राजनीति

यी हुन् नेपालका दुई ठुला राजनीतिक ठगहरू, जसको हिसाब करोडौ नेपालीले राखेका छन् !

‘प्रचण्डले क्रान्तिकारीहरूलाई जुनस्तरको धोखा दिए, कमल थापा राजा र राजसंस्थाका हिमायती जनसमुदाय तथा हिन्दूराष्ट्रका पक्षधरहरूलाई त्यसरी नै ‘उल्लु’ बनाउँदै छन् । थापाले राजसंस्था र हिन्दूराष्ट्र पुनस्र्थापनाको नाममा आफ्नो हैसियत बनाएको तथ्यबोध आमनेपाली जनता र अन्तर्राष्ट्रिय समुदायलाई समेत भएको विषय हो । राजा र हिन्दुत्वको एजेन्डा झिकिदिने हो भने कमल थापाको हैसियत राप्रपाकै किरण गिरीको भन्दा माथिल्लो तहको हुन सक्छ भन्ने विश्वास कदापि गर्न सकिँदैन ।

आकाशको एउटा चिल देखाएर भुइँका कुखुरा चोर्ने जुन प्रकारको शैली पुष्पकमलले अपनाएका छन्, ठीक त्यसैगरी आकाशको बाज देखाएर जमिनका परेवा सत्यानास गर्ने भूमिकामा कमल थापा देखिएका छन् ।

नारायणहिटी राजदरबारमा चुपचाप बसिरहेका राजालाई प्रजातन्त्रविरुद्ध उकास्ने, तर उकासिएका राजाको रक्षा गर्न नसक्ने कमल थापा हिजो राजालाई अघि सारेर सत्ताको सयर र सयल गर्न उद्यत् देखिन्थे, आज तिनै राजालाई देखाएर सत्तासीन बनिरहने जालझेलपूर्ण खेलमा केन्द्रित देखिन्छन् । जनताका नाममा पुष्पकमलले जनता र देशलाई ठगिरहेकै शैलीमा कमलले राजा र हिन्दुत्वका नाममा राजा र जनता दुवैलाई ठगेका छैनन् भनेर अरू त अरू तिनकै सहोदर भाइ गणेश थापा पनि भन्न सक्ने अवस्थामा छैनन् ।

प्रजातन्त्र बहाल रहँदा प्रजातन्त्र र राजनीतिक दलविरुद्ध राजालाई अघि सारेर ‘पावरफुल’ हुन खोज्ने कमल थापा सङ्घीय, धर्मनिरपेक्ष, लोकतान्त्रिक गणतन्त्र भनिने कागजी प्रणालीमा चाहिँ धर्म र राजाको नाममा व्यापार गरेर ‘कमाइ गर्ने’ योजनामा ‘सफल’ देखिँदै छन् ।

यदि राजनीति भनेकै पद प्राप्तिका लागि खेलिने झेली खेल मात्र हो भने पुष्पकमलझैँ कमल पनि सर्वाधिक ‘सफल’ खेलाडी हुन् भन्नुपर्ने अवस्था पैदा भएको छ । सङ्घीयता, धर्मनिरपेक्षता र गणतन्त्रका विरुद्ध मन्तव्य प्रकट गर्ने कमल थापा सङ्घीय, लोकतान्त्रिक गणतन्त्रात्मक, धर्मनिरपेक्ष संविधान जारी हुन सघाएपछि दोस्रोपटक त्यस्तो मन्त्रालय सम्हाल्न पुगेका छन् जसले सङ्घीयताको कार्यान्वयनमा सर्वाधिक महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने हुन्छ ।

यसबाट कमल थापाको मन र मन्तव्यबीच कुनै स्तरको तालमेल नरहेको स्पष्ट गर्दछ । राप्रपाको एकता महाधिवेशनबाट राजसंस्था र हिन्दूराष्ट्रको एजेन्डा पारित गराएपछि कमल थापा साँच्चैका राष्ट्रवादी, धर्म र राजसंस्थाका पक्षधर हुन्कि भन्ने सन्देश प्रवाहित भएको थियो । अहिले पनि जनताको ठूलो हिस्सा कमल थापालाई धर्म र राजसंस्था पक्षधर राष्ट्रवादीकै रूपमा देख्दै छ । तर, थापाले राजा र हिन्दुत्वलाई किन राजनीतिक एजेन्डा बनाएका छन् भन्ने अन्तर्यमा विचरण गरियो भने बेग्लै तस्बिर प्रकट हुन्छ ।

