऐन संशोधनमात्र विकल्प हुन सक्छ । तर, संसद्ले पारित गरेको विधेयक लामो समयसम्म अध्ययनका लागि भन्दै रोकिनुलाई भने धेरै चासोका रूपमा हेरेका छन् ।