पु.समाचार

महान्यायाधिवक्ता श्रेष्ठले जनाए कडा आपत्ति !

काठमाडौ । प्रहरी महानिरीक्षक (आईजीपी) नियुक्ति विवादसम्बन्धी मुद्दा सुनुवाइका लागि गठित संयुक्त इजलासको निष्पक्षतामाथि प्रश्न उठाउँदै महान्यायाधिवक्ता रमनकुमार श्रेष्ठसहित सरकारपक्षीय वकिलहरूले जनाएको विरोधलाई उक्त इजलासले अस्वीकार गरेको छ ।
डीआईजी जयबहादुर चन्दलाई आईजीपीमा नियुक्त गर्ने सरकारको निर्णय कार्यान्वयन नगर्न आदेश दिने न्यायाधीश तेजबहादुर केसीलाई नै बिहीबारको दुई सदस्यीय इजलासमा पनि सामेल गरिएपछि महान्यायाधिवक्ता श्रेष्ठ तथा वरिष्ठ अधिवक्ता सुशीलकुमार पन्तले न्याय स्वतन्त्र नहुने आशंकासहित इजलाससमक्ष बहस गर्न अस्वीकार गरेका थिए ।

प्रधानन्यायाधीश सुशीला कार्कीले आईजीपी विवादमा सुनुवाइका लागि सर्वोच्चका न्यायाधीश ईश्वरप्रसाद खतिवडा र केसी संलग्न संयुक्त इजलास गठन गरेकी थिइन् । शुक्रबारको अन्नपूर्णमा लेखिएको छ, संयुक्त इजलासमा संलग्न दुई न्यायाधीशमध्ये केसी आईजीपीको सिफारिस रोक्ने गरी गत फागुन १८ गते जारी भएको ‘अन्तरिम आदेश’ मा संलग्न थिए । बहस अस्वीकार गरिए पनि सोही इजलासले आईजीपीमा सिफारिस गरिएका डीआईजी जयबहादुर चन्द र रिट निवेदक रहेका अर्का डीआईजी नवराज सिलवालको कार्य सम्पादन मूल्यांकनसम्बन्धी अभिलेख २४ घन्टाभित्र झिकाउन आदेश दिएको छ ।

यस्तै आईजीपी विवादमा दायर रिटलाई अग्राधिकार दिएर पूर्ण इजलासमा पेस गर्नसमेत आदेश भएको छ । यसअघि अन्तरिम आदेश हुँदा मुद्दाको तथ्य (मेरिट) भित्र प्रवेश गरी एकखालको धारणा आइसकेको अवस्थामा केसीबाहेकको इजलास तोकिनुपर्ने माग सरकारपक्षीय वकिलको थियो । आईजीपीमा जयबहादुर चन्दको सिफारिस रोक्ने गरी भएको त्यो अन्तरिम आदेशमा ‘बढुवाको निर्णय गर्दा बढुवा गरिएका व्यक्तिलाई बढुवा गर्नुपर्ने आधार र कारणसमेत अभिव्यक्त रूपमा निर्णयमा उल्लेख नभएको’ जनाइएको थियो ।

मन्त्रिपरिषद्को निर्णयको प्रतिरक्षामा बिहीबार बहसका लागि पुगेका महान्यायाधिवक्ता श्रेष्ठ, नायब महान्यायाधिवक्ता दुर्गाबन्धु पोखरेल र सहन्यायाधिवक्ता रेवती त्रिपाठीले अन्तरिम आदेशमा संलग्न न्यायाधीश संलग्न इजलास गठनका कारण ‘निष्पक्ष’ र ‘स्वतन्त्र’ सुनुवाइमा प्रश्न उब्जन सक्ने भन्दै सुनुवाइ स्थगन गर्न आग्रह गरेका थिए ।