थापाले राजसंस्था र हिन्दूराष्ट्रलाई ‘मूल’ एजेन्डा बनाउनुको एउटा कारण राजसंस्था र हिन्दूराष्ट्र चाहने राष्ट्रवादी समुदायको मत प्राप्त गर्न हो भन्ने स्पष्ट भए पनि उनी अर्को कुन कारणले राजा र हिन्दुत्वका एजेन्डा बोक्दै छन् भन्ने रहस्यचाहिँ खुल्न बाँकी नै छ ।

कमल थापालाई खास अवस्थामा राष्ट्रपति या प्रधानमन्त्री बन्ने अवसर प्राप्त हुने भएछ भने अर्को रहस्य पनि रामै्सँग खुल्नेछ । राजसंस्था र हिन्दूराष्ट्रको एजेन्डा औपचारिक रूपमै परित्याग गर्न उनी त्यसवेला अवश्य तयार हुनेछन्, जब उनलाई राष्ट्रपति या प्रधानमन्त्री पद प्राप्त गर्न ती एजेन्डा बाधक बनेको महसुस हुनेछ । कमल थापाले बोकेको ‘राजा’ र ‘हिन्दूराष्ट्र’को एजेन्डा उनलाई राष्ट्रपति या प्रधानमन्त्री बन्ने अवसर नआउन्जेलका लागि मात्र हो भनेर सोझै बुझ्न सकिन्छ । त्यसर्थ कमल थापाले ‘हिन्दुत्व’ र ‘राजा’लाई आफ्नो स्वार्थ सिद्धि गर्ने ‘बार्गेनिङ चिप्स’ मात्र बनाएका हुन् भनियो भने सोह्रैआना गल्ती हुनेछैन ।

दुई शताब्दीअघि भीमसेन थापाले राष्ट्रवादी आवरणमा प्रकट भएर जे गरे त्यसको नेपाली इतिहासले उच्च सम्मान गर्दै उनलाई राष्ट्रिय विभूतिको दर्जा दिएको छ । राष्ट्र र राष्ट्रियताका पक्षमा भावावेशमै उनले लिएको निर्णयले देशको सीमा सङ्कुचित हुने परिणाम ल्याएको भए पनि भीमसेन थापालाई महान् राष्ट्रवादी तथा बहादुर व्यक्तिका रूपमा इतिहासले ग्रहण गरेको छ ।

भीमसेन थापाले पनि राष्ट्रवाद र राष्ट्रियताको एजेन्डामा मुलुकलाई भुलाउँदै राजामा निहित शक्ति आफूले प्रयोग गरेको र नेपाली इतिहासको पहिलो ‘नागरिक’ तानाशाह बनेको विषयप्रति हामीले त्यति चासो राखिरहेका छैनौँ । तीन दशक लामो उनको निरङ्कुश शासनमा राजा र जनताले भोग्नुपरेको पीडा र विपक्षी पाँडेहरूमाथि भएको अत्याचारबारे चर्चा गर्न पनि आवश्यक ठानिएको छैन ।

राजाबाट सम्पूर्ण अधिकार हात पारेर तीन दशक लामो शासन गर्ने भीमसेन जातीय रूपमा थापा क्षेत्रीय हुनु र राजा ज्ञानेन्द्रलाई काँध दिएझैँ गरी अप्ठ्यारो परेपछि ‘बीचडकमै’ अलपत्र छोडेर हिँड्ने प्रमुख पात्र प्यारजंग, श्यामभक्त, कमल, डा. भेषबहादुर र सूर्यबहादुर पनि थापा नै हुनु एउटा रोचक तर दुःखद् संयोग हो ।

