समाचार

अज्ञात समुहद्धारा सासु बुहारीको गोली हानी हत्या

मोरङ । मोरङको कटहरी-१ मा शुक्रबार अपरान्ह अज्ञात समूहले एक व्यापारिक घरनाका सासु बुहारीको हत्या गरेर घरमा लुटपाट मच्चाएको छ । डाँका समूहले गोली प्रहार गरेर सासू ४५ वर्षीया दीपा निरौला (डाँगा) र बुहारी २२ वर्षीया अस्मिता भट्टराई (डाँगा) को हत्या गरेको मोरङ प्रहरी प्रमुख एसपी सन्दीप भण्डारीले बताए । उनले दुबै जनाको हत्या गरेपछि घरमा लुटपाट मच्चाएर डाँका समूह फरार भएको हुन सक्ने बताए ।

शनिबारको अन्नपूर्ण पोष्टमा लेखिएको छ, घटनामा संलग्नको पहिचान हुन नसकेको उनले बताए । एसपी भण्डारीले घटनामा संलग्नलाई पक्राउ गर्नका लागि सबै नाका सिल गर्दै ठूलो संख्यामा प्रहरी परिचालन गरेर खोजी तीव्र पारिएको जनाए ।

घटना भएका बेला घरमा सासू, बुहारी मात्र थिए । अस्मिताको टाउको र दीपाको शरीरमा गोली लागेको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ । दुई जनाको शव घरको भिन्दा भिन्दै कोठामा फेला परेको थियो । दुबै कोठामा रगतको आहाल थियो । घटनास्थल विराटनगरको हाटखोलाबाट लगभग दुई सय मिटर पूर्वमा पर्छ । घटनास्थल दिनभर व्यस्त रहने रंगेली-विराटनगर सडक खण्डबाट लगभग ५० मिटर दक्षिणमा छ ।

दीपाका पति एवं अस्मिताका ससूरा इन्द्रचन डाँगा धान व्यापारी हुन् । उनी मोरङको कर्सियामा धानको व्यापार गर्छन । आफ्नो पहिचान खुल्ने डरले हत्यापछि लुटपाट गरेको हुन सक्ने प्रहरीको अनुमान छ । घटनाका बारेमा साढे चार बजे प्रहरीले जानकारी पाएको थियो ।