राजनीति

मधेसी मोर्चाका बरिष्ठ नेता कर्णले दिए सकारात्मक संकेत

काठमाण्डौ । मधेसी मोर्चाका प्रभावशाली नेता लक्ष्मणलाल कर्णले निर्वाचनको मिति सारेर आफ्नो मागलाई सम्बोधन गर्न सरकार तयार भए समस्या समाधान हुने बताएका छन् । शुक्रबार रिपोर्टस् क्लब नेपालले आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका हुन् । साक्षात्कारमा बोल्दै उनले भने, जबर्जस्ती निर्वाचन गरेर मुलुकलाई द्धन्द्धमा लैजाने कि निर्वाचनको मिति पर सारेर मुलुकलाई सहमतिको लागि निकास दिने हो ? उनले यो विषयमा गहन छलफल गरे सहमतिको बिन्दु पहिल्याउन सकिने विश्वास दिलाए ।

नेता कर्णले संघीयता विरोधी पार्टीलाई नै संघीय मामिला मन्त्रालयको जिम्मेवारी दिएर सरकारले गल्ती गरेको आरोप लगाए । उनले भने, ‘राप्रपाले संघीयता मानेको छैन, तर संघीयता नमान्नेलाई नै संघीय मन्त्रालयको जिम्मेवारी दिइएको छ, यो बिडम्बना हो ।’

कर्णले यथास्थितिमा आफूहरुले स्थानीय तहको निर्वाचनमा भाग नलिने जिकिर गरे । उनले भने,‘सरकारसँग बन्दुक छ, तोप छ, गोली छ, लाठी छ, तर हामी चुनावको भद्र अवेज्ञा गर्छौं।’ उनले चैत्र १५ गतेसम्म आफूहरुले नरम आन्दोलनका कार्यक्रमहरु सार्वजनिक गरेको बताउँदै यो वीचमा सहमतिको लागि दुवै तर्फबाट प्रयास हुनुपर्नेमा जोड दिए ।

उनले भने,‘तर निर्वाचन टोलीलाई हामी गाउँ पस्न दिँदैनौं, हामी आन्दोलन गर्छौं ।’ कर्णले पहिलापनि आफूहरुले नाकाबन्दी रहरले नगरेको बताउँदै थपे,‘नाकाबन्दी गरेर दुःख दिने मनशाय हाम्रो थिएन, सरकारले कफ्र्यु लगाएर हामीलाई नो मेन्सनमा पुर्यायो, जताततै निषेधाज्ञा जारी गर्यो, त्यही भएर बाध्य भएर हामीले नाकाबन्दी गर्न पुग्यौं ।’