नेपाल राष्ट्र निर्माणमा थापाहरूले पुर्याएको योगदान इतिहास–स्मरणीय भए पनि उल्लिखित थापाहरूले खास समयमा राजालाई धोखाधडी गरेको तथ्यलाई चाहिँ अस्वीकार गर्नुपर्दैन । राजाको कृपाबाट उचालिएको आफ्नो राजनीतिक व्यक्तित्वको कमल थापाले ‘राजा र राष्ट्रवाद’ शब्दलाई आफ्नो तुच्छ स्वार्थका लागि जसरी दुरुपयोग गर्दै छन् यसले ‘…देख्नेलाई लाज’ को उक्ति चरितार्थ गरेको छ ।

यसअघि २०५२ तिर ‘हङ पार्लियामेन्ट’ हुँदा कमल थापा रातारात बदलिन्थे र त्यसबेला बारम्बार सरकार परिवर्तन भइरहनुको मुख्य कारण कमल थापा बनेका थिए । यो दशकमा कमल थापाले राजा र हिन्दूराष्ट्रलाई आफ्नो एजेन्डा बनाएपछि उनी बदलिएको र सिद्धान्तको राजनीति गर्न कटिबद्ध भएको ठानिएको थियो ।

हिन्दू र राजाको नाममा राजनीति सुरु गरेपछि कमल थापाले खोलेको राप्रपा नेपाललाई जनताले संसद्को चौथो ठूलो दलको हैसियतमा पुर्याइदिएका हुन् । तर, उनले आफ्नो हैसियतको दुरुपयोग यसरी गरिरहेका छन् कि राजनीति नै बदनाम हुन पुगेको छ । पहिले उनी आफ्नो सिद्धान्तविपरीत जारी गर्न लागिएको संविधानको सहयोगी बने । त्यसपछि आफूलाई राष्ट्रवादी दाबी गर्ने केपी ओली नेतृत्वको सरकारमा सामेल भएर संविधान र सरकारको मुख्य रक्षक र प्रवक्ताको रूपमा देखापरे ।

त्यसपछि संविधान संशोधनका विरुद्ध बोल्दाबोल्दै उनी आफैँले राष्ट्रघाती संज्ञा दिएको सरकारमा सामेल भएर संविधान संशोधनको सहयोगी बन्न पुगेका छन् । देखावटीका लागि भए पनि थापाले हिन्दूराष्ट्रका पक्षमा मत जाहेर गर्ने सम्भावना त छ, तर उक्त एजेन्डामा टिकिरहने सम्भावनाचाहिँ देखिँदैन ।

व्यक्तिपिच्छे मानिसका पृथक् विचार हुन सक्छन्, विचारका आधारमा कसैका प्रति वैरभाव या पूर्वाग्रह राख्नुलाई प्रजातन्त्र र मानवतासम्मत मानिँदैन पनि । तर, विचारअनुरूपको व्यवहार प्रस्तुत नगर्ने, गर्न नखोज्ने या नचाहनेलाई चाहिँ कसैले ‘खलपात्र’का रूपमा बुझ्न चाह्यो भने त्यसलाई गलत मान्नुपर्दैन ।

आफ्नो सिद्धान्त र विचारअनुरूपको व्यवहार गर्नुलाई सामान्य धर्म मानिन्छ । पानीको धर्म बग्नु हो, सूर्यको धर्म ताप पैदा गर्नु हो र आफूलाई कसैले चोर घोषणा गर्दछ भने उसको धर्म नै चोरी गर्नु हो । यसर्थमा मुसाको धर्म कपडा या त्यस्तै सामग्री काटेर क्षति पुर्याउनु खाद्यान्न चोरेर लैजानु र खानु हो ।

मुसाले जे गरिरहेको छ त्यो पनि उसको धर्म, सिद्धान्त, विचार, नीति र कार्यक्रम हो । तर, त्यस्तो सिद्धान्तनिष्ठ मुसालाई कमल थापाजस्ता सिद्धान्तहीन मानिससँग जोडेर मुसाको चरम अपमान गर्नुचाहिँ सर्वथा नाजायज छ । मुसाले जे गर्नुपर्ने हो आफ्नो विचार, सिद्धान्त, प्रवृत्ति र धर्मअनुसार गर्दछ । कमल र पुष्पकमलहरू स्याउ देखाएर झ्याउको व्यापार गर्दै छन्, राजनीतिक ठगीमा यिनले विश्वमै नयाँ कीर्तिमान राखेका छन् ।